काठमाडौं, ६ भदौ । २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सक्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी एकैदिन फुट्यो । फुटेको दलभित्र फेरि फुटको सम्भावना देखिन थालेको छ । तर, अध्यादेश ल्याउने गठबन्धनका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि अप्ठ्यारो परिस्थिति आउने परिस्थिति विकास हुनलागेको छ ।
माधव नेपाल र महन्थ ठाकुरलाई सहज बनाउने गरी देउवाले अध्यादेश ल्याएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले भने, ठूलो मूल्य चुकाउन तयार हुनु । यसअघि नै ओलीनिकट नेता महेश बस्नेतले नेपाली काँग्रेस फुटाउने चेतावनी दिएका थिए ।
ओली र बस्नेतको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय ओलीले काँग्रेसभित्रका देउवाविरोधीसँग सम्पर्क बढाएका छन् । विभिन्न माध्यमले कुराकानी समेत चलाएका छन् । काँग्रेस महाधिवेशन पटक पटक सरेको सरै छ । फेरि नयाँ विवाद चुलिने सम्भावना बढेको छ । यसैमा ओलीले खेल्न सुरु गरेका छन् ।
काँग्रेस फुटाउन कति केन्द्रीय सदस्य र सांसद चाहिन्छ भन्ने हिसाबकिताब समेत ओलीका विश्वासपात्रहरुले गर्न थालेका छन् । प्रतिनिधि सभामा ६१ सांसद रहेको काँग्रेस अहिलेको अध्यादेशको माध्यमले विभाजित हुन खोजे १३ सांसद आवश्यक पर्छ । देउवासँग असन्तुष्ट पक्षलाई उकास्ने प्रयास चलिसकेको छ । देउवाइतर समूहसँग योभन्दा बढी सांसद संख्या छ । केन्द्रीय समितिमा पनि ४० प्रतिशत भन्दा बढी छन् । जिल्ला सभापतिहरुमा बहुमत नै छ ।
ओलीको तारो नेकपा माओवादी केन्द्रमा पनि छ । सरकारमा जान नपाएका माओवादी सांसद असन्तुष्ट हुँदै गएका छन् । मन्त्रिमण्डल विस्तार भएपछि असन्तुष्टि अझ चुलिन सक्छ । ओली समूह त्यसको पर्खाईमा छ । ४९ सांसद भएको माओवादी फुट्न अहिलेको अध्यादेशको आधारमा १० सांसद भए पुग्छ । असन्तुष्ट पक्ष माओवादीभित्र जन्मिइसकेको र उनीहरु विस्तारै संगठित हुन थालेका छन् ।
यसैगरी, ओलीलाई एमाले फेरि फुटबाट जोगाउन कठिन छ । माधव नेपाल समूह १२१ सांसदमध्ये ३१ जना र केन्द्रीय सदस्य ५६ जना लिएर नयाँ पार्टी दर्ता गर्न पुगेका छन् । अब बाँकी ९० सांसदमध्येबाट पार्टी फुटाउन २० सांसद भए पुग्छ । नवौं महाधिवेशनबाट बनेका २०३ केन्द्रीय सदस्य मध्ये ५६ जना घटेका छन् । अब बाँकी १४७ मध्येबाट एमाले फुटाउन ३० केन्द्रीय सदस्य भए पुग्छ । भीम रावललगायत नेताहरु ३७ जना छन् । उनीहरुको फरक समूह छ ।
ओलीले विधान महाधिवेशन गर्न खोजे एमाले फेरि फुट्ने सम्भावना छ । त्यसको लागि असन्तुष्ट समूहले तयारी समेत गरिसकेको छ ।
जनता समाजवादी पार्टीबाट ३२ सांसदमध्ये १३ जना सांसद लगेका छन् । अब उपेन्द्र यादव नेतृत्वको जसपासँग १९ सांसद छन् । यादव समूहमा पनि सरकारमा जाने विषयले नयाँ विवाद जन्माउने देखिइसकेको छ । त्यतिबेला जसपा फेरि नफुट्ला भन्न सकिन्नँ । फेरि जसपा विभाजन गर्नका लागि ४ सांसद भए पुग्छ ।
यसरी नै घटनाक्रम विकास भएमा पार्टीहरुको फुटको क्रम चलिरहने देखिन्छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पार्टी फुटाउन सकिने अध्यादेशले धेरै पार्टीहरु चकनाचुर बनाउने देखिदैछ ।