Logo

कथा : महल, इनार र राग–गायन



कन्हैया नासननी :  नारायणहिटी राजदरबारसँग दक्षिण दिशातिर जोडिएको नारायणस्थानमा प्रत्येक एकादशीको दिन साँझदेखि बेलुकी अबेरसम्म सुनिने विशुद्ध शास्त्रीय संगीतको गुञ्जन हिजोआज सुनिँदैन । शास्त्रीय संगीतमा रुचि बसेकोले संगीत सुन्न म नबिराईकन एकादशीको दिन त्यहाँ जाने गर्थें । सांगीतिक कार्यक्रमको माहौलले त्यहाँको वातावरणलाई विशिष्ट तुल्याएको हुन्थ्यो । चर्चित गायकहरू र बाद्यबादकहरूको अनि श्रोताहरूको बाक्लो उपस्थिति नै त्यसो हुनुको कारण थियो । तिनीहरूमध्ये कोही–कोहीको कहिलेकाहीँ मात्र भए पनि रागरञ्जक नरनारायण ढकाल, तबलाबादक शिव प्रसाद मिश्र, हार्मोनियमबादक सर्वदेव पन्त र सरोदबादक मोहनमान श्रेष्टको उपस्थिति अटूटजस्तै हुन्थ्यो । तिनीहरूको गतिविधि र व्यस्तताबाट आयोजक नै तिनीहरू भएको सजिलै थाहा पाउन सकिन्थ्यो ।

सांगीतिक कार्यक्रम मन्दिरको पूर्वतिर निर्मित एउटा मण्डपभित्र हुन्थ्यो । एक पटक त्यहाँ एक जना अधबैँसे पुरुष र एउटी नवयौवना केटीको आगमन भयो । आयोजकहरूले ससम्मान मण्डपभित्र लगेको देख्दा तिनीहरूलाई कार्यक्रममा भाग लिन आमन्त्रण गरिएको स्पष्ट बुझिन्थ्यो । तिनीहरूको प्रस्तुति पनि तसर्थ विशिष्ट हुनसक्ने मैले अनुमान गरेँ । कार्यक्रमको पहिलो गायक महाबौद्ध बस्ने श्यामलाल तण्डुकारको राग–गायनपछि अर्को प्रस्तुतिका लागि तिनीहरूलाई अनुरोध गरियो । ससम्मान गरिएको अनुरोध तिनहरूले पनि सप्रशन्न स्वीकार गरे । अरू बेलामा जस्तै त्यो दिन पनि संयोजन र उद्घोषणको अभिभारा बहन गरेका रागरञ्जक नरनारायण ढकालले माइकबाट बोले— “भरखरै तपाईहरूले श्यामलाल तण्डुकारजीबाट राग पूरन सुन्दै हुनुहुन्थ्यो, अब राजेश्वरी झाबाट सुन्नुहोस् सितारमा राग जलसा । तबलामा संगत उहाँकै पिताजी राघव शाह र तानपुरामा संगत सुप्रिया अर्यालबाट हुनेछन् ।”

संयमित मुस्कानले अनुहार चहकिलो तुल्याई राजेश्वरीलें सप्रशन्न स्थान ग्रहन गरिन् र विलम्ब नगरी सितार हातमा लिइन् । त्यसरी नै तिनले विलम्ब नगरी सितारका तार तानतुन मिलाइन् । तिनको हातको स्पर्श पाएको सितारको झंकार र तानपुराको तरंगमय आवाजबाट उत्पन्न भएको संगीतमय वातावरणको लयमा श्रोताहरूको ध्यान घुलमिल भयो । प्रारम्भिक चरणको क्षणिक बादनपछि राजेश्वरीले आफ्ना पिताजीप्रति मुस्कानमय दृष्टि प्रक्षेपण गरिन् । सितारबादनको प्रारम्भिक चरण शुरू हुनेबित्तिकै तबलामा तिनका पिताजी राघव शाहका हातका औंलाहरूको ताण्डव नृत्य शुरू भयो ।

म आफैं पनि सानोतिनो तबलाबादक भएकोले उनको प्रस्तुतिबाट म निकै प्रभावित भएँ । तर ध्यान दिएर कति गम्दा पनि तबलामा उनले के ताल बजाएका हुन्, त्यो थाहा पाउन सकिनँ । त्रितालजस्तो लाग्छ तर त्यो मात्र पनि होइन । राजेश्वरीले सितारमा बजाएको भनिएको राग जलसा पनि मेरालागि नौलो थियो । जेहोस्, समग्रमा भन्नुपर्दा राग जलसाजस्तै तबलाको ताल पनि मेरालागि नौलो सावित भयो । बीच–बीचको अन्तरालमा उनले बजाउने गरेको ताल— धा तिरि किटि तक ता तिरि किटि तक, धागे तेते तागे तेते, क्रधान धा क्रधान धा पनि मलाई नौलो लाग्यो ।

पूरा चालीस मिनेटपछि सितार–बादनले बिश्राम पायो । धेरै बेर बसेनन् बाबु–छोरी । उठेर तिनीहरूले आयोजकहरूसँग बिदा मागे र मण्डपबाट निस्के । म पनि निस्केर तिनीहरूको पछि लागेँ । म तिनीहरूसँग एकछिन कुराकानीमा अल्झिने अवसरको खोजीमा थिएँ । क्षणभर तिनीहरूको बराबरीमा हिँडेपछि राघवजीको दृष्टि ममा पर्नेबित्तिकै मैले भनेँ— “हजुरको तबला–बादन मलाई निकै राम्रो लाग्यो । तालका केही अंश मलाई नौलो पनि लाग्यो ।”

राघवजीले धन्यवाद दिए र मेरो परिचय मागे । आफ्नो परिचय दिँदै मैले भनेँ— “मेरो नाम विक्रम मल्ल हो । संगीतप्रेमी भएकोले म प्रत्येकजसो एकादशीको दिन संगीत सुन्न साँझ यहाँ आउने गरेको छु । यहाँहरूलाई जान अबेला भइसकेको होला, नत्र संगीतविषय थोर–बहुत कुराकानी गर्न पाइन्थ्यो । यहाँहरूलाई कहाँसम्म पुग्नुपर्ने हो ? मेरो घर नजीकै छ । घरसम्म आउने तकलिफ गर्नुभए म गाडीमा पुर्याइदिन्थेँ ।”

“जानुपर्ने त नयाँ बजारसम्म हो । यहाँलाई तकलिफ हुन्छ कि ? आउँदा त हिँडेरै आएका थियौँ ।” राघवजीले यति भनिसिध्याएको लगत्तै राजेश्वरीले भनिन्— “हुन्छ बाबा ! अलि चाँडै पुगिन्छ पनि । साँझको बेला किन त्यहाँसम्म हिँडिरहने ? टैक्सीमा बस्न मलाई मन पर्दैन ।”

नारायणस्थानबाट हामी पाँच मिनेटमै जय नेपाल चित्रघरनजीकै मेरो घर हात्तीसारमा पुग्यौँ । घरको प्रांगणमै कुर्सीहरू ल्याएर मैले तिनीहरूलाई बसालेँ र आफू पनि बस्दै भनेँ— “एकछिन विश्राम गर्नुहोस् न त । भरखर पौने आठ भयो । यहाँहरूले बेलुकीको भोजन… ।”

“बेलुकीको भोजन हामीले गरिसक्यौँ । छोरीकहाँ सप्ताह लगाएको थियो । आज समापनको दिन । दिउँसो पाँच बजे नै प्रसाद खाइवरी हामी आएका हौँ ।” एकछिन रोकेर राघवजीले फेरि भने— “मेरी जेठी छोरीको घर यहाँ नयाँ बजारमा हो । राजेश्वरी मेरी कान्छी छोरी । यिनको पनि विवाह भइसक्यो । ज्वाइँसाबको घर जनकपुरमा हो । मेरो घर जलेश्वरमा हो ।”

तिनीहरूसँगको निकटताको संकेत दिँदै मैले भनेँ— “ए जनकपुर त कुनै बेला हाम्रो पनि थलो थियो । त्यहाँको घर बेचेर हामी काठमाडौँ सरेका हौँ । पचहर्वा भन्ने ठाउँमा हाम्रो जग्गा–जमीन थियो । त्यहाँ पनि हाम्रो घर थियो । त्यहाँको घर–जग्गा पनि हामीले बेचिसक्यौँ । मुद्दा–मामिलाले गर्दा त्यसो गर्नुपरेको हो ।”

यसैबेला मेरी छोरी सुमित्रा तीन कप चिया लिएर आई । उसको परिचय दिँदै मैले भनेँ— “यी मेरी छोरी सुमित्रा । यिनी हुर्केकै उतैतिर । अहिले यिनी यहाँ क्याम्पसमा दोश्रो वर्षमा पढ्दैछिनन् । राघवजी र राजेश्वरीको परिचय सुमित्रालाई दिँदै मैले फेरि भनेँ— “उहाँ दिदीको घर जनकपुरमा हो । दिदीको नाम राजेश्वरी । उहाँ अंकल राजेश्वरी दिदीका बा हुनुहुन्छ ।”

