काठमाडौं, ७ साउन । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन् ।
कम्पनीको अनुसार सेन्टर फर क्यारियर गाइडेन्स एण्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि महत्वपूर्ण पक्ष बन्दै गएको उल्लेख गरिएको छ । धेरै टेक फर्महरुले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै आइरहेको सन्दर्भमा फिन टेक कम्पनीहरुले मानवीय जीवनलाई सहज बनाउनका साथै विद्यार्थीहरुको लागि थुप्रै अवसरका ढोकाहरु पनि खोलिदिएको जनाएको छ ।
वित्त र प्रविधिको उत्तम मिश्रणले विश्वभरीका अवरोधहरुको समाधान निकाल्न नयाँ नयाँ रोजगारीका अवसरहरूको पनि सिर्जना गरिरहेका छन् । सम्झौता यस्तै विषयवस्तुहरूलाई ध्यानमा राख्दै गरिएको थियो । युवा पुस्ताको सीप र क्षमतालाई डिजिटल उद्योगको विकास र विस्तारमा कसरी खपत गर्न सकिन्छ भन्ने विषयमा अन्य कलेजहरूसँग पनि क्रमवद्व रूपमा थप छलफल गर्दै जाने आइएमई पे को योजना रहेको जनाएको छ ।