Logo

कथा : पाँचको नाच



रोशन थापा नीरव : (उसको जीवनमा पाँच यस्ता मननहीन घटना उपस्थित देखिए, जसलाई उसले लिपिबद्ध गर्न नचाहेर पनि आज लिपिबद्ध गर्न बाध्य भयो । सोच्यो, यो पञ्च महाभूतले बनेको शरीरमा घटना पनि कुनै पञ्चतन्त्रजस्तै आउने त रहेछ नि, तर उसको सन्दर्भमा भने तीघटना त्यसो त कुनै पनि इतिहास वा ग्रन्थयोग्य थिएनन् ।

जीवनमा आउने वा आएका केही असान्दर्भिक घटना मात्रथिए भनेर यहाँ कथानक बनाउन सकिने भयो । यसैले कहिलेकाहीँ भन्थ्यो, ‘मत पाँचको नाचमा अल्झिएको मान्छे ।’ यसो भन्दा ऊ दार्शनिक जस्तो देखिन्थ्यो भनेर तपाईं मान्ने सोचमा हुनुहुन्थ्यो भने त्यो पूर्णतः गलत मान्न सकिन्थ्यो, किनभने ऊ कुनै पनि कुरा सामान्यभन्दा सामान्य ढङ्गले सम्प्रेषण गर्दथ्यो ।

मानौँ, संसारभरका कुरा उसका लागि सबै सामान्य नै थिए । यसैले आउनुहोस्, ती घटनाहीन घटना के थिए, हेरौँ…।)

००

घटना १

कसैले उसलाई ‘जुममा आऊ न’ भनेको थियो । पहिला त उसले ‘जु’भन्ने सुन्यो । यो उमेरमा ‘जु’मा गएर के गर्ने ? उसले सोच्यो र अनुरोध गर्ने महिलालाई हेर्‍यो । महिला मुखमा टाँसिएको मास्कलाई चिउँडोसम्म तानेर उसलाई नै हेरिरहेकी थिइन् । मास्कले चिउँडो ढाके पनि मुहार भने सिँगार–साधनले ओतप्रोत देखिन्थ्यो । उनको अधरमा एक चिरपरिचित मुस्कान पनि थियो । अब यो मुस्कान र ‘जु’को के सम्बन्ध ? उसले बुझ्नै सकेन । यस उमेरमा आएर महिला मित्रलाई वास्तविक पशुहरूको दर्शन गर्न मन लागेको थियो कि ! नत्र त उनले सहरका दुईखुट्टे पुरुषीय पशुबारे व्यापक चिन्तनपरक आर्टिकल लेखेर ख्याति कमाइसकेकी थिइन् । अब चारखुट्टे पशुका बारे मन्थन गर्ने विचार गरेकी थिइन् र ती पशु खोरमै थुनिएका किन नहोऊन् ।

  • अब यस उमेरमा ‘जु’मा गएर के गर्ने नि महोदया ?
  • ‘जु ?’ मैले कहाँ ‘जु’ भनेँ र ?
  • अगि भर्खर ‘जु’मा आउनू भनेको होइन त ?
  • क्या कविजी रहेछ ! ‘जु’ हो त ?
  • के हो त ?
  • इन्टरनेटको ‘जुम’ भनेको नि ।
  • ए…।

उमेरसँगै खिइने मानसिक पदार्थपछि अब श्रवणीय शक्ति पनि खिइन लाग्यो, यो उसले सोच्यो । सोचेर मुस्काउँदै महिला मित्रलाई हेर्‍यो । महिला मित्र मुहारमा आग्रहचेत लिएर उसलाई नै हेरिरहेकी थिइन् । विगतमा भएको भए उनले यसरी हेर्दा ऊ चुम्बनको आग्रह उग्र रूपमा गरिदिन्थ्यो, तर अहिले भने समालिएर केवल सोच लिएर हेरिरह्यो ।