सुमित्राले भित्र गएर एउटा मेच ल्याइन् र राजेश्वरीसँगै बसिन् । तत्कालै दुई जनाले कुराकानी थाले, त्यो पनि मैथिलीमा । क्षणभरको कुराकानीपछि नै दुई जनामा मित्रता बस्यो । सुमित्राले हात समातेर राजेश्वरीलाई घरभित्र लगिन् । सजिलो भयो मलाई राघवजीसँग कुराकानीमा अल्झिन । कुराकानी संगीतकै विषयमा भयो । तबला–बादक भए पनि उनलाई शास्त्रीय संगीतका अरू विधाको पनि धेरै ज्ञान भएको मैले बुझेँ ।  उनले भने— “शुरूमा म हार्मोनियम बजाउँथेँ । मेरो बाको पालाको एउटा हार्मोनियम अहिले पनि मेरो घरमा छ । पछि गएर तबलामा मेरो मन बस्यो । मेरो आधारभूत बाजा नै तबला भयो । जलेश्वर महादेवस्थानको भजनघरमा पर्व–पर्वमा हुने संकीर्तनमा तबला बजाउन मलाई नै लगाइन्छ । कहिलेकाहीँ जनकपुरमा सीतामाताको भजनघरमा पर्व–पर्वमा हुने संकीर्तनमा तबला बजाउन पनि मलाई बोलाउँछन् । मैले अभ्यास पनि बहुत गरेँ । अभ्यासले परिपक्व बनाउँछ— यो भनाइ सत्य हो ।”

कुराकानी चलिरहेकै बेला मेरी श्रीमती देखापरिन् । मैले राघवजीलाई उनको परिचय दिएँ । उनी खाना तयार भएको खबर दिन आएकी रहिछन् । राघवजीको आनाकानीलाई मिच्दै मैले भनेँ— “प्रसादकै रूपमा अलिकति भोजन गरिदिनोस्, कृपया । एकादशीको दिन हामी खीर र तरकारी मात्रै खान्छौँ ।”

मैले राघवजीलाई भोजनका लागि मनाएरै छाडेँ र खाना खाने कोठामा लगेँ । त्यहाँ त बडो रमाइलो दृष्य पो देखियो । सुमित्रा र राजेश्वरी हाँस्दै, गफ गर्दै खाना हसुरिरहेका थिए । “हामीलाई नपर्खीकन आफू–आफू मात्रै ।” राघवजीले ठट्टा गर्दै भने ।

एउटा सानो हीँहीँ हेँहेँ हाँस्दै राजेश्वरीले भनिन्— “भोक लाग्न थाल्यो, अनि के गर्ने त ? कस्तो स्वादिलो छ खीर र तरकारी ।”

भोजनपछि राघवजी र म पहिलेकै ठाउँमा आयौँ र कुराकानी फेरि थाल्यौँ । स्वादिष्ट भोजनकै प्रभावले भन्नु उचित नहोला तर जे होस्, उनी उत्साहपूर्वक कुराकानीमा प्रस्तुत भए । मेरो आतिथ्य ग्रहण गरी भोजन गरिदिएकोमा आभार प्रकट गरी मैले उनको उत्साहमा मलजल थपेँ । संगीतप्रतिको आफ्नो धारणा व्यक्त गर्ने सन्दर्भमा मैले भनेँ— “आफ्नो आधारभूत बाजा भएर होला, तबलालाई मैले संगीतको व्याकरण सम्झेको छु ।” मैले यसो भनेको सुनेपछि तत्काल उनको भावमा परिवर्तन आएको देखापर्यो । अतीतको सम्झनाले गर्दा त्यसो भएको हुनुपर्ने मैले अनुमान गरेँ । केही सोचेजस्तै, केही सम्झेजस्तै गरी गम्भीर भएर उनले भने— “मेरा आदरणीय गुरु पनि यस्तै सम्झनुहुन्थ्यो ।”

“हजुरको पनि गुरु भनेपछि वहाँ तबला–बादनमा निकै दक्ष हुनुहुन्छ होला । मलाई उहाँको दर्शन गर्ने इच्छा भयो । उहाँ को र कहाँ हुनुहुन्छ ?” मैले यसो भनेको सुनेर गम्भीरताको मात्रा उनमा अरू बढेको देखियो । कौतूहलको मात्रा ममा पनि बिस्तारै वृद्धि भयो । उनले भने— “हजुरको प्रश्नको जवाफ दिन धेरै समय लाग्छ । धेरै समय लाग्ने भएकाले सुन्ने मान्छेमा पनि धेरै धैर्य चाहिन्छ । त्यतिले मात्र पनि पुग्दैन, धेरै विश्वास पनि चाहिन्छ । के गर्ने ?”

अनुनय–विनयका शब्दहरू बोली हात जोडेर मैले भनेँ— “मेरो अन्तरमा विश्वासको भण्डारै छ । समयलाई धैर्यले सन्तुलित पार्ने आदत मैले बसालिसकेको छु । हजुरले जे बताउनुहुन्छ, त्यो म शत–प्रतिशत विश्वास गर्नेछु ।” एकछिन मेरो अनुहार जाँचेर उनले भने— “हजुर के कहिल्यै ग्वालियर जानुभएको छ ?”

”मैले भारतका केही शहरहरू डुलेको छु तर ग्वालियर कहिल्यै मेरो भ्रमणको एजेण्डामा परेन । ग्वालियर शास्त्रीय संगीतको केन्द्र हो भन्ने मलाई थाहा छ । त्यहाँ पनि जाने मेरो इच्छा छ । जानुपर्ला कुनै दिन ।”

“मेरा गुरु ग्वालियरमा बस्नुहुन्थ्यो । तर अहिले त्यहाँ होइन । मेरा गुरूको नाम अनन्त कृपाचार्य हो । गुरु अहिले जीवित हुनुहुन्छ पनि हुनुहुन्न पनि । यो सुनेर के तपाईलाई आश्चर्य लागेन ?”

निःसन्देह मेरो मनमा आश्चर्यको भाव उत्रेको थियो । आश्चर्यको भावले मौनताको मात्रालाई बढायो । आफ्नो अनुमान सत्य भएकोले हुनुपथ्र्यो, अझै उत्साहित भएर उनले भने— “उहाँ मेरो गुरु हुनुभन्दा पहिलेको कुरा हो, राम–जानकी विवाहको मेलाको अवसर पारी वहाँ जनकपुरमा आउनुभएको थियो । संयोग नै भनौँ, हामीले त्यसबेला शास्त्रीय संगीतकारहरूको भेलाको आयोजना गरेका थियौँ । उहाँले आफ्नो परिचय दिनुभो र भेलामा सहभागी हुने इच्छा व्यक्त गर्नुभो । उहाँको तबला–बादनबाट हामी सबै प्रभावित भयौँ । उहाँ तीर्थयात्रीको रूपमा आउनुभएको थियो, हामीले अतिथिको सम्मान र स्थान दियौँ । उहाँको बस्ने र खाने प्रबन्ध सबै हामीले आफ्नै तर्फबाट गरिदियौँ । मेला र भेला सिद्धिएपछि पनि उहाँ दुई दिन जनकपुरमा बस्नुभो । दुई दिन उहाँ जलेश्वरमा मेरै घरमा बस्नुभो । म सानोतिनो तबला–बादक त्यसबेला नै थिएँ । अवसर पारी मैले तबला–बादनमा बढी शिक्षा आर्जन गर्ने आफ्नो धोको बताई मलाई आफ्नो चेलाको रूपमा स्वीकार गरी अभ्यास र तालिममा सामेल गरिदिन उहाँलाई विनम्र निवेदन गरेँ । उहाँले मेरो निवेदन स्वीकार गर्नुभो । उहाँले ग्वालियरमा उहाँकहाँ आउन भन्नुभो । उहाँको प्रस्थानको बेला म जयनगरसम्म सँगै गई मेरै तर्फबाट ग्वालियरसम्मको टिकट मिलाइदिएँ । छुट्टिने बेलामा उहाँले मलाई अंकमाल गर्नुभो । उहाँको अंकमालको त्यो न्यानो अहिलेसम्म मेरो छाँतीमा विद्यमान छ ।”

