काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न आएको प्रस्तावसमेत उहाँ अस्वीकार गरेर मधेस मुद्दा सम्बोधनतर्फ लाग्नुभयो । अरूले त मुद्दा छोडे र सरकारमा बसेर रमाए, फरक यति हो’ ठाकुर निकटका नेता शुक्लले भने ।
जसपाभित्र विवाद चर्किएका बेला ४ जेठमा अध्यक्षद्वय ठाकुर र यादवको एक संयुक्त विज्ञप्ति आयो । जसमा भनिएको थियो, ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अघि बढ्न सकिनेछ ।’
यस सहमतिपश्चात् ठाकुर र यादवबीचको विवाद समाधान हुने विश्वाससहित ठाकुर प्रधानमन्त्री हुने वातावरण बनेको थियो । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसमेतले प्रधानमन्त्री हुन ठाकुरलाई प्रस्ताव गरेका थिए ।
गठबन्धनको सरकार बनाउन कसरत भइरहेका बेला अध्यक्ष प्रचण्डले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि कांग्रेसका वरिष्ठ नेता पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए ।
त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए । प्रधानमन्त्री बन्ने अवसर ठाकुरलाई आए पनि उनी विशेषगरी मुद्दा सम्बोधनमा केन्द्रित भएको जसपा नेताहरू बताउँछन् । सुभाष साहले आजको राजधानी दैनिकमा खवर छापेका छन् ।