  • तर मलाई त ‘जुम’मा आउन नै मन लाग्दैन ।
  • किन ?
  • खै, के भनूँ ।
  • भन न, त्यस्तो के छ र !
  • तिमी पत्याउँदिनौ होला ।
  • किन नपत्याउनु ?
  • वास्तवमा मलाई ‘जुम’मा किन आउन मन लाग्दैन भने…त्यहाँ जो जो लिंक हुन्छन्, त्यसले मलाई कुनै प्रहसनको दृश्य बोध जस्तो अनुभूति दिन्छ, जुन मेरा लागि त्यति सुपाच्य हुँदैन र कहिल्यै भएन पनि ।
  • मैले बुझिनँ ।
  • मैले बोल्न त नेपालीमै बोलेको हुँ ।
  • तिमी जस्ता पुरुषले नेपालीमै बोले पनि बुझिने खालको हुँदैन नि ।
  • सीधै कुरा गरौँ, ‘जुम’मा आउने पात्रहरू कस्ता लाग्छन् भने कोही भर्खरै श्राद्धबाट उठेर धोती, कन्दनी र गन्जीमा मात्र उपस्थित भएजस्तो देखिने, कोही हाई गर्दै राति अनिद्राको सिकार हुने दिउँसो हुनासाथ सुत्ने खालका जस्तो देखिने, कोही स्वास्नीसँग झगडा गरेर जुवाको खालमा बसेजस्तो देखिने, कोही गुरुगम्भीर भएर शिरमा एक कपाल नभएको तर दारीजुँगा भने व्यापक लामो पारेर दर्शन दिन लागेजस्तो देखिने, अनि कोहीचाहिँ प्रत्येक सत्ता–सरकारका विरुद्ध बोलिरहने खाल भएजस्तै देखिने, कोही आउन नसकेको हाँच्छिउँ आइदेओस् भनेर आँ…गरी मुख बाइरहेको जस्तो देखिने, कोही घरमा बोल्न नपाएर बाहिर आउनासाथ बोलिरहने बानी बोक्ने नागरिकसरह जस्तो देखिने, कोही जतिखेर पनि रिसाइरहने खालका र कोही कुरैकुरामा हाँसिरहनेजस्तो देखिने । यस्ता देखिने क्रियामा वा भनूँ अब यस्तो नाट्य रूपमा म कतै पनि फिट हुनै सक्तिनँ । त्यसैले के आउनु ‘जुम’मा भनेको नि ।
  • हा…हा…हा…। गाईजात्रा आउन पाएको छैन तिमीले त व्यंग्य नै उमार्न थाल्यौ त !
  • व्यंग्य होइन नानी, यथार्थ हो ।
  • ठीक छ बाबा, तिमीसँग सशरीर नै भेटौँला, हुन्न ?
  • हुन त हुन्छ, तर यो सशरीरको सौन्दर्यशास्त्रीय अर्थ के होला नि महोदया ?
  • ‘फेस टु फेस’ भेटौँ भनेको ।
  • अनि ‘फेस टु फेस’मा ‘लिप्स’को कुनै ‘युज’ हुन्छ कि हुँदैन ?
  • के भनेको…?
  • अधरको अर्थगाम्भीर्य मिलनको कुरा गरेको ।
  • ओहो, महाशय यो उमेरमा आएर पनि बडो रोमान्टिक…!
  • के गर्नु, जति बेला रोमान्टिक हुन खोजेँ त्यति बेला यसको अर्थै रहेन र जति बेला अर्थ खोज्न थालियो रोमान्टिक नै हुन सकिएन । अब अहिले ती दुवै खाले क्रियाले जोस्याएपछि यसो भनेको हुँ, बाँकी महोदयाको जे इच्छा…।
  • इच्छा त तिमीलाई भेट्नु नै थियो मेरो ।
  • तिम्रा अगाडि मेरो हुन्नको कुनै अर्थ छ त ? न विगतमा नै थियो न अहिले नै छ ।
  • अब फेरि उही दर्शन ?
  • होइन, दूरदर्शन मात्र ।
  • उसो भए आजलाई बाइ ।
  • बाइ ।

००

घटना २

केही दिनपछि वा फेरि उनले आज एक्कासि मोबाइल कल गरिन् । ऊ घरका लागि सागपात र बच्चाहरूका लागि बिस्कुट किनेर बजारबाट घरतिर जाँदै थियो । उसले कल उठायो । सामान्य र औपचारिक कुरा भए । केही छिनको हाइ–हल्लोपछि उनले केही भन्न थालिन्…।

  • साँच्चै भन त, हाम्रो भेट नभएको कति भयो ?
  • भेट नभएको ?
  • अँ, भेट नभएको ?
  • यसलाई भेट नभएको भन्छ्यौ ?
  • के भन्ने त ?
  • भेट नभएको कि बिछोड भएको भन्ने ?