अनायास उनी भावुक भए । क्षणभर चुप लागेपछि उनले भने—

घरको बन्दोबस्त सबै मिलाएर एक महिनापछि न ग्वालियरमा गुरुकहाँ गएँ । एउटा डेरा लिएर पूरा एक महिना बसी मैले तबलामा बढी ज्ञान आर्जन गरेँ । धेरै थिए उहाँका मजस्ता चेलाहरू । म गुरुको चेला मात्र होइन, हितैषी पनि बनेँ । स्वभाव अलि कडा भए पनि नरम दिलको हुनुहुन्थ्यो मेरा गुरु । … ग्वालियर शहरबाट चार किलोमिटरजति पश्चिमतिर लाग्नुभो भने दरबार शैलीको एउटा महल देख्न सकिन्छ । महल राजखानदानकै एक जना सदस्यका लागि बनाइएको थियो । राजा साहेबका नामले पुकारिने उनी उग्र स्वभावका थिए । परिवारमा कसैबाट पनि माया र सद्भाव पाउन नसकेका उनी महलको निर्माण सिद्धिएलगत्तै आफ्नी पत्नी र एक मात्र सन्तान छोरीसहित त्यहाँ बस्न गए । चालिसौँ कोठा भएको उक्त महलमा उनले त्यहीँ बस्ने गरी आवश्यक संख्यामा विभिन्न काम गर्ने परिचारकहरू पनि लगे । वषौँदेखि उनको सेवाटहल गर्दै आएका दयाशंकर आयर नामका एकजना पनि उनीसँगै बस्न आए । शुरूमा एक्लै बस्न आएका भए पनि पछि उनले आफ्नी पत्नी र विधवा छोरीलाई पनि त्यहीँ बस्ने गरी लगे । आफ्नो वित्तीय र अन्य कारोबार राजा साहेबले त्यहिँबाट सञ्चालन गर्ने गरे । उनी बस्न गएको केही महिनापछि नै महल चहलपहलयुक्त भयो । बीसौँ रोपनी जग्गासहितको उक्त महलअगाडिको जग्गामा सुन्दर बगैँचा बनाइयो । एक जना परिचारिकालाई बगैँचाको मालीको काम गर्न लगाइयो । पानीको अभाव टार्न महलको पछाडिको भागमा एउटा गहिरो इनार खन्न लगाइयो । पछि बोरिङ गरेर पानीको अभाव टारियो र तल हेर्दैमा डरलाग्दो देखिने त्यो इनार प्रयोगविहीन भयो ।

महलमा बस्न गएको बेलातिरै राजा साहेबकी छोरी जवान भइसकेकी थिइन् । बाल्यावस्थादेखि नै तिनी संगीतमा रुचि राख्थिन् । सुमधुर स्वरकी धनी राजकुमारीको रुचि शास्त्रीय संगीतमा थियो । शास्त्रीय संगीत र ग्वालियर शहर एक अर्काको पर्याय बनेका छन् । यो कुरा हजुरलाई पनि थाहा भएकै रहेछ । संगीतमा रुचि नराख्ने घरानिया केटीहरू शहरमा कमै मात्र हुन्छन् । तसर्थ शास्त्रीय संगीत राजकुमारीको संस्कार बन्नु कुनै आश्चर्यको कुरा होइन । शहरमा बस्दा राजकुमारीलाई संगीतमा साथसंगत दिनेको कमी नहुँदो हो । तर महलमा बस्न गएपछि तिनी त्यसबाट विमुख भइन् । रियाज गर्नेजस्तो काम एक्लै गरिने पनि होइन । शास्त्रीय संगीतजस्तो विषय

जति सिक्यो त्यतिले नपुगी अरू बढी सिक्नुपर्ने हुनपुग्छ । राजकुमारीले पनि आफूमा भएको संगीतको ज्ञान पर्याप्त नभएको ठानी अरू बढी सिक्ने इच्छा गरिन् । आफ्नो इच्छा तिनले आफ्ना पिता राजासाहेबलाई बताइन् र प्रशिक्षणको व्यवस्था गरिदिन अनुरोध गरिन् । राजासाहेबका लागि त्यो कुनै गाह्रो काम थिएन । शहरमा बस्दा राजकुमारीलाई प्रशिक्षण दिने प्रशिक्षक नै तिनको आग्रहअनुसार महलमा सो कामका लागि आउने भए । प्रशिक्षणको बेलामा तबलामा संगतका लागि आइदिन राजा साहेब आफैं र प्रंशिक्षकले गरेको आग्रह मेरा गुरुले स्वीकार गरे । हार्मोनियम, तबला, तानपुरा नयाँ नै किनिए । बगैँचामा मालीको काम गर्ने परिचारिकाले तानपुरामा र दयाशंकरले हार्मोनियममा संगत दिने भए । प्रशिक्षण हप्ताको चार दिन हुने भयो । राम्रो पारिश्रमिक पाउने भएर गुरुले सो आग्रह स्वीकार गर्नुभएको हुनुपर्थ्र्यो । यो मेरो अनुमान मात्र हो । तर एउटा कुरा, गुरुले तबला सिकाएबापत् मसँग एक पैसा पनि लिनुभएन । प्रशिक्षण राम्रै चलिरहेको थियो, एकाएक परिस्थितिले कोल्टे फेर्यो ।

प्रशिक्षक र राजकुमारीको सम्बन्ध प्रेमीप्रेमिकाको हुन पुग्यो । दुई जनाको आपसी व्यवहारमा भएको परिवर्तन शंकालु राजा साहेबबाट छिपेन । प्रशिक्षक फेर्ने आफ्नो आग्रहलाई राजकुमारीले ठाडै अस्वीकार गरेपछि उनको आशंकाको झनै वृद्धि भयो । दुई जनाको चियोचर्चो त उनले पहिलेदेखि नै गरिरहेका थिए । त्यतिले नपुगी उनले आफ्ना विश्वासपात्र काम गर्नेहरूमध्ये केहीलाई पनि त्यसो गर्न लगाए । एक दिन प्रशिक्षक र राजकुमारी आलिंगनबद्ध अवस्थामा रहेको उनले आफ्नै आँखाले देखे । देखे, तर उनले नदेखेको बहाना गरे ।

अर्को दिन राजकुमारीले प्रशिक्षकलाई देखिनन् । एक दुई दिनको प्रतीक्षा अनि त्यसपछिको खोजीनितीबाट प्रशिक्षक गायब भएको तिनले पत्ता लगाइन् । तिनी चुप लागेर बसिनन् । प्रशिक्षक गायब भएको कारण पत्ता लगाउने काममा तिनी प्रयासरत रहिन् । बगैँचाको रेखदेख गर्ने र तानपुरा बजाउने परिचारिका तिनको विश्वासपात्र थिइन् । राजा साहेबले विश्वासपात्र आफ्ना केही कामदार लगाएर प्रशिक्षकलाई इनारमा खसाल्न लगाएका रहेछन् । परिचारिकाले त्यो थाहा पाएकी रहिछन् । संभवतः त्यहाँ काम गर्नेहरूमध्ये एक जना तिनको प्रेमी भएको हुँदो हो र उसैबाट तिनले त्यो थाहा पाएकी हुँदीहुन् । प्रशिक्षकलाई नदेख्नाले चिन्तित र व्याकुल भएकी राजकुमारीलाई तथ्य कुरा नबताई तिनलाई चैन नभएको हुँदो हो । त्यसरी भेद खोल्दा तिनले त्यसबाट उत्पन्न हुने परिणाम र परिस्थितिको ख्याल राम्ररी नगरेको हुन सक्थ्यो । भेद खुलेकै दिन राजा साहेबसँग राजकुमारीको नराम्रोसँग झगडा भएको हुनुपर्थ्र्यो । रीसको आबेगमा आएर राजकुमारीले इनारमा हाम फालेर प्राण त्याग गरिन् । त्यसको अर्को दिन परिचारिका भाग्न लागेकी थिइन् तर भाग्न तिनी सफल भइनन् । शोकग्रस्त राजा साहेबले कसरी चाल पाए कुन्नि, काम गर्नेहरू लगाएर उनले परिचारिकालाई तानपुरासहित इनारमा खसाल्न लगाए ।

राघवजीले घडी हेरे । समय नौ पैँतालिसको थियो । उनले प्रस्थान गर्ने बेला भयो भन्लान् भन्ने मलाई चिन्ता भयो किनभने मैले बुझेअनुसार उनले भन्नुपर्ने र मैले सुन्नुपर्ने धेरै कुरा बाँकी थियो । त्यसैबेला राजेश्वरी देखापरिन् । तिनले भनिन्— “दिदीकहाँ त गजब भजन–कीर्तन पो भइरहेको रहेछ । जाने कि के गर्ने ? एकछिन बसौँ न त, मलाई पनि सुमीसँग कुरा गर्न पुगेको पनि छैन ।”

यति भनेर तिनी गइहालिन् पनि । मलाई तिनले सुमित्रालाई ‘सुमी’ मात्र भनेको मन पर्यो । ती दुई जनामा आत्मीयता बसिसकेको संकेत थियो । राघवजीले आफ्नो बयान जारी राखे— …एकपछि अर्को गर्दै घटेका दुर्घटनाहरूका कारण महलको वातावरण प्रतिकूल, सुनसानप्रायः र बस्न योग्य नभएको हुँदै गयो । राजकुमारीको संगीतको प्रशिक्षण दोश्रो तलाको एउटा कोठामा हुन्थ्यो । तर मौसम राम्रो भएको बेला महलबाहिर बगैँचामा बसीबियाँलो गर्न बनाइएको ठाउँमा प्रत्येक पूर्णिमाको साँझतिर प्रशिक्षक र राजकुमारीको युगल–गायन हुन्थ्यो । राजा साहेब, रानी साहिबालगायत महलमा बस्नेहरू सबै जम्मा भएर संगीतको आनन्द लिन्थे । त्यो दिन प्रशिक्षक र मेरा गुरुको बास र गाँस महलमै हुन्थ्यो ।

