पद्मजंग राणा : राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तैनौँ । त्यसैले हामी हजारौं युक्ति सङ्गत व्याख्या र विवेचना गर्दछौँ । यो सिद्धान्त खास गरेर ती राजनीतिक व्यक्तिहरूमा लागु हुन्छ, जो आफ्नापद र प्रतिष्ठाको उचाईं प्राप्त गरेका कारण व्याख्या गर्न नसकिने अवस्थामा पुगेका हुन्छन् । उनीहरूलाई बुझ्ने हाम्रा प्रत्येक प्रयास निरर्थक सावित हुन्छन् ।
वि.सं. १९१३ साउन १७ गतेका दिन जङ्गबहादुरले अकस्मात् प्रधानमन्त्री पदबाट राजीनामा दिएर भाइ बमबहादुरलाई आफ्ना उत्तराधिकारी घोषणा गरे । यो घोषणाले सम्पूर्ण नेपाली जगत आश्चर्यचकित भयो । यो आकस्मिक निर्णयले गर्दा उनका आफ्नै भाइहरू पनि विस्मित भए । मुलुकभरि यसको सर्वत्र चर्चा परिचर्चा चल्यो । स्वयम् जङ्गबहादुरसँग यसको उचित स्पष्टीकरण थिएन । अतः उनले आफ्नो बल र वर्कतले आगामी दायित्व र गहन जिम्मेवारी वहन गर्न आफू असमर्थ भएको तर्क अगाडि सारे । र, असमर्थताको प्रमुख कारण आफ्नो व्यक्तिगत स्वास्थ्यलाई दिए तर उनको यस तर्कमा कसैले पनि विश्वास गरेनन् र यो अप्रत्यासित कार्वाहीप्रति सबैले शङ्काको दृष्टिले हेरे ।
हुन पनि उनले यतिका वर्षसम्म राष्ट्र उत्थानका निम्ति अनवरत रूपमा ज्यानको बाजी लगाएर परिश्रम गरेका थिए । त्यसैले उनले अनायास पद त्याग गर्नुको कुनै खास कारण देखिएको थिएन । आजभन्दा ठीक चार महिना अघि उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक साङ्गोपाङ्गो लगाएका थिए । आफ्नो शासन कालको पूर्वार्धमा उनले भोग्नु परेका छलकपट र षडयन्त्रको अन्त्य भएको थियो । विगतका अन्त्यहीन अप्ठ्यारा र भ्रमका बादल छाँटिइसकेका थिए । तर उनको हृदयभित्र कस्तो प्रकारको चोट लाग्यो होला त !
त्यसको रहस्य भगवान्लाई नै थाहा होला । हुन सक्छ, उनको स्वास्थ्य खराब थियो होला । हुन सक्छ, उनलाई आफ्नै भाइहरूबाट पनि कुनै प्रकारको घात हुन सक्थ्यो होला । हुनसक्छ, त्यसकारण उनले आफ्नो अधिकार एउटा भाइलाई हस्तान्तरण गरे होलान् र अन्य भारदारलाई उनीहरूको पालो पनि कालान्तरमा आउँछ भन्ने आशा देखाए होलान् । तर यसरी अनेक प्रकारका अन्दाज लगाउनुको कुनै अर्थ थिएन । त्यसैले यस मुद्दा पछाडिको सम्भावित रहस्य शायद सदाका लागि रहस्यको गर्भमा नै रहिरहनेछ ।
जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो, जो उनले आफ्नो मृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए, तर आफ्ना कुशल र सुयोग्य दाजुको सरसल्लाह बिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।
जनताको हृदयमा जङ्गबहादुरको राजीनामाको खबर एउटा झट्का, एउटा क्षोभका रूपमा प्रकट भयो । जनता उनलाई अति प्रिय मित्रका रूपमा हेर्न अभ्यस्त थिए । जनतालाई उनको आशीर्वाद प्राप्त थियो भने जङ्गबहादुरप्रति जनताको अगाध आस्था र विश्वास थियो । तर यस घटनाले कतै पुरानै अस्तव्यस्त, जालझेल र षडयन्त्रको अवस्था दोहोरिने त होइन भन्ने जनताको मनमा सन्त्रास उत्पन्न भएको थियो । कतै जनताको जिउधन, जाली, फटाहा र प्रजा पीडकका मुट्ठीमा पर्न जाने त होइन भन्ने