उनी उता केही छिन मौन भइन् । पछि के सम्झेर, मोबाइलै थर्किने गरी हाँसिन् ।

  • हा…हा…हा…।
  • मैले मानेँ ।
  • के मान्यौ ?
  • अझै पनि तिम्रो हाँसोमा मादकता छ ।
  • उस्, साँच्चै तिमी जस्तो सज्जन पुरुषबाट यस्तो सदाशयता सुन्न पाउनु आजको समयका म जस्तो नारीलाई गर्व नै लाग्छ ।
  • हो र ?
  • हो त नि ।
  • तर तिमी विगतमा मलाई ‘भ्रम’ सोचेर टाढिएकी होइनौ र ?
  • भ्रम होइन, प्रेम भन प्रेम…।
  • प्रेम ?
  • हो, प्रेम ।
  • कसरी…छोडेर जाने क्रियालाई प्रेम भनिँदो रहेछ, आज थाहा पाएँ ।
  • त्यसरी व्यंग्य नगर न ।
  • यथार्थलाई व्यंग्य भनिँदो रहेछ, यो पनि आजै थाहा पाएँ ।
  • हेर, तिमीसँग म रहेँ, मेरा ‘डन’ दाइहरूले तिम्रो शरीर क्षतविक्षत गरिदिने भय थियो त ।
  • ओहो, हिन्दी फिल्म…हाम्रो प्रेम…फिल्म…हँ !
  • होइन, सुन न ।

त्यसपछि उनले घुर्किएर गएका आफ्नो विगतका प्रेमीलाई सम्झाएसरि धाराप्रवाह रूपमा उसको र आफ्नो विगत अनि उसका बारेमा प्रशंसाका शब्दहरू उमार्न थालिन् । यस्तरी बोल्दै गइन्, मानौँ उनको घरमा उनलाई कसैले या त बोल्नै दिँदैनन् या बोलेको कसैले सुन्दैसुन्दैनन् । उसले पनि श्रीमतीले बोलेको सुनेसरि मौन भएरै सुनिरह्यो । लगभग पन्ध्र मिनेटपछि एकछिन रोकिन् र लामो दौडको धावकसरह अडिएर बोलिन् फेरि…।

  • तिमी किन मौन छौ नि, किन बोल्दैनौ ?
  • खोइन, के बोलूँ ? ‘चिप्लो कुरा, चिप्लो बाटो- फुस्रो प्रशंसा, खस्रो माटो’ मलाई एकदमै दिक्क लाग्ने कुरा हुन् ।
  • … …!

००

घटना ३

केही दिनपछि ऊ घरमा बसेर यस समय आर्थिक वर्षको आफ्नो सम्पत्ति विवरणबारे लेख्तै थियो । के लेख्ने, उहिलेदेखि एउटै त थियो सम्पत्ति विवरण…। कहिल्यै वृद्धि र उत्तरोत्तर भएको थिएन । बरु उमेर ओरालोतिर बेतोडले दौडिरहेको थियो । कति कुरा पहिला त खुइँखुइँती लेख्तै गयो । फेरि के सोचेर काट्तै गयो । उसलाई चित्त बुझेन । चित्त बुझ्ने र ढुक्क हुने उसको सम्पत्ति नै कहाँ थियो र ? उसले सोच्यो, ‘साँच्चै, यो सम्पत्ति विवरण ऊ वा ऊ जस्ता सम्पत्ति नभएकाले भर्नुपर्ने बाध्यता थियो वा सम्पत्ति भएकाले पनि भर्नुपर्ने ?’ अपसोच, आफ्नो पक्षको उत्तर ऊ दिन सक्थ्यो, तर अर्को पक्ष अर्थात् सम्पत्ति भएकाहरूका बारे भने…उसले उत्तर दिनु कुनै तुक देखिँदैन ।

सम्पत्ति विवरणको फाराम यसो एकपल्ट हेर्यो, जसमा नागरिक हुनुको गर्वोक्ति जस्ता वाक्यांश पृष्टित थियो ।