अप्रत्याशित दुर्घटनाहरू र खास गरेर छोरीको अवसानले गर्दा राजा साहेब विक्षिप्त अवस्थामा पुगे । तीन महिनापछि उनको मृत्यु भयो । मालीको काम गर्ने कोही नभएकोले बगौँचा उजाड भयो । काम गर्नेहरू सबैले एक–एक गर्दै बस्न छाडे । रानी साहिबा रोगग्रस्त भइन् । तिनी ग्वालियरको दरबारमै बस्न गइन् । भुतबंगलाजस्तो हुनपुगेको महलमा बस्नेहरूमा बाँकी रहे— दयाशंकर, उनकी पत्नी र तिनीहरूकी छोरी । तिनीहरूले महलको पृष्ट भागमा तीनवटा कोठा ओगटेर बसेका थिए । महलको पछाडिको जमीनमा थरीथरीका फलफूलका बोटहरू थिए । इनार नजीकै तीनवटा ठूला रूखहरू थिए । त्यतातिरको जमीनको रेखदेख गर्ने काम दयाशंकरकी छोरीले पाएकी थिइन् ।

भाद्रशुक्ल पूर्णिमाको दिन मध्यरातको कुरा हो, निरन्तर आइरहेको आवाजले गर्दा दयाशंकरकी पत्नीको निद्रा टुट्यो । तिनले दयाशंकरलाई उठाइन् । झ्याल खोलेर तिनीहरूले बाहिर हेरे तर केही ठम्याउन नसकेपछि ढोका खोलेर बाहिर निस्के । आवाज ध्वनित भएर निस्केको थियो र त्यो इनारबाट निस्केको स्पष्ट बुझियो । सशंकित, आश्चर्यचकित र भयभीत भएर उभिरहेका बेला तिनीहरूले विश्वास गर्नै गाह्र, अचम्म र अपूर्वको दृष्य देखे । एउटा पुरुषको आकृति इनारबाट निस्क्यो । चन्द्रकिरणको उज्यालोमा आकृति प्रशिक्षकको भएको ठम्याउन तिनीहरूलाई गाह्रो भएन । क्षणभरपछि एउटा स्त्री आकृति पनि त्यसरी नै इनारबाट निस्क्यो । त्यसको लगत्तै तानपुरा बोकेको एउटा स्त्रीआकृति पनि त्यसरी नै निस्क्यो । पछिल्ला दुई आकृतिमा एक राजकुमारीको र अर्को परिचारिकाको भएको ठम्याउन पनि तिनीहरूलाई गाह्रो भएन । दयाशंकर र उनकी पत्नी हतप्रभ भएर यथास्थानमै उभिरहे ।

जमीनमा टेक्नेवित्तिकै आकृतिहरूले भौतिक रूप धारण गरे । तीनै जना इनारनजीकैको घाँसेमैदानमा बसे । यताउति कतै नहेरी थोरै बेर मात्रको विलम्ब गरी प्रशिक्षक र राजकुमारीले युगल शास्त्रीय गायन प्रारम्भ गरे । परिचारिकाले तानपुरामा संगत दिइन् । स्थिति भयावह नदेखिएकोले दयाशंकर र उनकी पत्नीको भय हट्यो । संगीतको आवाजले हुन सक्थ्यो, तिनीहरूकी छोरीको निद्रा टुट्यो । सम्मोहित तर सुधबुध अवस्थामै तिनी बाहिर निस्किन् । महलको पेटीमा बसेर तीनै जनाले संगीत सुने । युगल–गायनको अवधि एक घण्टाको रह्यो । त्यसपछि क्षणभर मात्रको विलम्ब गरी तीनै जनाले जसरी बाहिर निस्केका थिए त्यसरी नै इनारभित्र प्रवेश गरे, पहिले प्रशिक्षक, अनि राजकुमारी र अन्त्यमा तानपुरा बोकेर परिचारिका ।

बिहान भएपछि दयाशंकर शहरमा गए र मेरो गुरुलाई एक्लै भेटी सम्पूर्ण वृतान्त सविस्तार बताए । गुरु आश्चर्यचकित हुनुभो तर विश्वास गर्नुभो उहाँले । दयाशंकरलाई उहाँले यो कुरा गोप्य राख्न भन्नुभो । अरू कुनै दिन त्यसरी गायन भए आएर बताउन पनि उहाँले दयाशंकरलाई भन्नुभो । तर गायन अरू दिन भएन । गायन अर्को वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन हुन सक्ने तिनीहरूले अनुमान गरे र त्यो दिनको प्रतीक्षामा रहे । अहिलेसम्म हजुरलाई मैले जे बताएको थिएँ, ती सबै गुरुबाट सुनेको हूँ । के हजुरलाई मेरो कुराको विश्वास लाग्छ ?

राघवजीले प्रश्न सोधे मात्रै, जवाफ पर्खेनन् । मलाई मुख बाएर अवाक् अवस्थामा रहेको देखेर उनलाई रमाइलो लागेको हुनुपर्छ । मलाई परेको प्रभावको मात्रा जाँची प्रफुल्ल भएर अझ उत्साहित भई उनले बयान जारी राखे— दयाशंकरको भनाइको सत्यता जाँच्न पनि हुनसक्छ र कौतूहलबस पनि हुनसक्छ, अर्को वर्ष भाद्रशुक्ल पूर्णिमाको दिन बेलुकी गुरु महलमा जानुभो । मध्यरात हुनु केही बेरअगाडि नै गुरु र दयाशंकरको परिवार सचेत भएर महलबाहिर प्रतीक्षारत भई पेटीमा बसे । तिनीहरूलाई धेरै बेर पर्खनुपरेन । ठीक मध्यराति इनारभित्रबाट चलमल र ध्वनित आवाज निस्केको तिनीहरूले सुने । क्षणभरपछि गएको वर्षमा जस्तै एक–एक गरी पहिले प्रशिक्षक अनि राजकुमारी र अन्त्यमा तानपुरा बोकेकी परिचारिकाका आकृति इनारबाट निस्के र धमाधम जमीनमा टेक्दै भौतिक रूप धारण गरे ।

यताउति कतै नहेरी गत बर्षमा जस्तै तिनीहरू इनारनजीकै घाँसेमैदानमा बसे । त्यसपछि विलम्ब नगरी गत वर्षमा जस्तै नै प्रशिक्षक र राजकुमारीले युगल शास्त्रीय गान प्रारम्भ गरे । गुरुलाई के सुर चल्यो कुन्नि, उहाँले दयाशंकरलाई तालिम कक्षमा गई तबला ल्याउन अह्राउनुभो । दयाशंकरले पनि आनाकानी नगरी तबला ल्याइदिए । तबला लिएर गुरु तिनीहरूदेखि केही मात्र पर बसे र गायनसँग मिल्ने तालमा संगत दिए । गायन एक घण्टाजति पछि समाप्त भयो । त्यसपछि गत वर्षमा जस्तै लामबद्ध भएर गायनटोलीका तीनै जनाले इनारभित्र प्रवेश गरे ।

त्यो रात महलमा बिताएर गुरु अर्को दिन मात्र आफ्नो घर शहरमा फर्कनुभो । भाद्रशुक्ल पूर्णिमाको दिन राति मात्र त्यस्तो युगल–गायन हुने होला भन्ने गुरूको अनुमान सत्य साबित भयो । गुरुले त्यसको अर्को वर्षमा पनि त्यही तिथिमा गई त्यसरी युगल–गायन भएको बेलामा तबलामा संगीत दिनुभएको रहेछ । त्यो वर्ष म कामविशेषले दिल्ली गएको थिएँ । मलाई गुरुसँग भलाकुसारी गर्ने मन भयो र दिल्लीबाट सरासर ग्वालियर गएँ । त्यसै अवसरमा हो मैले हजुरलाई बताएको सबै वृतान्त गुरुबाट सुनेको । उहाँले पनि आफूलाई थाहा नभएको सबै दयाशंकरबाट सुन्नुभएको रहेछ । गुरुले मलाई बताउनुभएको मात्र होइन, उहाँसँग गई त्यो अपूर्व दृष्य हेर्न आग्रह पनि गर्नुभो । गुरुको आग्रह स्वीकार गरी त्यसैअनुसार त्यसको पनि अर्को वर्ष म ग्वालियरमा गुरुकहाँ पुगेँ ।

मैले नहेरिनछाड्ने अठोट गरिसकेको थिएँ । मेरो अठोट मेरो मनस्थितिको परिणाम थियो । सम्भवतः गुरुले आग्रह नगर्नुभएको भए मैले आफैँले सँगै लैजान निवेदन गर्थेँ होला । म आफ्नै आँखाले हेरी तथ्यलाई प्रमाणित नै गर्न चाहन्थेँ । हामीहरू निर्धारित तिथिमा साँझतिरै महलमा पुग्यौँ । दयाशंकर र उनको परिवारसँग चिनापर्ची भयो । गुरुको आगमन हुनेछ भन्ने तिनीहरूलाई थाहा भएको बुझियो । मेरो आगमन भने तिनीहरूका लागि अप्रत्याशित थियो । त्यसो भएपनि अतिथि सत्कारको म बराबर भागिदार बनेँ । सबैले एकैसाथ एकै समयमा बेलुकीको भोजन गर्यौँ । भोजनपश्चात् दयाशंकरले हामीलाई उनको कोठामा लगे । हामीबीच संगीतका अतिरिक्त अन्य विभिन्न विषयमा कुराकानी भयो । दयाशंकरलाई संगीतमा ठूलो रुचि रहेको बुझियो ।

