Logo

कांग्रेस महाधिवेशन मंसिरमाबाट पनि पर सर्न सक्छ



काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक सीमाभित्र महाधिवेशन नभए पार्टीको वैधानिकता के हुने भन्ने विवाद जारी रहेकै बेला बैठकले सोही समयलाई टेक्दै वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

कुनै पनि राजनीतिक दलको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने भए पनि कुनै विशेष परिस्थितिका कारण हुन नसके थप ६ महिना समय लिन सक्ने संवैधानिक प्रवधान छ। कांग्रेस विधानमा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने उल्लेख छ। कुनै विशेष कारणले महाधिवेशन हुन नसके थप एक वर्ष समय लिन सक्ने जनाइए पनि कांग्रेसले पार्टी विधानले दिएको समय त सकिइसकेको छ नै, संवैधानिक व्यवस्थाअनुसार थपिएको ६ महिना पनि भदौ तेस्रो साता सकिँदैछ।

संस्थापन इतर पक्षले उक्त समयभित्रै महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आए पनि अन्तिम समयमा भने संवैधानिक सीमाभित्र तल्लो तहको अधिवेशन सुरु गर्ने गरी मंसिरमा महाधिवेशन गर्न राजी भएको हो। नेता रामचन्द्र पौडेलसहित इतर पक्षले महाधिवेशनका लागि जोड गरेको भए पनि संस्थापन पक्ष दसैंअघि नै महाधिवेशन सम्पन्न गर्ने रणनीतिमा थिए।

तर, केन्द्रीय समिति बैठकअघि बसेको इतर पक्षको भेलाले मंसिरमा महाधिवेशन गर्न लचकता देखिएपछि केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गए मंसिरका लागि तोकिएको मितिमा पनि महाधिवेशन हुन नसक्ने नेताहरूको बुझाइ छ।



प्रतिक्रिया दिनुहोस्