काठमाडौं, १३ असार । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षधरले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रश्न उठाएपछि विवाद चुलिएको हो ।
समस्या समाधानका लागि सभापति देउवाले आज दिउँसो २ बजे आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक डाकेका छन् ।
काँग्रेसको सिस्टममा ८ लाख भन्दा बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ । केही जिल्लाहरुले इन्ट्रि गरेका छैनन् । इन्ट्री भएका नामहरुमाथि उजुरीका लागि असार ६ सम्मको समय दिइएको थियो । नाम सच्याउन ९ गतेसम्मको समय थियो । तर, ४२ जिल्लामा ठूलो संख्यामा उजुरी परेको छ ।
देशभर उजुरी परेपछि समस्या परेको छ । बारा र सप्तरीका आठवटा निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री गरेका छैनन् । धनुषाको एउटा निर्वाच्न क्षेमा विवाद परेपछि नाम सार्वजनिक भएको छैन ।
बागमती प्रदेशका सिन्धुपाल्चोकमा सदस्यता वितरण र नवीकरण भइरहेको छ । काभ्रेको एउटा निर्वाचन क्षेत्र, बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुरामा विवादका कारण नाम सार्वजनिक भएको छैन । हिजो सम्म नाम इन्ट्री गर्न समय दिइएको थियो । समयसीमा सकिएको छ । यसबाट भदौ १६ देखि १९ सम्म हुने भनिएको महाधिवेशन प्रभावित हुनसक्ने देखिएको छ ।
काँग्रेसमा क्रियाशील सदस्यता निकै महत्वपूर्ण हुन्छ । क्रियाशील सदस्यताले गाउँ तथा नगरका वडाबाट प्रतिनिधि चयन गर्न मतदान अधिकार पाउँछन् । वडाबाट नगर, क्षेत्रमा हुने चुनावले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको टुंगो लगाउँछ । पार्टी सभापतिलगायत पदाधिकारी देखि केन्द्रीय सदस्यहरुलाई मतदान गर्ने अधिकार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पाउँछन् ।