गणेश घिमिरे : चारैतिर निष्पट अँध्यारो ! कर्कश कोलाहल ! आइमाई र केटाकेटीहरुको मसिनो चिच्याहट र रुवाबासीमात्रै सुनिन्छ । छामछाम र छुमछुम गर्दै उठ्न खोजेको त सकिनँ । आँखा नै खुलेनन् ।
आँखा चिम्लेरै भए पनि उठेँ म । आँखा उघारी हेर्दा केही देखिन्न । निकै बेरको अथक परिश्रमपश्चात् एउटा कालो छिद्र देखियो । र, देखियो अचम्म ! भएभरका सबै मानिस त्यही डरलाग्दो सुरुङ्गभित्र तँछाड मछाड गरी पसिरहेका छन् । के जवान के बुढा ! के बच्चा के तन्नेरी ! के महिला के पुरुष ! बत्तीमा पुतली झुम्मिए सरी सबै त्यही कालो छिद्रमा विलीन भैरहेका छन् । तँछाड मछाड गरी !
सम्पूर्ण चराचर जगतको जीवनदायिनी प्रकाशलाई नै निल्ने त्यस कालो छिद्रमा हामफाल्ने आँटै आएन मलाई । उभिए जस्तो महसुस मात्रै गर्न सक्छु । गिदी हल्लिएर हैरान भो । सोच्नै सकिनँ ! कालरात्रीमा बिजुली चम्के सरी अचानक मस्तिष्कले हकार्यो – ‘छिटो गर !’
यसो दायाँबायाँ गर्दन मोडेँ । कतै केही देखिन्न । देखिन्छ त केवल औंसीको निष्पट्ट अन्धकार !
अकस्मात् टाउको मास्तिर फर्कियो । तहाँ मैले पूर्ण प्रकाश देखेँ ।
आफ्नै खुट्टामा विश्वास लागेन । पैतालातिर हेरेँ । मेरै खुट्टाले टेकेका रैछन् । म मेरै खुट्टामा उभिएको रहेछु ।
मेरा खुट्टामुनि बडेमानको टिनको पातो छ । त्यसैलाई सिँगारेका सेता शिशाहरु र दुईतिन्टा लामा लामा फलामे डण्डी छन् । तिनै डण्डीहरुको छेऊमा उभिएर यसो नजर उघारेँ ।
विश्वविजेताको मुस्कान लिएर चारैतिर हेरेँ । देब्रेतिर ४०–५० जना तितरबितर छरिएका । र, केही हूल मानिस गुजमुजिएका छन् । एकाध मानिस फोनमा व्यस्त छन् । अधिकांश आ–आफ्नो जीऊ मुसारिरहेका छन् । कोही सत्राम्मै भुईंमा ढलेका छन् । प्रकृतिको काखमा आफूलाई सुम्पेका छन् । एउटा अबोध दूधे बालकले आफूले आफैलाई आफ्नी आमाको काखमा निष्फिक्री सुम्पे जसरी ।
लाऽऽमो सास तानेर आँखा चिम्लिएँ !
एउटा हातले…
ममाथिको टिनको टुक्रा समाउन के आँटेको थिएँ । तत्क्षण, मेरो काँधमाथि एउटो अजङ्गको शरीर चढ्यो । बुट जुत्ताले देब्रे काँधमा बेस्मारी थिच्यो ।
म बजारिएँ ।
मेरो मुखबाट ‘ऐया !’ पनि निस्कन नपाउँदै त्यो भीमकाय राक्षस फुत्त बाहिर निस्क्यो । सोच्ने कुरै भएन । दिमाग नै ठाउँमा थिएन । जसोतसो दुवै हातमाथि उठाएँ । देखिएको सानो प्वालको दुवैतिर दुई हातले च्याप्प समातेँ ।
‘देउता आऊन् कि राक्षस ! बाल !
भक्लक्कै मरम्ला तर छोड्दिनँ !’
एउटा दृढ सङ्कल्प लियो मनले । निमेषभरमै मेरा हातहरुको पकड साह्रै नै दह्रो भयो ।
थाहा छैन, कति जनाले मेरा खुट्टा ताने । कतिले ममाथि मुड्की बजारे । कतिले के-के प्रहार गरे ! शुरुशुरुमा त एकाध पटक बुट जुत्ताले ठोकेको पनि भेउ पाएँ ।
तर…
मैले त्यो टिनको पातो छोडिनँ । पूरै शरीर निष्प्राण भै लत्र्यो । कसाईंले छाला काढेर झुण्ड्याएको मासुको थुप्रो जसरी !
र, यसो बाहिर चियाएँ !