कुराकानीको सिलसिलामा उनले राजा साहेबको परिवारको बारेमा पनि केही बताए । राजकुमारीले उनलाई र उनकी पत्नीलाई आमा–बाबुलाई जस्तै माया र आदर गर्दिरहिछन् र बोली–वचनमा पनि आदरभाव राखेर बोल्दिरहिछन् । तिनीहरूले पनि राजकुमारीलाई शिष्टाचारको परिधिभित्रै रही छोरीलाई जस्तै माया र व्यवहार गर्दा रहेछन् ।

यसैको सन्दर्भमा दयाशंकरले एउटा गजबको कुरा सुनाए । कुरा गत वर्षको भाद्रशुक्ल पूर्णिमाकै दिनको थियो । गायनको अवधिभरि आँखाभरि आँसु गरेर सुनिरहने तिनकी पत्नीले गायनको समाप्तिपछि राजकुमारीले इनारमा प्रवेश गर्न लागेको बेला ठूलो स्वरले ‘छोरी’ भनेर बोलाएकी रहिछन् । तर राजकुमारीबाट कुनै प्रतिक्रिया निस्केन ।

तिनले आँखा उठाएरसमेत हेरिनन् र प्रशिक्षकको पछि लागेर इनारभित्र प्रवेश गरिन् । मध्यरात हुनु केही क्षणअगावै हामीबाहिर निस्क्यौँ र लहरै पेटीमा बस्यौँ । गुरु तबला लिएर तयार भई बसेका थिए । क्षण नजीकिँदै गएको अनुपातमा मेरो मुटुको चाल बढिरहेको थियो । हामी सबै चुपचाप र सावधान थियौँ । ठीक मध्यराति इनारभित्र चलमल भएको र त्यसपछि भित्रबाटै ध्वनित आवाज निस्केको सुन्यौँ । क्षणभरपछि इनारको बाहिरी घेराबाट एउटा सीधा र धुमिल आकृति बाहिर निस्केको देखापर्‍यो । आकृतिले जमीनमा टेक्नेबित्तिकै भौतिकरूप धारण गर्यो । उनी अधबैँसे पुरुष थिए र प्रशिक्षक उनी नै हुनुपर्ने मैले अनुमान गरेँ । त्यसपछि त्यसै गरी दुइटा आकृति निस्के र जमीनमा टेकी त्यसरी नै भौतिक रूप धारण गरे । ती दुईमा एउटी राजकुमारी र तानपुरा बोकेकीले अर्की परिचारिका हुनुपर्ने मैले अनुमान गरेँ । वास्तवमै मेरो अनुमान सही निक्ल्यो ।

तिनीहरू यसरी देखापरे, मानौँ सीधा उभिरहेका तिनीहरूलाई कुनै अदृष्य हातले उचालेर इनारभित्रबाट निकाली बाहिर जमीनमा टेकाएका थिए । प्रशिक्षकले कमिज, पाइण्ट र कोट लगाएका थिए । राजकुमारी र परिचारिका सामान्य ब्लाउज र साडीको पहिरनमा थिए । तीनै जनाले घाँसे मैदानमा आआफ्नो स्थान ग्रहण गरे । एकाएक गुरूले तबला लिएर उठी तिनीहरूदेखि केही मात्र पर बसे । राजकुमारी र प्रशिक्षकको युगल–गायन शुरू भयो । म अहिले पनि सम्झन्छु, तिनीहरूले राग विहाग गाएका थिए । मलाई रागको पनि थोर–बहुत ज्ञान छ । युगल–गायनमा गुरुले तबलामा र परिचारिकाले तानपुरामा संगत दिए । सम्मोहित भएर सुमधुर संगीतको आनन्द लिँदै गर्दा मलाई यस्तो लाग्यो, मानौँ म एउटा संगीतको कार्यक्रममा शास्त्रीय संगीत सुन्दैछु ।

मलाई आश्चर्य लागेको अर्को केमा भने मैले सुनेको थिएँ, मृतात्माको अवतरण हुने बेलामा केही असामान्य संकेतहरू अगावै देखापर्छन् । बेस्सरी हावाहुरी चल्छ । नजीकै कतै कुकुर रोएको, जोडले कराएको सुनिन्छ । कतैबाट सुट्ट बिरालो आएर भागेको देखापर्छ । बास बसेको रूखबाट कोलाहल गर्दै कागहरू माथि–माथि उड्छन् । वातावरण भयावह र असजिलो भएको प्रतीत हुन्छ । अहँ, मलाई त्यसबेला त्यहाँ त्यस्तो केही अनुभूत भएन । त्यस्तै एक घण्टापछि गायन समाप्त भयो । प्रशिक्षक, राजकुमारी र तानपुरा बोकेर परिचारिकाले जसरी निस्केका थिए त्यसरी नै इनारभित्र प्रवेश गरे ।

हामी दयाशंकरको कोठामा आयौँ । हामीबीच संगीतको विषयमा कुराकानी भयो । दयाशंकरलाई संगीतमा ठूलो रुचि रहेछ । गुरुलाई यो त थाहा भइसकेकै हुनुपथ्र्यो तर ग्वालियर शहरका ठूला–ठूला घरानाका संगीतकारहरूका बारेमा बताएर दयाशंकरले उहाँलाई आश्चर्यमा पारे । रातको दुई बजिसकेको थियो । दयाशंकरकी पत्नीले गुरुलाई र मलाई सुत्ने प्रबन्ध मिलाई दिइन्, एउटै कोठामा ।

मेरो एउटा कस्तो बानी भने राति जति बेला सुते पनि बिहान पाँच बजेतिर ब्युँझन्छु । त्यहाँ पनि त्यस्तै भयो । स्नानादि सिध्याएर म बाहिर गई यताउति डुलेँ । केही परको एउटा बस्तीमा पुगी फर्केँ । बस्ती त्यति ठूलो थिएन । तर खुद्रा सामान बेच्ने केही पसलहरू थिए । महलमा बस्नेहरू किनमेल गर्न त्यहाँ आउने हुनुपर्थ्र्यो । महलको कम्पाउण्डभित्र पसी विगतमा परिचारिकाको हेरचाह पाएको बगैँचामा त्यहाँ निर्मित एउटा सिमेण्टको डेस्कमा बसेँ । थोरै मात्र पर मेरो अगाडि वास्तुकलाको नमूना झल्कने गरी निर्माण गरिएको सुन्दर महल खडा थियो । कुनै बेला कति चहल–पहल हुन्थ्यो होला महलमा । विभिन्न कारणबस मानिसहरूको आवत–जावत भइरहन्थ्यो होला । महलमा काम गर्न राखिएकाहरू खुशी र सन्तुष्ट थिए होलान् । राजकुमारीको कृपादृष्टि पाएकी परिचारिकाको हेरचाहमा बगैँचा कति सुन्दर थियो होला । महलको भव्यता र चहल–पहल सुनसानमा परिणत भएको कल्पनासम्म पनि पीडादायी थियो ।

घामको पहेँलो किरण जमीनमा परिसकेको थियो । म महलको पछाडितिर गएँ । इनारले मेरो दृष्टि खिँच्यो । बिस्तारै गएर मैले इनारभित्रको पानीमा नियालेँ । इनार गहिरो थियो र पानी कालो थियो । जलचरमा परिणत भइसकेका प्रशिक्षक, राजकुमारी र परिचारिकाले पानीको सतहमा उत्रेर मलाई सम्मोहित तुल्याई तल हाम फाल्न प्रेरित गर्ने हो कि भन्ने भय मेरो मनमा उत्पन्न भयो । हड्बडाएर म तुरन्तै फर्केँ र महलभित्र पसेँ ।

दयाशंकरकी पत्नीले त्यति चाँडै चिया–नास्ताको प्रबन्ध गरिसकेकी रहिछन् । गुरु मस्त निद्रामै हुनुहुन्थ्यो । उहाँलाई उठाउनु हामीलाई उचित लागेन । म एक्लैले तिनीहरूसँग नास्ता गरेँ । नौ बजेतिर बल्ल गुरुको जीउ चलायमान भयो । बिहानको खाना खाइसिध्याउँदा एघार बज्यो । प्रस्थान गर्नुअघि मैले दयाशंकरसमक्ष राजकुमारीले संगीतको तालिम लिने कक्ष हेर्ने इच्छा व्यक्त गरेँ । उनले कक्ष देखाए । कोठा साधारण तवरले सजाइएको थियो । त्यहाँ मैले एक जोर तबलाको अतिरिक्त हार्मोनियम पनि देखेँ । मैले दयाशंकरलाई भनेँ— “हार्मोनियम तपाईं राम्रो बजाउनुहुन्छ होला ।”

विनीत भएर उनले भने— “राम्रो त होइन तर बजाउँछु अलि–अलि ।”

गुरुले उनको जवाफमा आफ्नो थप्नुभो —“राम्रै बजाउँछ ऊ । मलाई चित्त बुझ्छ ।” “सबै गुरुहरूजस्ताको आशीर्वाद र कृपा हो ।” अझै विनीत भएर हात जोडी दयाशंकरले भने । मैले कुरा बुझेँ । उनले हार्मोनियम बजाएको गुरुलाई जस्तै प्रशिक्षक र राजकुमारीलाई पनि चित्त बुझ्दो भएको हुँदो हो । अन्यथा राजकुमारीले आफ्ना पिताजी राजा साहेबलाई हार्मोनियम बजाउने अर्कै एक जनाको बन्दोबस्त गर्न निवेदन गर्थिन् होला ।

