काठमाडौं, असार १९। काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।
बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो ।
नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ । नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ ।
गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिए । समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहनेभएको छ ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने अधिकारीहरूको भनाइ छ ।
मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले पूर्वाधार व्यवस्थापनको समस्या रहेको छ । मौजुदा सो समस्याको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो । गोरखापत्र दैनिकबाट