Logo

देउवाको ध्यान चुनाव



काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिन नसकेमा फेरि अर्को सरकार निर्माण प्रक्रियामा जान्छ या चुनावमा जानुपर्ने हुन्छ । विश्वासको मत लिन सकेमा उनकै कार्यकालमा १६ महिनापछि चुनाव हुने सम्भावना बलियो रहन्छ । जसरी पनि देउवाको कार्यकालमा चुनाव हुने सम्भावना बढी देखिएको छ ।

देउवाले विगतमा पनि चुनावको चाहना राखेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले ५ पौष २०७७ मा प्रतिनिधि सभा पहिलोपटक विघटन हुँदा पनि देउवाले चुनावको रटान लगाएका थिए । सार्वजनिक रुपमै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । यसकारण पनि देउवाको ध्यान चुनावमा रहेको देखिएको छ ।

नेकपा एमालेका नेता शंकर पोखरेलले देउवाको ध्यान चुनावमा देखिएको टिप्पणी गरेका छन् । विगतमा देउवाले चुनावको रटान लगाएका पनि उनले यसो भनेको हुनुपर्छ ।

देशलाई अर्ली इलेक्शनमा लग्न देउवा तयार हुने सम्भावना बढी छ । यसो हुँदा उनी काँग्रेस सभापति र देशको प्रधानमन्त्री हुँदा नै चुनाव गर्न पाउने भएपछि शक्तिको दरिलो अभ्यास गर्न सक्छन् । काँग्रेसभित्र टिकट बाँड्दा उनकै हात माथि पर्न सक्छ ।

अब देउवा अर्ली इलेक्शनमा जाने या नजाने टुंगो माधवकुमार नेपालको कदममा भर पर्छ । उनले देउवालाई विश्वासको मत दिन कठोर निर्णय लिएमा २०७९ साल मंसिरयता चुनाव हुने सम्भावना टर्छ । तर, नेपालले एमाले एकतामा ध्यान दिने जोड दिएबाट त्यो सम्भावना कमजोर भइसकेको छ । अब एक महिनाभित्र देउवाले बहुमत पुर्याउन कसरत गर्नेछन् । त्यसका लागि उनको मुख्य ध्यान माधव नेपालप्रति हुनसक्छ । नेपाल तयार नभएमा देश चुनावमा जाने निश्चितप्रायः छ ।



प्रतिक्रिया दिनुहोस्