दिउँसोको खाजापछि मात्र महलबाट प्रस्थान गर्न दयाशंकरले गरेको अनुरोध बाध्य भएर हामीले अस्वीकार गर्नुपर्यो किनभने त्यही दिन साँझको रेलमा मलाई दिल्ली प्रस्थान गर्नु थियो । दिल्लीमा दुई दिन बसी किनमेलको काम सकाएर म रेलमार्ग हुँदै जनकपुर पुगेँ र त्यही दिन आफ्नो घर जलेश्वरमा गएँ । त्यसको अर्का वर्ष पनि ग्वालियर गई गुरुसँगै बसेर त्यो अपूर्व दृष्य हेर्ने मेरो इच्छा थियो । तर मेरो त्यो इच्छा पूरा भएन । जेठी छोरी र छोराको विवाह मंसिरमा हुने तय भयो र त्यसको तयारीमा जुट्नुपर्ने भयो । त्यसको अर्को वर्ष म बिरामी भएँ र जान पाइनँ । तर त्यसको पनि अर्को वर्षमा भने म ग्वालियर गएँ र भाद्रशुक्ल पूर्णिमाको दिन दिउँसो गुरुको घरमा गएँ । उनी प्रत्येक वर्ष पूर्णिमाको त्यो दिन नबिराईकन गई प्रशिक्षक र राजकुमारीको मध्यरात्रिकालीन युगल–गायनमा तबलामा संगत दिन जाने गर्नुभएको रहेछ ।

त्यो गुरुले मलाई म एक्लै भएको मौका पारी भन्नुभएको थियो । युगल–गायनसँग सम्बन्धित कुनै पनि कुरा उहाँले अरूलाई बताउनुभएको रहेनछ । सानो थियो गुरुको परिवार— दुई छोरा र एक छोरी । एक पटक उहाँकी छोरीले महलमा जानुपरेको कारण सोधेकी थिइन् र जवाफमा उहाँले महलमा भाद्रशुक्ल पूर्णिमाको दिन साँझ भजन–कीर्तन हुने भएकोले तबला बजाउन जानुपरेको भन्नुभएको थियो । यो पनि मलाई गुरुले नै बताउनुभएको थियो ।

झूटो नै भए पनि उहाँले ठीकै भन्नुभो भन्ने मलाई लाग्छ । सत्य–तथ्य बताउनुभएको भए उहाँको परिवारले अवश्य पनि उहाँलाई त्यहाँ जान दिँदैनथ्यो होला । मैले पनि यस विषयमा आफ्नो परिवारलाई र बाहिरका अरू कसैलाई पनि बताएको छैन । बताए पनि कसैले विश्वास गर्लाजस्तो मलाई लाग्दैन । बताउँदा उल्टै मेरो मानसिक अवस्थामा शंका गरिएलाभन्ने लागेर पनि मैले यो कुरालाई आफैंमै सीमित राखेको हूँ । किन र के भएर अहिले मलाई यो कुरा तपाईंलाई बताउन मन लागेको हो, म भन्न सक्दिनँ । दयाशंकरले पनि यस विषयमा बाहिरकाहरू कसैलाई बताएका रहेनछन् र नबताउन आफ्नी पत्नी र छोरीलाइ भनेका रहेछन् । त्यसो गर्नुको कारण उनले पनि मैलेजस्तै सम्झेको भएर हुँदो हो ।

यति बताइसकेर राघवजीले तनिक मुस्कानसहित मेरो अनुहार नियालेर हेरी भने—“हजुरलाई मेरो मानसिक अवस्थामा त कुनै शंका छैन, हगि ?” रमाएर हाँस्दै मैले भनेँ— “छैन, छैन, म कसरी यस्तो सोच्न सक्थेँ ?”

त्यसरी नै हाँस्दै उनले भने— “उसो भए ठीकै छ । होइन, मैले ठट्टा गरेको । कसो, कसो, मलाई तपाई आत्मीय व्यक्ति भइसकेको भान भयो । जे होस्, अँ, त्यो विषय बताउनुपर्ने अझै बाँकी छ र त्यो अझै रोचक छ ।”

अँ, गुरुसँग मेरो संक्षिप्त भलाकुसारी भयो । मलिन थियो गुरुको अनुहार । उहाँको स्वभाव, व्यवहार र कुरा गर्ने तरिका पनि पहिलेको जस्तो नभएको मलाई भान भयो । उहाँ बरोबर सोचमग्न देखिनुहुन्थ्यो । यदाकदा उहाँको मुखबाट सुस्केरा निस्कन्थ्यो । म पुगेको केही बेरपछिको कुरा हो, उहाँले आफ्ना दुइटै छोरालाई बोलाउनुभो र भन्नुभो— “तिमीहरूले ऋण काढेर भए पनि तिमीहरूकी बहिनीको विवाह राम्रोसँग गरिदिनु । तिमीहरूलाई भिन्न नबस्नु,, मिलेर बस्नु भनेको हो, मान्दैनौ । अब जसो सम्झन्छौ ।” उहाँको कुरा बीचैमा काटेर जेठो छोराले भने— “बालाई आजै, अहिल्यै किन यस्तो कुरा गर्नुपरेको होला । बालाई सञ्चो छैनजस्तो छ । आज दिनभरि घरैमा बस्नुहोस् । राघव अंकल आउनुभएको छ । उहाँसँग गफसफ गरेर दिन काट्नोस् । कहीँ नजानोस् ।”

“होइन, मलाई साँझ भजन–कीर्तन गर्न महलमा जानु छ । राघव त्यसैका लागि त मकहाँ आएको ।”

उनको जेठो छोराको आग्रहको समर्थन गर्दै मैले केही भन्न लागेकै बेला गुरुले भन्नुभो— “राघव, तिमी चुप लाग !” उहाँ आफैँ पनि चुप लाग्नुभो । अरू केही नभनी उहाँका दुइटै छोरा उठेर निस्के । केही बेरपछि उहाँले आफ्नी छोरीलाई बोलाउनुभो र आएपछि आँखाभरि आँसु गरेर भन्नुभो— “तिमीले दुःख पाउने भयौ, छोरी ! दाइहरूसँग झगडा नगर । जे भने पनि सहेर बस । तिम्री आमा जिउँदै भएको भए… । तिम्रो लागि भनेर मैले अलिकति पैसा बचाएर… ।”

बोल्दा–बोल्दै उहाँको कण्ठ अवरुद्ध भयो । आँखाभरि आँसु गरेर उहाँकी छोरीले भनिन्— “बालाई आज के भयो ? किन यस्तो कुरा गर्नुहुन्छ ?” बोल्दा–बोल्दै तिनको पनि कण्ठ अवरुद्ध भयो । तिनी कोठाबाट निस्किन् ।

हिँडेर गए गुरुको घरदेखि महलसम्म पुग्न एक घण्टाजति लाग्छ । त्यो बाटो भएर सार्वजनिक यातायात चल्दैन । साँझ हुनुअगावै गुरुले र मैले महल प्रस्थान गर्ने तरखर गर्यौँ । उहाँका छोराहरू र छोरीले उहाँलाई नजान गरेको अनुनय–विनय फलदायी भएन । “भैहाल्यो गुरु, यो वर्ष नजाऔँ न त,” मैले साहस गरेर भन्न त भनेँ तर उहाँले कहाँ मान्नुहुन्थ्यो र !

“चन्द्रकिरणको उज्यालोमा बाटो हिँड्न हामीलाई गार्हो भएन । हामी सकुशल महलमा पुग्यौँ । दयाशंकरको परिवारले गुरुलाई पर्खिरहेको बुझियो । मलाई पनि देखेर तिनीहरू खुशी भए । तिनीहरूसँगै हामीले बेलुकीको खाना खायौँ । त्यसपछि दयाशंकरको कोठामा गई मध्यरातको त्यो समयको प्रतीक्षामा रह्यौँ ।

मध्यरात हुनुभन्दा केही बेरअगावै हामी बाहिर निस्क्यौँ र लहरै पेटीमा बस्यौँ । तबला लिएर गुरु आफ्नो कामका लागि तयार भएर रहनुभएको थियो । मध्यरात हुने बित्तिकै इनारभित्रबाट चलमल आवाज र अरू केही ध्वनित आवाज आएको सुनियो । क्षणभरपछि गत वर्षहरूमा जस्तै एकपछि अर्को गर्दै तीन धुमिल आकृतिहरू इनारबाट सीधा निस्के र जमिनमा टेक्नेबित्तिकै भौतिक रूप धारण गरे ।

मैले पहिलो पटक देखेकै पहिरनमा थिए तिनीहरू । पहिलो पटक देखेको बेलामा जस्तै अवतरण हुनेमा पहिले प्रशिक्षक, उनीपछि राजकुमारी र अन्त्यमा तानपुरा बोकेकी परिचारिका थिए । तीन जना इनारनजीकै घाँसे मैदानमा बसे । तबला लिएर गई गुरु तिनीहरूदेखि थोरै मात्र पर बसे ।

