काठमाडौं, २४ साउन । सत्ता संघर्षमा धक्का खाएर महन्थ ठाकुर कमजोर भएका छन् । उनले प्रधानमन्त्री बन्ने अवसर गुमाएको चर्चा छ । ठाकुरले आफू प्रधानमन्त्री नबन्ने भनेनन् । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिमा सामेल भएनन् । उनी सामेल भएको भए प्रधानमन्त्री बन्ने सम्मको अवसर आउँथ्यो । उनी उल्टै ओलीलाई नै साथ दिन पुगे ।
ठाकुरले प्रधानमन्त्रीको दौडमा सहभागी नहुनुमा मधेशको मुद्दाका अलावा देशभित्र उठ्न लागेका केही महत्वपूर्ण मुद्दा पनि हुनसक्ने बुझिएको छ । हिन्दुत्वको मुद्दा जोडतोडले उठिरहँदा ठाकुर गेरु वस्त्रमा देखिन थालेका छन् । यो आफैमा अर्थपूर्ण सन्देश हो । उनले अबको चुनावमा मधेशको मुद्दाका साथै हिन्दुत्वको मुद्दालाई पनि उठाएर बढ्ने तयारी गरेका छन् । त्यसका लागि जनमत बुझ्ने प्रयास गरिरहेका छन् । उनी मधेश झरेका छन् । गाउँ गाउँ पुगेर मधेशको सेन्टिमेन्ट बुझिरहेका छन् ।
मधेशको जनमत बुझेर ठाकुर नयाँ ढंगले बढ्ने बुझिएको छ । उनले विस्तारै हिन्दुत्वको मुद्दालाई उठाउने गरी तयारी थालेको बुझिएको छ । फेरि शक्ति सञ्चय गर्दै बलियो मुद्दाका साथ मधेशमा महत्वपूर्ण पकड जमाउने आशा ठाकर पक्षको देखिन्छ ।
यतिबेला ठाकुरले जनता समाजवार्दी पार्टीको पकड नै गुमाएका छन् । उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि ठाकुर पार्टीविहिन जस्तै भएका छन् ।
ठाकुरले पार्टीको आधिकारिकता गुमाएपछि सांसदहरु पनि गुमाएका छन् । ३२ सांसद मध्ये उनीसँग १० जना मात्र सांसद छन् । जुन पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशतभन्दा कम हो । ठाकुर न त नयाँ दल खोल्न सक्ने अवस्थामा छन् न त जसपामै रहनसक्ने अवस्थामा छन् । निकै असजिलोमा परेपछि उनी नयाँ रणनीतिका साथ बढेका हुन् ।
ठाकुरको निकटता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छ । ओलीले पनि हिन्दुत्वको मुद्दालाई प्रत्यक्ष अप्रत्यक्ष बोकेको देखिदैछ । उनको सरकारमा रहँदा त्यस्तै भूमिका रह्यो । मन्दिर निर्माण देखि पशुपतिनाथमा जलहरी चढाउन सम्म सक्रिय भए । ओलीले आध्यात्मिक विचारहरु अभिव्यक्त गरिरहे ।
ठाकुर पक्षधरमा हिन्दुत्वको पक्षधरहरु हावी छन् । उनीहरु मधेशमा यही मुद्दाबाट आगामी चुनावमा बलियो रुपमा प्रस्तुत हुने तयारीमा देखिएका छन् ।