नीलो आकाश !
सिमलका भुवा जस्ता बादलका टुक्रा !
चम्किलो सूर्यका किरणहरु !
लाग्यो, म बाँचे !
आहा !
यस्सो मुन्टो घुसार्न के खोजेको थिएँ, टाउको र दाहिने कान बेस्मारी दुख्यो । एकैचोटि ! ऐया त के चुइँक्क गर्ने अनुमति पनि दिइनँ आफैलाई । टाउको बाहिर निक्लना साथै देब्रे हातले फलामे डण्डी भेट्टायो । अर्को हात पनि कति बेला त्यतै मोडियो, थाहा नै पाइनँ ।
फलामे डण्डीलाई दुई हातले बेस्मारी समातेर मेरो त्यो निष्प्राण शरीरलाई माथि उचालेँ । जुरुक्कै ! रिक्रुटले पुस अप गरे जसरी ! काँधमा हल्का पोल्यो ! छाती बाहिर निस्केपछि हातले अलिक परको डण्डी समातेछन् । छाती टिनको पातामा टिपिक्कै टाँसियो । चुम्बकमा फलाम सरी ! र, बाँकी शरीर एकै सासमा फुत्त तानेँ । न्वारानदेखिको बल निकालेर ! अजिङ्गरले आहारा ताने सरी ।
दुवै खुट्टा दुई हातनेर पुग्नासाथै शरीर जुरुक्क उचालियो । डटपेनको स्प्रिङ्गलाई बेस्मारी थिचेर छोड्दा जुन बेगले माथि उफ्रन्छ, त्यसरी नै उफ्र्यो मेरो शरीर ।
लाग्यो, मैले संसार जितेँ ! तत्काल नै म सिकन्दर महान् भएँ । मेरो सामु यस पृथ्वीमा टिक्ने कुनै मानिस त के देउता पनि थिएनन् । यस लोकका अन्य जीवजन्तु त के कुनै एलिएन पनि थिएनन् ।
मभन्दा अग्लो स्थानमा कोही पनि उभिएको थिएन !
आँखा खोलेर अगाडि हेरेँ । चिल्लो कालो सडक । नागबेली हुँदै देब्रेतिर दौडिएको छ । तत्कालै पल्लो कुनाबाट एउटा सानो टोयोटा हुइँयऽ गर्दै नजिकै आयो । त्यसैलाई पछ्याए मेरा आँखाहरुले । अनायासै गर्दन मोडियो दाहिनेपट्टि ।
ऐया !
केही पोल्यो । छामेँ । केही थिएन । त्यो सानो गाडी केही पर पुगेर चिर्र्रऽऽऽ गर्यो । मेरो नजर तलतिर गयो । तल दाहिनेपट्टिको सडकमा ।
मुटु जोडजोडले उफ्रियो !
मेरो अगाडिको काऽऽलो पिच त राताम्मै छ । एउटा स्यानो आहाल नै बनेको रैछ । रातो रगतको ताल ! तीनचार जना मानिस ढलेका छन् । बिना कुनै हलचल ।
मेरो मुख आँ गर्न मात्रै के लागेको थियो, एउटा छटपटिइरहेको मान्छे मेरो नजरमा पर्यो । खुट्टाहरु अनायासै उचालिए ! त्यता जानलाई ! केही सहयोग गर्नलाई ! एक पाइलो सारेको पनि थिइनँ !
बेस्मारी फटटट्ट्ट्ट फड्फडायो ऊ ! दशैँ मावली चढाइएको बोकाको गर्दन छिनालिएपछि टाउकोविहीन शरीर जसरी छट्पटाउँछ । त्यसरी नै !
खुट्टा जहाँको तहीँ जाम भए !
मुखबाट…
वाक्य नै फुटेन !
मेरो हंसले ठाम छोड्यो !
पानी छम्कने अवस्थाअगिऽऽऽ पुगिसक्या थेँ म !
ओठ च्यातिएर ‘आँ !’ मात्रै गर्यो मुख !
त्यो सानो गाडीबाट दुई जना ओर्लिएकोसम्मन् देखे मेरै आँखाले ।
म त्यहीँ बसको भित्तोमा थचक्क बसेँ ।
किंकर्तव्यविमुढ !
ब्यूँझदा शरीर पुरै बाँउडिएको थियो । हल्लाउनै नसक्ने गरी ! टाउको उठाउन पनि सकिनँ ! यसो हल्लाएर टाउको उचाल्न खोजेँ !
एउटा आदेशात्मक मधुर स्वर कानमा पर्यो ।
‘नउठ्नुस् !’
…