प्रशिक्षक र राजकुमारीको युगल–गायन शुरू भयो । गुरुले तबलामा संगत दिनुभो । त्यसबेला तिनीहरूले गाएको राग ध्रुपद थियो, म राम्ररी सम्झन्छु । म गायनको सम्मोहनमा समाहित भएँ । दयाशंकर, उनकी पत्नी र उनकी छोरीलाई पनि त्यस्तै भएको हुँदो हो । एक घण्टापछि गायन समाप्त भयो ।

अचानक मैले प्रशिक्षकले गुरुसँग आँखा जुधाएको देखेँ । आँखाको भाषामा दुई जनाको कुराकानी भएको हुनुपर्ने मैले अनुमान गरेँ । मलाई आश्चर्य लाग्यो तर निको लागेन । जे होस्, क्षणभर मात्रको विलम्ब गरी प्रशिक्षक, राजकुमारी र परिचारिकाले एकपछि अर्को गर्दै इनारभित्र प्रवेश गरे । त्यसपछि गजबै भयो । इनारमा हाम फाल्नुभो मेरो गुरुले तबला हातमा लिएर । हाम फाल्नुभो इनारमा मेरो गुरुले ।”

यति भनी राघवजी चुप लागे । उनका आँखा आँसुको मसिनो पत्रले ढाकिएका थिए । केही बेरपछि मात्र उनले बोल्न सके । एउटा लामो सुस्केरा हालेर उनले भने—”निमेषभरमै त्यो कसरी भयो भने हामी केही परै थियौँ र गुरुलाई रोक्ने समय पनि भएन । मुख्य कुरा के भने हाम्रो होसहवास नै गुम भएको थियो । सुधबुध फिरेपछि चिच्याएर गई मैले इनारभित्र हेरेँ । इनारको कालो, डरलाग्दो पानीमा केवल तरंग पैदा भएको देखियो र हेर्दा–हेर्दै त्यो पनि देखिन छाड्यो । दयाशंकरकी पत्नी र उनकी छोरी एकले अर्कोलाई समात्दै डरले कामिरहेका थिए ।

हामी माथि गयौँ । रातभरि म सुत्न सकिनँ । छर्लंग बित्यो रात । बिहान सबेरै दयाशंकर र म गुरुको घरमा गयौं । हामीले गुरुको परिवारलाई इनारबाट निस्केर प्रशिक्षक र राजकुमारीले युगल राग–गायन गर्ने विषय केही नभनी केवल गुरुले इनारमा हाम फालेर प्राण त्याग गरेको कुरा बतायौं । हामीले छलफल गरी त्यति मात्र बताउने सल्लाह गरेका थियोँ । घरमा रुवाबासी मच्चियो । बाहिरका थुप्रै मानिसहरू जम्मा भए । सबै शोकग्रस्त भए । हामीसँग सोध्नुपर्ने आवश्यक सवालहरू सोधिए र हामीले पनि तयारी जवाफ दियौँ । गुरुको परिवारले हामीप्रति शंका गर्ला कि भन्ने हामीलाई डर थियो तर त्यसो भएन । केही अनिष्टको शंका परिवारजनले हिजै गरिसकेको हुनुपर्ने मैले अनुमान गरेँ । हामीप्रति केही आशंका नगरिएको कारण त्यो नै हुनुपर्ने अनुमान पनि मैले गरेँ । दिउँसोतिर गुरुका दुई छोरा र केही मानिस दयाशंकरसँग महलतर्फ लागे । एक दिन ग्वालियरमै एउटा होटलमा बसेर अर्को दिन साँझ घर फर्कन म रेल स्टेशन गएँ । म आउँदा पनि रेलमार्ग भएरै आएको थिएँ र फर्कँदा पनि रेलमार्ग नै भएर फर्केँ । कति बज्यो ? अहो ! दश पन्ध्र बजिसकेको रहेछ । अब जानुपर्ला ।”

जानुपर्ला भने पनि उनी उठेनन् । उनले भन्नुपर्ने केही बाँकी रहेको हुनुपर्ने मैले अनुमान गरेँ । नभन्दै उनले भने— “म भोलि निगमको जहाजबाट दिल्ली जाँदैछुँ । त्यहाँबाट रेलमार्ग हुँदै ग्वालियर जाने छु । त्यहाँ जानुको एउटै कारण त्यस्तो अपूर्व युगल राग–गायन सुन्न महलमा जानु हो । आशा गर्छु, राग–गायन प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाको दिन अटूटरूपमा भइरहेकाले यो वर्ष पनि हुनेछ । आशा गर्छु, गायन हुदा तबलामा संगीत दिन गुरुको पनि अवश्य अवतरण हुनेछ । गुरुको दर्शन गर्ने इच्छा छ । विलम्ब नगरी अर्को दिन ग्वालियरबाट रेलमार्ग हुँदै जनकपुरसम्म आउने छु र त्यहाँबाट जलेश्वर जाने छु । धेरै दिन घर छाड्ने स्थिति छैन । घरमा छोरा र बुहारी मात्र छन् ।

मेरो कपडाको पसल छ । मेरो दिन व्यस्ततामा बित्छ । तर जे भए पनि मैले जाने अठोट गरिसकेको छु । दिल्लीबाट कहाँ र किन जाने हो त्यो मैले परिवारजनलाई बताइनँ । बताएँ भने तिनीहरूले मलाई जान नदेलान् कि भन्ने मलाई शंका छ ।”

राघवजीले जे बताएका थिए, त्यसको सत्यता जाँच्ने प्रवल इच्छा अकस्मात् मेरो मनमा उत्पन्न भयो । समय थोरै बाँकी थियो । संकोचका साथ विनम्र भएर मैले भनेँ— “यदि हजुरलाई आपत्ति छैन र जहाजको टिकट मिल्यो भने पनि म हजुरसँगै जान्छु । तपाईंसँगै ग्वालियर पुगी महलमा गएर त्यो अपूर्व दृष्य हेर्ने मलाई पनि इच्छा भयो ।”

एकछिन सोचेर मेरो अनुहार जाँची उनले भने— “हुन्छ, यदि तपाईंको त्यस्तै इच्छा छ भने सँगै जाउँला र हेरौँला । मलाई केही आपत्ति छैन । केवल तपाईंले पनि मैले बताएको कुरा र त्यहाँ जे देख्नुहुनेछ, त्यो मैलेजस्तै अरू कसैलाई नबताउनुहोला । यस्ता कुरा कसैलाई बताउनु राम्रो पनि होइन ।” म राघवजी र उनकी छोरी राजेश्वरीलाई गाडीमा राघवजीकी जेठी छोरीको नयाँ बजारस्थित घरमा पुर्याई फर्केँ । गाडी मेरो होइन, मर्मत गर्न गाडीधनीले कारखानामा ल्याएको थियो । मेरो गाडी मर्मत गर्ने कारखाना छ । गाडी मर्मत गर्न सिद्धिएको धेरै दिन भइसक्यो । गाडीधनीलाई त्यसको खबर पनि गरेको थिएँ । खै, किन हो कुन्नि, लिन आएन । ठीकै छ, लिन नआएसम्म मैले नै आफ्नो काममा प्रयोग गरिरहनुपर्ला । मेरो पनि राघवजीको जस्तै बानी छ । राति जति ढिलो सुते पनि बिहान पाँच बजेतिर निद्रा खुल्छ । त्यसो त हिजो निद्राले छोप्दा नै रातको एक बजिसकेको थियो । राघवजीले बताएका कुरा धेरै बेर दिमागको मैदानमा खेलिरह्यो । आफ्नो नयाँ भावी योजनाबारेको सोचले पनि केही समय लियो । स्नानादि सिध्याएर सर्वप्रथम मैले सुरेशको फोन नम्बर डायल गरेँ र सम्पर्क भएपछि भनेँ— “सुरेश, मलाई आजै दिल्ली नगई नहुने काम पर्यो ! निगमको एउटा आतेजातेको टिकट मिलाइदिन सक्छौ के ? यदि सक्छौ भने म दिउँसो लिन आउँछु ।”

“सक्छु, हवस् भिनाजु ! अफिस पुग्नासाथ म हेरेर टिकट तयार पारी राख्छु । हतार नगर्नुभए पनि हुन्छ । टिकट केही बाँकी छन् ।” सुरेशले भन्यो । “ठीक छ । बाँकी कुरा पछि गरौँला । मलाई अहिले तुरन्तै एक ठाउँ जाने काम छ ।” यति भनी मैले फोन राखिदिएँ र सोफामा बसेर सोचमग्न भएँ । सुरेश मेरी श्रीमतीको भाइ हो । ऊ दरबारमार्गस्थित एउटा ट्राभल एजेन्सीमा काम गर्छ ।

सधैँको जस्तै बिहानको चिया लिएर मेरी श्रीमती कोठामा आई । चियाको कप कफी–टेबिलमा राखेर जानलाग्दा मैले भनेँ —“आज बेलुकी कामविशेषले म दिल्ली जाँदै छु । चार–पाँच दिनपछि फर्कन्छु ।”

किन, के काम त्यस्तो भनेर श्रीमतीले सोध्ने त भइहालिन् । छोट्करी जवाफ दिँदै मेले भनेँ— “केही औजारहरू, पाटपुर्जाहरू र एउटा वाटरपम्प जति सक्यो चाँडो किन्नुपर्ने भएको छ । हिजो हामीकहाँ आउने मान्छेसँग जाँदै छु ।”

चिया पिउँदै गर्दा सुमित्रा कोठामा आई । ऊ हाम्रो कुरा सुन्न पुगेकीले कौतूहलबस आएकी हुनुपर्छ । मैले भन्नुपर्ने कुरा श्रीमतीले भनी— “आज बेलुकी तिम्रो बा दिल्ली जानुहुन्छ, हिजो आउने मान्छेसँग ।” सुमित्रालाई पनि किन, के काम इत्यादि सोध्नु थियो, सोधी । मैले उसलाई पनि श्रीमतीलाई दिएकै जवाफ दिएँ । चिया पिइसिध्याएर उठ्दै मैले सुनाएँ— “सुमी, हिजो आउने राघव अंकललाई अहिले नै नभनिनहुने एउटा कुरा छ ! म नयाँ बजार जान्छु लौ ।”

“फोनमै भने पुग्ने भए मसँग राजेश्वरी दिदीकी दिदीको घरको फोन नम्बर छ । हिजो राजेश्वरी दिदीले टिपाउनु भएको थियो, हुन्छ ?” सुमित्राले भनी । एकछिन सोचेर मैले भनेँ— “हुन्छ, अनि तिमीलाई किन चाहिएको नि त्यहाँको फोन नम्बर ?”

