काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष मात्रै सरकारमा सहभागी हुने चर्चा थियो । तर, प्रधामन्त्री देउवासँगको अनौपचारिक कुराकानीमा अध्यक्ष ठाकुरले आफ्नो पक्ष पनि सरकारमा सहभागी हुने बताएका थिए ।
जसपाका ३२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । तर, विश्वासको मत दिनुअघि जसपाको यादव पक्ष सत्ता पक्षको लहरमा बसेको थियो भने ठाकुर पक्ष प्रतिपक्षको लहरमा बसेको थियो ।
प्रधानमन्त्री देउवाले पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । यसबारेमा अब प्रधानमन्त्री देउवासँग आज विहान मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि छलफल गरेका छन् । प्रधानमन्त्री देउवासँग भेट्नुअघि दाहालले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि मन्त्रिपरिषद विस्तार र सरकारमा नेपाल पक्षलाई सहभागी गराउने विषयमा छलफल गरेका थिए ।
दाहाल र नेपालबीचको भेटवार्ता चलिरहेकै समयमा जसपाका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए । यी तीन नेताबीच सरकारमा सहभागी र मन्त्रालय बाँडफाँडको विषयमा छलफल भएको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवासँग ठाकुर पक्षले तीन वटा मन्त्रालय मागेको छ ।
तर, यादव पक्षले भने ६ वटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ । देउवाले भने ठाकुर पक्षलाई कति मन्त्रालय दिने वा सरकारमा सहभागी गराउने कि नगराउने भनेर अहिले कुनै निर्णय गरेका छैनन् । file photo