काठमाडौं, साउन २ । चीनले नेपालका लागि कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा यस्तो जानकारी दिएकी हुन्। चिनियाँ प्रधानमन्त्री ली कछ्याङले नेपालका लागि थप खोप अनुदानमा दिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्।
भेटका क्रममा खोपसहित दुई देशबीचको अन्य सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। थप १६ लाखसहित चीनले नेपालमा अनुदानका रूपमा मात्र ३४ लाख डोज खोप दिनेछ। हालसम्म मित्रराष्ट्रका रूपमा सबैभन्दा बढी खोप अनुदानमा उपलब्ध गराउने राष्ट्रमा चीन हुनेछ ।
अनुदान दिने र खरिद प्रक्रियाबाट बढी खोप दिने राष्ट्रमा पनि चीन नै हुने स्थिति रहेको अहिलेसम्मको खोपको तथ्यांकले औंल्याएको छ। यसअघि अनुदानका रूपमा भारतले ११ लाख खोप अनुदानस्वरूप दिएको थियो। दुई देशबाट गरी नेपाललाई ४५ लाख डोज अनुदानमा आइसकेको छ। चीनले थप अनुदान खोप दिनुको पछि खोपको व्यापारिक सम्बन्ध बढाउने नीति हुन सक्ने खोप विज्ञहरूको अनुमान छ।
चीनले नयाँ सरकारसँगको छिमेकी सम्बन्ध बढाउन पनि खोप दिएको हुन सक्ने राष्ट्रिय इपिडिमोलोजी महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी बताउँछन्। ‘पूर्वसरकारसँग चिसिएका सम्बन्धलाई पुनस्र्थापित गर्न पनि हुन पनि सक्छ,’ मरासिनीले भने। ‘खोपको व्यापार नीतिस्वरूप पनि अनुदानमा खोप दिएको हुन सक्छ,’ कोभिड–१९ विरुद्धको खोप सल्लाहार समितिका संयोजक डा। श्यामराज उपे्रतीले भने।
छिट्टै उपलब्ध हुने खोपमा चीनबाट अनुदानमा आउने १० लाख, खरिद प्रक्रियाबाट ४२ लाख र जापानबाट आउने १६ लाख र भारतबाट खरिद प्रक्रियाबाट आउने थप १० लाख खोपसहित ६८ लाख डोज खोप हुनेछ। यसअघि नै अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत आएको १६ लाख खोपसहित ५० लाख जनसंख्याले खोप पाउनेछन्। नागरिक दैनिकबाट