१. अचल सम्पत्तिको विवरण

(क) घर

…घरधनीको नाम ।

…घर र घरले चर्चेको जग्गाको विवरण –जिल्ला-गा.वि.स.- न.पा.-वडा

न.-कित्ता नं क्षेत्रफल) ।

…खरिद गरेको भए खरिद मूल्य ।

…प्राप्ति स्रोत ।

…कैफियत ।

(ख) जग्गा

…जग्गाधनीको नाम ।

…जग्गाको विवरण– जिल्ला-गा.वि.स- न.पा.-वडा न.-कित्ता न.-क्षेत्रफल) ।

…खरिद गरेको भए सोको मूल्य ।

…प्राप्तिको स्रोत ।

…कैफियत ।

२. चल सम्पत्तिको विवरण

(क) नगद, सुन, चाँदी, हीरा, जवाहरात

…विवरण ।

…परिमाण ।

…प्राप्त मिति ।

…खरिद गरेको भए खरिद मूल्य ।

…प्राप्तिको स्रोत ।

…कैफियत ।

(ख) बैंक, वित्तीयसंस्था तथा सहकारी संस्थामा रहेको खाताको विवरण

…खातावालको नाम ।

…संस्थाको नाम र ठेगाना ।

…खाता न. ।

…मौज्दात रकम ।

…प्राप्ति स्रोत ।

…कैफियत ।

(ग) धितोपत्र, सेयर वा ऋणपत्रको विवरण

…सेयरधनीको नाम, थर ।

…कम्पनीको नाम, ठेगाना ।

…सेयर-ऋणपत्रको किसिम ।

…सेयर-ऋणपत्रको विवरण (संख्या-रकम) ।

…प्राप्तिको स्रोत ।

…कैफियत ।

(घ) ऋण लिए-दिए-तिरेको विवरण

…ऋण लिने-दिने-तिर्ने व्यक्ति-संस्थाको नाम, ठेगाना ।

…ऋण (लिएको-दिएको-तिरेको) ।

…ऋण लिए-दिए-तिरेको रकम ।

…ऋण लिए-दिए-तिरेको मिति ।

…कैफियत ।

(ब) सवारी साधन (अटोमोबाइलको हकमा मात्र)को विवरण

…सवारी धनीको नाम ।

…सवारीको किसिम र नम्बर ।

…खरिद मूल्य ।

…खरिद मिति ।

…प्राप्तिको स्रोत ।

…कैफियत ।

आदिआदि यी सबै विवरणलाई ऊ एकफेर लघुकौमुदी कण्ठाग्र गर्न लागेसरि लेग्रो तानीतानी र जिब्रो पट्काईपट्काई पढ्न थाल्यो । मानौँ यस विवरणले उसलाई राज्यको महान् नागरिक हुनुको गौरव प्रदान अवश्य पनि गर्दै थियो । बच्चाहरू उता पबजी वा टिकटकमा कुस्ती खेल्दै थिए भने श्रीमती भान्सामा बसेर खाना पकाउँदै ‘हैन भनेको, सुनेन कि क्या हो’ भन्ने शब्द उनको कानतिर सरणि गर्दै थिइन् । ऊ भने सम्पत्ति विवरणमै घोरिँदै थियो । केही त लेख्नु नै थियो । के लेख्ने ?

सोच्यो, ‘कोरोना भाइरसको विश्वव्यापी महामारीले हाम्रो देश पनि आक्रान्त भएको छ । यता हाम्रो देश पनि त्रासदी समय लिएर हिँडिरहेको बेला हामी जस्ता निम्नमुखी, जसको सम्पत्ति नै स्वाहा भएको बेला केको सम्पत्ति विवरण ? साँच्ची नेता, सत्तासीन महाशयहरूले चाहिँ सम्पत्ति विवरण प्रस्तुत गरे वा गरेनन्, गरे भने के भनेर गरे ?’

