काठमाडौं, असार ३० । पञ्चायतकालको कठोर समयमै विद्यार्थीको नेता हुन सफल शेर बहादुर देउवा २०४८ यता अविरल निर्वाचित जनप्रतिनिधि हुन । उनी विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भए । त्यसैगरी, २०६४ र २०७० मा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी बने ।
विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । नेपालका समकालीन राजनीतिज्ञहरूमध्ये उनी ३० वर्षदेखि निरन्तर निर्वाचित विधायक हुन् ।
यसरी तीन दशकसम्म लगातार जनताबाट अनुमोदित विरालाकोटी नेतामा पर्छन देउवा। शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट प्रशिक्षित देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै अचानक प्रधानमन्त्री पद प्राप्त भएको छ । कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् । लोकतन्त्रप्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा निडर व्यक्तित्वका कारण उनलाई जनताले सधैँ विजयी गराउँदै आएका छन् ।
विज्ञान पढेपछि डाक्टर, इन्जिनियर बनी पैसा कमाइन्छ भन्ने छाप गाउँमा परेकाले परिवारको सल्लाहमा विज्ञान पढ्न काठमाडौँ आएका देउवा चिकित्सक तथा इन्जिनियर त बन्नु भएन तर मुलुक हाँक्ने सारथि बने।
खासगरी दर्शन विषयका पुस्तक अध्ययन गर्न रुचाउने देउवा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए। बेलायतको उच्च शिक्षाले देउवालाई लोकतन्त्रको फराकिलो क्षितिजसम्म विचार र विवेकलाई आत्मसात् गर्ने अवसर दियो ।
उनी नेपाल विद्यार्थी सङ्घको निर्वाचित सभापति एवं संस्थापक सदस्य हुन । विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए । त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेल्धुरा पुर्दथे । गोरखापत्र दैनिकबाट