काठमाडौं, असार ३० । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए ।
तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।
उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तीको बेहोरामा असन्तुष्टि जनाए । त्यसपछि शितल निवास पुगेरै सोबारे आफ्नो धारणा राखे ।
देउवानिकट एक नेताका अनुसार उनले सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा खुलाएरै नियुक्ति र शपथ चाहेका थिए । बूढानीलकण्ठबाट शितल निवास पुगेपछि उनले त्यो सूचना सच्चिनै पर्ने अडान राष्ट्रपतिसमक्ष राखे र संविधानको धारा ७६ (५) उल्लेख गरेर सूचना सच्याएरै राष्टपति कार्यालयले देउवालाई शपथ गरायो । राजधानी दैनिकबाट