भय सिर्जना भएको थियो । त्यसैले यो अति सम्वेदनशील घडीमा, अति महत्त्वपूर्ण कुरा के थियो भने जङ्गबहादुरले देशको शासन प्रशासनबाट सम्बन्ध बिच्छेद गर्नु हुँदैनथ्यो । त्यसकारण जनताले जङ्गबहादुरलाई जसरी भए पनि आफ्नो निर्णय फिर्ता लिन दबाब दिने र उनलाई पुनः पुरानै पदमा स्थापित गर्नका लागि आवश्यक कदमहरू चाल्ने निर्णय गरे । यस विषयमा छलफल गर्न कैयौं ठाउँमा बैठक बसालियो, जुन प्रक्रिया नेपालमा यसअघि कहिल्यै व्यवहारमा आएको थिएन, किनभने जनतालाई आफ्नाआवाज बुलन्द गर्ने र सरकारसमक्ष उजुर गर्ने बानी परेकै थिएन । अतः राजगुरु विजयराजको नेतृत्वमा देशका सम्पूर्ण शीर्ष पुरुष सम्मिलित एउटा प्रतिनिधि मण्डल थापाथली गएर पूर्व प्रधानमन्त्रीलाई भेट्न पर्खिबस्यो । उक्त प्रतिनिधि मण्डललाई यहाँ आउनुको कारण सोधपुछ गर्दा प्रतिनिधि मण्डलका तर्फबाट राजगुरुले निम्न बमोजिम निवेदन गरे—
“प्रिय जनहरूको स्वतस्फूर्त र टड्कारो रूपमा खाँचो परेको मायाको चिह्नोका रूपमा यो राष्ट्रका सम्पूर्ण जनता यो देशको श्रीपेच हजुरको शिरमा स्थापना गर्न चाहन्छन् । सानातिना मानिसले गरेका सामान्य कार्यहरूका लागि पनि उनीहरूलाई तक्मा र निवृत्तिभरण दिएर सम्मान गरिएको छ भने देशको स्थायी भलाईका निम्ति हजुरबाट भएका महान् र विख्यात सेवा र कर्महरूको मूल्य चुकाउन टड्कारो खाँचो यो परेको छ कि— ती महान् कार्यहरू सम्पन्न गरेबापत हजुरलाई उचित पुरस्कार प्रदान नगरी रहन सकिँदैन । यद्यपि हजुरलाई जति पुरस्कार र सम्मान प्रदान गरे तापनि त्यो अधूरो र अपुग नै हुनेछ । किनभने त्यसले हजुरका महान् र अद्धितीय कार्यको मापन गर्नसक्ने छैन न त हामीले प्रकट गरेका आभारका शब्दहरूले नै पूरा गर्न सक्नेछन् ।”
जङ्गबहादुरले प्रतिनिधिमण्डललाई उनीहरूको सदिच्छा भेट र सदाशयताका लागि हार्दिक धन्यवाद दिए र प्रत्युत्तरमा भने— “मेरो शिरमा राजमुकुट पहिर्याउने तपाईंहरूको प्रस्ताव मेरो देशको लागि हितकारी छ भने यसमा अवश्य पनि मेरो समर्थन रहने छ । तर मैले यो देखौवा घाँडो नभिरीकन सरकारको कामकाज रेखदेख गर्न सक्छु भने, जसलाई मैले गद्दीमा आरुढ गराएको छु, उसैलाई हटाएर अब म त्यहाँ बस्न सक्तिनँ । देशलाई साँचै नै मेरो सेवाको खाँचो परेको रहेछ छ भने म तत्काल कार्यभार सभाल्न अन्कनाउने छैन— तर मलाई मेरो स्वास्थ्यमा क्रमिक लाभ भएको अनुभूति भएपछि मात्र ।”
त्यसपछि जनताले जङ्गबहादुरलाई कास्की र लमजुङ दुई जिल्लाको सार्वभौमसत्ता अर्पण गर्ने निधो गरे र सजिलैसँग महाराजको पनि लालमोहर छाप लिए । देशवासीको चित्त दुखाउन नहुने आशयले जङ्गबहादुर यो दोस्रो सानो मायाको चिनो ग्रहण गर्न राजी भए ।
वि.सं. १९१३ श्रावण २२ गतेका दिन सार्वजनिक रूपमा उनलाई कास्की र लमजुङको महाराज घोषित गरियो र त्यहाँको उपाधि र सम्पत्तिको भोग चलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो । त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो जसअनुसार यी दुई जिल्ला बाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन् । ती अधिकार निम्न बमोजिम थिएः—
