काठमाडौं, साउन २८ । तोकिएको समयमा महाधिवेशन हुने सम्भावना नदेखिपछि सोहि विषयमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बस्दै छ । क्रियाशील सदस्यता लगायतका विवादकै कारण महाधिवेशन पुनः अनिश्चित जस्तै देखिएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।
क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन नसकेपछि तल्लो तहका चुनावको मिति टरिसकेको छ भने केन्द्रीय महाधिवेशनका लागि पनि जम्मा २० दिन मात्र बाँकी छ । केन्द्रीय समितिले भदौँ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।
नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साउन २४ गतेभित्र वडा, गाउँ नगर, प्रदेश, संघीय, जिल्लाको अधिवेशन सकिसक्नुपर्ने थियो । सार्वजनिक कार्यतालिका अनुसार अब भदौं १ र २ मा हुने प्रदेशको अधिवेशन र केन्द्रीय महाधिवेशन मात्रै बाँकी छन् । तल्लो तहका निर्वाचन तोकिएको समयमा नभएपछि माथिल्लो तहका निर्वाचन पनि तोकिएको समयमा हुने देखिँदैन ।
विवाद मिलाउन गठित समितिले विवाद मिलाउन नसकेपछि क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउने जिम्मेवारी पुनः पार्टी नेतृत्वमै फर्किएको छ ।