मेलम्ची, असार १२ । ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ यो भनाई हो मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजालको।
असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थालेका छन्।
मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बस्नुभएका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थालेका हुन्।
आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए।
‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’ अध्यक्ष खड्काले थपे, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”
सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।