काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले केही बेरमा सपथ लिँदैछन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट छन् । उनले उक्त विज्ञप्ती नसच्याएसम्म सपथ नलिने अडान लिएका छन् । यसबारेमा अहिले शितलनिवासमा परामर्श समेत भैरहेको छ । सपथग्रहण समारोह सुरु हुन ढिलाई भैरहेको बेला प्रधानमन्त्री देउवा भने विपक्षी गबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छलफलमा जुटेका छन् । सपथग्रहण लिनको लागि देउवाले विज्ञप्ती तत्काल सच्याउनुपर्ने अडान राखेका छन् ।
राष्ट्रपति कार्यालयले भने संविधानको कुनै धारा उल्लेख नगरी सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्ती जारी गरेको थियो। विपक्षी गठबन्धनका नेताहरुले भने देउवाको प्रधानमन्त्रीमा नियुक्ती संविधानको धारा ७६ को ५ अनुसार भएकोले सोहीअनुसार राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्नुपर्ने धारणा राखेका छन् ।
सपथग्रहण साँझ ६ बजेको लागि तय भएको थियो । तर, ७ बजिसक्दापनि सपथग्रहण सुरु भएको छैन् । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन् । जसमा कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की मन्त्री बन्दैछन् । उता, माओवादी केन्द्रबाट भने जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री बन्दैछन् । शर्मा अर्थ र भुषाल उर्जामन्त्री बन्न लागेका हुन् । file photo