Logo

तालिवानले अलकायदा, आईएससँग सम्बन्ध बढायो भने दक्षिणपूर्वी एसियाको बेचैनी बढ्छः कूटनीतिज्ञ



काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले अफगानिस्तानमा आएको तालिबानी शासनले सिंगो दक्षिणपूर्वी एसियालाई लपेट्ने भएकाले नेपालको पहल महत्त्वपूर्ण हुने बताएका छन् । सार्कको अध्यक्षता गरिरहेको देश भएकाले विश्व समुदायसँग मिलेर नेपालले परिणाममुखी कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै उपाध्यायले भने, “अफगानिस्तान अस्थिर र अशान्त हुनु भनेको दक्षिणपूर्वी  एसिया नै अशान्त हुनु हो । यसबाट कुनै देश अछुतो रहने स्थिति छैन । त्यसैले सार्कको अध्यक्षता गरिरहेको देश भएको र अफगानिस्तान सदस्य राष्ट्र भएकाले परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ । तर हल्ला गरेर होइन ।”
उपाध्यायले अफगानिस्तानमा नाटकीय रुपमा सत्ता परिवर्तन भएकाले स्थिर हुन समय लाग्ने पनि बताए । उनले भने, “कट्टरपन्थी तालिबानले अलकायदा, आईएसजस्ता धार्मिक अतिवादी संगठनसँगको सम्बन्ध सुदृढ बनाएर गयो भने अप्ठ्यारो स्थिति आउन सक्छ । चीन र रुसको दूतावासमात्र त्यहाँ रहने भनिएकाले स्थिति थप जटिल हुन सक्छ ।”
उनले अफगानिस्तानमा नेपालको सम्पर्क सूत्र र कूटनीतिक सम्बन्ध नै नभएकाले त्यहाँ कार्यरत नेपालीको उद्धारमा कठिनाइ आएको बताए । उनले थपे, “अफगानिस्तानलाई पहिले पाकिस्तानले हेथ्र्यो । पछि दिल्ल्लीस्थित दूतावासले हेर्न थाल्यो । म भारतको राजदूतका रुपमा फर्कने बेला त्यहाँ महावाणिज्यदूत वा अवैतनिक प्रतिनिधि राख्नका लागि कूटनीतिक पहल भएको हो । तर त्यो व्यवस्था नभएकाले मित्रराष्ट्र, त्यहाँ कार्यरत नेपाली र अन्य च्यानलबाट सहयोग लिनुको विकल्प छैन ।”
अमेरिकी दूतावास र अमेरिकी एलाइन्सका सेनाको क्याम्पबाट सयौं नेपालीको उद्धार भएको खबर आउनु सकारात्मक भएको बताउँदै उनले भने, “जसले रोजगार दिएको छ, सुरक्षित रुपमा उद्धार गर्नु उसैको दायित्व हो । त्यो करारनामामै लेखिएको हुन्छ । अहिलेको समयमा प्रविधिको माध्यमबाट सहयोग लिन र गर्न सकिन्छ ।”
दिल्लीको दूतावास कूटनीति पहलमा असफल भएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा पूर्वराजदूत उपाध्यायले भने, “स्थिति जटिल भएर पनि होला । अफगानिस्तानले नबोलाईकन ओहदाको प्रमाणपत्र पेस गर्न पनि सकिँदैन । राजदूतलाई मात्र दोष दिएर हुँदैन ।”

नेता उपाध्यायले पछिल्ला गतिविधिले राजनीतिक दल र सरकार बिस्तारै असान्दर्भिक र अयोग्य हुँदै गएको टिप्पणी गरे । उनले भने, “हामी आफ्नो राजनीतिक समस्या समाधान गर्न नसकेर अदालत र निर्वाचन आयोग ताकिरहेका छौं । अरु दल विभाजनबाट आत्मतुष्टि लिने स्थिति बन्यो । लामो समयसम्म यस्तो स्थितिमा रहनु घातक हुन्छ । त्यसैले सक्दो चाँडो चुनावमा जानुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्