Logo

ओलीको ‘सेटिङ भत्काउन’ देउवा एकपछि अर्को कठोर कदम चाल्दै



काठमाडौं, १२ साउन । ३ वर्ष ५ महिना प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायमा आफ्ना मान्छेहरुलाई स्थापित गरे । झापा र भक्तपुर स्थायी घर भएका नेता, कर्मचारी देखि विभिन्न क्षेत्रमा सक्रियहरुले अवसर पाए । अन्य क्षेत्रमा पनि ओलीसँग लामो समय साथ रहेका र विगतमा गुन लगाएकाहरुले मौका पाए ।

राज्यको महत्वपूर्ण निकायमा ओलीकै मानिसहरु रहेको चर्चा चलिरहे । ओलीका विश्वासपात्र भक्तपुर सांसद महेश बस्नेतले जताततै आफूहरुको मान्छे भएको खुलेआम घोषणा गरे । प्रहरीमा आफ्ना मान्छे रहेको बताए । हुनपनि प्रहरीको प्रमुख पदहरुमा भक्तपुरवासीले मौका पाए ।

गृह, अर्थ जस्ता महत्वपूर्ण मन्त्रालयमा सचिवहरु पनि भक्तपुरकै भए । सुरक्षा निकायमा ओलीनिकटहरु प्रभावशाली भएर बसे । ५ वर्ष ओली सरकार रहनेमा सबै ढुक्क थिए । तर, ओलीकै कदमले उनलाई प्रतिनिधि सभाको पूरा कार्यकाल प्रधानमन्त्री रहने अवस्था रहेन । सरकार ढल्यो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि धमाधम ओलीको सेटिङ भत्काउने कदमहरु चालिन थालेका छन् । प्रहरीमा एक दरबन्दी बढाएर एआइजी बढुवा गरियो । सहकुल थापा एआइजी बढुवा गरिएकामा उनको सरुवाको निर्णय नै रोकिएको छ । अहिले उनी विभागविहिन भएका छन् । थापाको ठाउँमा डिआइजी बढुवाका लागि ठिक्क पारिएकोमा सरकार ढलिहाल्यो । सौरभ राणा डिआइजीमा बढुवा गरिए ।

प्रदेश प्रमुखमा समेत ओलीले प्रचण्डनिकट अमिक शेरचन र तिलक परियारलाई हटाएर आफू निकटस्थलाई लगेका थिए । अब देउवा सरकारले त्यहाँ पुनः शेरचन र परियारलाई नै लाने तयारी गरेको छ । धमाधम सेटिङहरु भत्काउन थालिएको छ ।

सरकारले छिट्टै सचिवहरुको सरुवा गर्ने भएको छ । गृह र अर्थ मन्त्रालयमा सचिवहरु सरुवाको तयारी छ । प्रहरीमा पनि सरुवाहरुको तयारी छ । विभिन्न जिल्लामा सीडीओको सरुवाको तयारी छ । यसरी ओलीको सेटिङ भत्काउन देउवाले एकपछि अर्को कठोर कदमहरु चाल्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्