केही समयपछि उसले निष्कर्ष निकाल्यो । यति लामो विवरणमा जानुभन्दा संक्षेपमै जानु उपयुक्त…सोच्यो र लेख्न थाल्यो विवरण…नाममा आफ्नो नाम, अचल सम्पत्तिमा श्रीमतीको नाम, सवारी साधनमा थोत्रे हुँदै गएको स्कुटरको नाम, प्राप्ति स्रोतमा ऋणको नाम, ऋणमा संस्थाको नाम, अनि कैफियतमा चाहिँ केही छिन सोचेर लेख्नैपर्यो भनेर लेख्यो…

एक थान श्रीमती,

दुई थान सन्तान,

स्वास्नीको नाममा भएको डेढ तोला सुन,

ऋणको किस्ता नसकिँदै थोत्रिँदै गएको स्कुटरको नाम र मोडल नम्बर, ऋणमा बनेको घर, ऋणऋणैको हालको स्थिति, मासिक रूपमा करार–सेवाबाट प्राप्त पारिश्रमिकको मात्रा…।

एकै पंक्तिमा रहेकाले मालपोतीय भाषा जस्तै अस्पष्टिएको बोध गर्यो । अनि आँखा खुम्च्याएर एक पटक तलदेखि माथिसम्म हेर्यो वा पढ्यो, अनि त्यस बेहोरोलाई स्पष्ट गर्न बुँदामा यसरी लिखित गर्यो…।

कैफियतः एक निरीह नागरिकको सम्पत्ति विवरण ।

प्रस्तुत कर्ताः सुयोग नेपाल ।

आम्दानीको स्रोतः करार–सेवा वा दैनिक ज्यालादारी ।

भौतिक सम्पत्तिः एक थान श्रीमती-दुई थान सन्तान ।

आर्थिक सम्पत्तिः डेढ तोला सुन (श्रीमतीका नाममा) ।

वस्तु सम्पत्तिः थोत्रो स्कुटर (ऋणको किस्ता तिर्दै गरेको) ।

आवासीय सम्पत्तिः दुईतले घर (घर कर्जा लिएर निर्माण गरेको-निर्माण सम्पन्न हुन बाँकी) । यति लेखिसकेपछि एकचोटि यसो मनमनै पढेर अन्त्यमा के थप्यो भने…विगत केही वर्षदेखि यतिकै सम्पत्तिबाट गुजारा गरिएको र आगामी दस वर्षसम्म पनि यसरी नै गुजारा गरिनेछ सरकार…यहाँको चाहिँ सम्पत्ति विवरण हामी नागरिकले कहिले पाउने नि…?

००

घटना ४

अब ऊ घटना चारतिर उन्मुख भयो । घटना पटकपटक भनिएजस्तै स्मरणीय र महनीय थिएन । उसकी श्रीमतीले भात पस्केर राखेको एक घन्टापछि उसलाई सम्झना भयो— भात अब पूरै चिसो भयो । श्रीमतीले स्टोभबाट होइन, मुखका वाणीले तताइदिन सक्थिन् र त्यो तताइ उदरका लागि स्वादिष्ट नभएर कर्णका लागि मधुरहीन हुन जान्थ्यो । यही सोचेर छिटो छिटो भातको गाँस उसले मुखमा कोच्न थाल्यो । खाँदाखाँदै एक्कासि पाँचौँ गाँसमा कताबाट उडेर आएको झटारो जस्तो एक शक्तिशाली ध्वनि उत्पन्न गर्ने ढुङ्गाको टुक्राले उसको दाँत नै क्वाटाङ्ग गरिदियो । पीडाले असह्य भयो ।

सहन नसकी छटपटियो, तर केही पनि बोलेन । जीवनमा पीडा कतिकति…सह बाबू सह…सहनुबाहेक विकल्प यो संसार अरू केही उपाय थिएन पनि ।

००

घटना ५

यहाँसम्म आइपुग्दा यथार्थमा यो घटना भने आउनै बाँकी थियो र त्यो घटना के थियो, पछि थाहा लाग्ने हुन सक्थ्यो नै । यसैले ‘अहिलेलाई प्रतीक्षा गरौँ, पाँचौँ घटनाको आगमनलाई कुनै सुदूर पाहुनाको आगमन अनुमानसरि’ भन्ने भावमा अनि ऊ पात्र भयो र हामी पाठक । यसैले आउनुहोस् हामी पाठक भएर प्रतीक्षारतको त्यस कक्षमा प्रवेश गरौँ, जहाँ बसेर भविष्यको अनागत प्राक्कल्पनालाई लिएर ढुक्क कुर्न सकौँ । हेर्नोस् त; उः आयो, आयो, आइपुग्यो घटना ५…!

 



प्रतिक्रिया दिनुहोस्