पोखरा, २७ साउन । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।
राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक ९खैरे० देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ ।
कोभिड(१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको छ । बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवद्र्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम गरिएको थियो ।
कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसङ्केतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।रासस