काठमाडौं, २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल समूहलाई पनि सहभागी गराएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसअघि नेपाल समूहबिना नै मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा पुगेका प्रधानमन्त्री देउवा आजबाट माधव पक्षलाई पनि सहभागी गराएरमात्रै सरकारलाई पूर्णता दिने पक्षमा पुगेका हुन् ।
प्रधानमन्त्री देउवानिकट उच्च स्रोतकाअनुसार आज विहानमात्रै प्रधानमन्त्री देउवाले नेता नेपाललाई फोन गरेर सरकारमा सहभागी हुनको लागि आग्रह गरेका छन् । त्यसको लागि बरु एक साता पर्खिने वचन दिएका छन् । हिजोमात्रै नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । नेपाल पक्षले पार्टी एकतामै जोड दिने निश्कर्ष निकालेको छ ।
नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरुले तत्काल पार्टी विभाजनमा जान नहुने र एकताकै पक्षमा जोड दिनुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेता नेपाल पक्षधर सांसदहरु भने कुनैपनि हालतमा सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् । कतिपय सांसदहरुले त प्रधानमन्त्री देउवासँग पनि व्यक्तिगत रुपमा भेटवार्ता गरेका छन् ।
आज विहान प्रधानमन्त्री देउवाले नेता नेपालसँग फोनवार्ता गरेर सरकारमा सहभागी हुनको लागि आग्रह गरेको र त्यसको लागि अझै एक हप्ता पर्खने पनि विश्वास दिलाएका थिए । नेता नेपालले आफूले नेताहरुसँग सल्लाह गरेर मात्रै जवाफ दिने भनेका थिए । File Photo/ReportersNepal