काठमाडौं, १ साउन । कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकममा बैशाखको तुलनामा जेठ महिनामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको प्रतिवेदनमा कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकममा बृद्धि भएको उल्लेख गरिएको छ ।
बढ्दै गएको कोरोना संक्रमणदर नियन्त्रण गर्न बैशाख १६ गतेदेखि उपत्यकामा सरकारद्वारा जारी निषेधाज्ञामा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएपनि निषेधाज्ञा खुक्लो भएपश्चात कारोबार रकममा बृद्धि भएको हो ।
बैशाखको तुलनामा जेठ महिनामा कनेक्ट आईपिएसमार्फत १ अर्ब ६९ करोड ८४ लाख बढीको कारोबार भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैशाखमा कनेक्ट आइपिएस मार्फत १ खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएकोमा जेठमा १ खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोबार भएको छ । क्युआर कोड, इकर्मस, वालेट मार्फत हुने कारोबारमा भने कमी आएको बैंकले जनाएको छ ।