१. जीवन र मृत्युको अधिकार
२. सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने
३ अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकार लगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धीपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने
४ दोषीमाथि दण्ड सजाय तोक्ने
५ नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने (देवानी, फौजदारी र सैनिक अधिकार)
उपरोक्त अधिकार क्रमैले जङ्गबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा लेखियो । र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो । त्यसपछि जङ्गबहादुर रोमका तानाशाह, (रोमन सुल्ला इसा पूर्व ८२– ७९—अनुवादक जस्तै एकप्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए ।
वि.सं. १९१४ जेष्ठ ११ गते बमबहादुरको मृत्यु भयो । उनको मृत्यु धेरै कारणले गर्दा स्मरणीय छ । तीमध्ये केही यहाँ प्रस्तुत गरिन्छ— पहिलो, जङ्गबहादुरले गैरकानुनी घोषित गरेका हुँदा उनको मृत्युपश्चात् सती जाने कोही भएन । दोस्रो, प्राकृतिक मृत्युवरण गर्नेमा उनी पहिलो प्रधानमन्त्री थिए । उनीभन्दा पहिलेका सबै सरकार प्रमुखको कुनै न कुनै दुर्घटना वा षडयन्त्रमा परेर मृत्यु भएको छ । तेस्रो, बमबहादुरको अन्त्येष्टि क्रिया सकिएपछि जङ्गबहादुरले प्रधानमन्त्रीको कार्यभार ग्रहण गरे, जो उनले मृतक भाइलाई दिएका थिए । उनी केही समय त यसो गर्न हिचकिचाए र आफूलाई निकै अप्ठ्यारो अवस्थामा परेको अनुभव गरे । तर उनको आदेश र स्वीकृति बेगर राज्यको कुनै पनि महत्त्वपूर्ण काम हुँदैनथ्यो । यद्यपि उनीसँग वैधानिक अधिकार वा जिम्मेवारी केही थिएन । यो अन्योलको अवस्थामा ब्रिटिश राजदूतले उनीसँग कुनै प्रकारको क्रियाकलाप वा काम कार्वाही गर्न सक्तैनथे । न त ब्रिटिश सरकारको उनीसँग कुनै राजनैतिक सम्बन्ध थियो । तथापि उनी वास्तवमा राजा समान नै थिए, तर उनी गद्दीनसीन राजाको एउटा रैती मात्र थिए ।
जङ्गबहादुरको दोस्रो अवधिको कार्यकाल सुरू हुनुभन्दा केही समयअघि उनको ज्यान मार्ने एउटा षडयन्त्रको पर्दाफास भयो । कालीप्रसाद रेजिमेन्टको एक जना जम्मदारले जङ्गबहादुरको हत्या गर्न आफ्ना धेरै साथीलाई उचालिरहेको प्रमाण फेला पर्यो । त्यस षडयन्त्रमा कतै थुप्रै पुराना अफिसर पनि सम्मिलित छन् कि भन्ने आशङ्का भयो । सबै फौजलाई टुँडिखेलमा सामूहिक भेला हुने आदेश दिइयो र विभिन्न रेजिमेन्टको ठहरबमोजिम विश्वासघाती जमदारलाई उचित दण्ड दिने निर्णय गरियो । तर यसैबीच आफ्नै रेजिमेन्टको सदस्यले गरेको यस प्रकारको घातक द्रोहको अपमान सहन गर्न नसकेर आवेसमा आएका कालीप्रसाद रेजिमेन्टका सिपाहीले तत्काल उसलाई टुक्रा टुक्रा पारेर काटे । उनीहरूले यसो गर्नुको मुख्य उद्देश्य गुरुङ जातिमाथि लागेको कलङ्कको दाग मेटाउनु थियो, जुन जातिबाट त्यो रेजिमेन्ट बनेको थियो ।
जङ्गबहादुरपुत्र पद्मजंग राणाको पुस्तक ‘लाइफ अफ सर महाराज जङ्गबहादुर राणा‘ रामबहादुर पहाडीले नेपालीमा अनुवाद गरेका हुन् । यो पुस्तक विसं १९६६ मा इलाहावादको प्रकाशित भएको थियो ।