“राजेश्वरी दिदीले आज फोन गर्नु भन्नुभएको थियो ।” यति भनेर सुमी गई र एकछिनपछि एक टुक्रा कागतमा फोन नम्बर लेखेर ल्याई मलाई दिई । तिनीहरू कोठामा भएको बेलामा राघवजीसँग कुरा गर्न मैले चाहिनँ । मेरी श्रीमतीले र सुमित्राले सम्भवतः मेरो मनसाय बुझे । तिनीहरू धेरै बेर नबसी निस्के र मलाई कुरा गर्न सजिलो पारिदिए ।

सुमित्राले दिएको कागतको टुक्रा हेरी त्यसमा लेखिएको फोन नम्बर मैले डायल गरेँ । ‘हैलो’ भनेको सुनियो । स्वर स्वास्नीमान्छेको थियो । बोल्ने राजेश्वरी होलिन् भन्ने मैले अनुमान गरेको थिएँ, ठ्याक्कै मिल्यो । मैले भनें— “राजेश्वरी, म तिम्रो हिजोको अंकल बोलेको ! स्वरले चिन्यौ होला । राघवजी उठिसक्नुभएको हुनुपर्छ । एकचोटि बोलाइदेऊ, लौ । उहाँलाई एउटा खबर सुनाउनु छ ।”

”नमस्ते अंकल ! हुन्छ, म अहिले बोलाइदिन्छु । एकछिन होल्ड गरिस्योस् ।” राजेश्वरीले भनिन् । तिनले त्यहाँबाटै भनेको सुनियो, “बा, तपाईको फोन छ, हिजोको अंकलको !’ मैले धेरै बेर कुर्नु परेन । “हैलो, हजुर नमस्कार !” राघवजीले भनेको सुनियो । मैले भनेँ —“नमस्कार, नमस्कार, राघवजी ! मेरो पनि आजै निगमको फ्लाइटबाट दिल्ली जाने टिकट मिल्यो । हामी सँगै हुने भयौँ । हजुरलाई लिन म ठीक छ बजे आउँछु । तयार भएर बसिराख्नुहोला । बाँकी कुरा पछि गरौँला ।”

“खुशी लाग्यो, राम्रो भयो । हामी सँगै उड्ने भयौँ । हवस्, धन्यवाद ! अनि  हुन्छ, बाँकी कुरा पछि गरौँला ।” यति भनेर उनले फोन राखे ।

अनायास मलाई आफ्नो जीउ हलुका भएको अनुभूत भयो । एउटा फोन मलाई अझै गर्नु थियो । त्यो मैले तत्काल गरेँ । सम्पर्क भएपछि मैले भनेँ— “श्याम, मलाई आज बेलुकी दिल्ली जानुछ । चार–पाँच दिनपछि फर्कनेछु । कारखाना राम्ररी चलाउनु । विलिस जीपको डिफरेन्सियल क्राउन र अरू केही पाटपूर्जा किनेर ल्याउनेछु । तिमीले सर्भिसिङ गर्ने वाटर पम्प राम्रोसँग काम गर्दैन भनेका थियौ । गएको बेलामा त्यो पनि किनेर ल्याउन सकिन्छ कि हेर्छु । तिमीले मलाई र अर्को एक जनालाई गाडीमा एअरपोर्टसम्म पुर्याउनुपर्यो । मकहाँ ठीक पाँच बजे पुग ।”

“हवस्” भनेर श्यामले फोन राख्यो । ऊ मेरो कारखानाको हेड मेकानिक हो, बडो असल मान्छे । उसकै रेखदेखमा त चलिरहेको छ मेरो त्यत्रो कारखाना । मेरो अरू आमदानी छैन । त्यत्रो पैसा खर्च गरेर मैले आफ्नो छोरालाई बोर्डिङमा राखेर पढाइराखेको छु । सुरेशले टिकट घरमै ल्याइदियो । बाहिर जाने काम केही नभएकोले एअरपोर्ट जाने बेला नभएसम्म मैले घरमै बस्ने विचार गरेँ । दिउँसो श्यामले फोन गर्यो । दुर्घटनाग्रस्त एउटा गाडी मर्मत गर्न कारखानामा ल्याइएको थियो, सर्भे गर्न वीमा कम्पनीले सर्भेयर पठाएको रहेछ । सर्भेयरलाई सहयोग गर्न श्यामलाई फोनबाटै जवाफ दिएर म आनन्दसँग पन्छिएँ । मैले एक्कासि दिल्ली जान खोजेकोले होला, प्रायशः उज्यालो रहने मेरी श्रीमतीको अनुहार अँध्यारो थियो । अँ, उसलाई आज साँझ दाँत देखाउन शान्ति फर्माको क्लिनिकमा लाने भनेर हिजो भनेको थिएँ, लान नसकिने भयो, त्यसैले पो हो कि ! सुमित्राको अनुहार पनि उज्यालो थिएन । हुन सक्छ, हिजो राघवजीसँग त्यस्तो लामो के कुराकानी भएको थियो, त्यो ऊ जान्न चाहन्छे । अकस्मात् दिल्ली जाने मेरो कार्यक्रम सो कुराकानीकै परिणाम हुनुपर्ने भएको अनुमान उसले गरेको हुनुपर्थ्र्यो । क्याम्पसबाट पनि ऊ चाँडै आई । ठीक पाँच बजे श्याम घरमा आइपुग्यो । एअरपोर्टसम्म सँगै आउन चाहेकी सुमित्रालाई मैले रोकिनँ । हुन सक्छ, ऊ नयाँ बजारमा राजेश्वरीलाई भेट्ने मौकाको फाइदा लिन चाहन्छे । मेरो अनुमान सही निक्ल्यो । राजेश्वरीसँग भेट हुँदा ऊ निकै खुशी देखिई । कम खुशी राजेश्वरी पनि थिइनन् । यस्तो लाग्थ्यो, मानौँ लामो अन्तरालपछि दुई दिदी–बहिनीको भेट भयो । एअरपोर्ट प्रस्थान गर्नुअघि राजेश्वरीकी दिदीले राघवजीलाई र मलाई शुभयात्राको कामनास्वरूप सगुन दिइन् । समय थोरै बाँकी थियो । प्रस्थान गर्न लागेकै बेला राजेश्वरीले एअरपोर्टसम्म सँगै आई हामीलाई बिदाई गर्ने इच्छा व्यक्त गरिन् र गाडीमा बसिन् । सुमित्राले “राजेश्वरी दिदी आज हामीकहाँ नै बस्नुहुन्छ ।” किन भन्नुपरेको होला ?

हामी समयमै एअरपोर्ट पुग्यौँ । हामी सवार भएको जहाज समयमै उड्यो । हामी सकुशल पुग्यौँ दिल्ली । कहाँ बस्ने भनेर सोध्नैलाग्दा राघवजीले टैक्सी रोकेर चालकलाई पहाडगञ्जको अलबेला लज पुर्याउन भने । मैले म दिल्ली आउँदा पहिले–पहिले सधैँ बस्ने गरेको करोलबागस्थित ग्रिन लजमा बस्ने विचार गरेको थिएँ । राघवजी दिल्ली आउँदा जहिले पनि पहारगञ्जतिर बस्ने गरेका रहेछन् । ठीकै छ, त्यहाँबाट रेलस्टेशन टाढा पनि छैन । एक रात दिल्लीमा बिताएर अर्को दिन बिहानै हामी ग्वालियर जाने एक्स्प्रेस रेलमा सवार भयौँ । हामी साँझ पर्नुअगावै ग्वालियर पुग्यौँ ।

राघवजीलाई ग्वालियर शहरको बारेमा धेरै थाहा रहेछ । त्यो शहर शास्त्रीय संगीतको केन्द्र हो भन्ने मात्र मलाई थाहा छ । म पहिलो पटक ग्वालियर पुगेको थिएँ र त्यो मैले उनलाई भनिसकेको थिएँ । उनले मलाई त्यहाँको संगीत एकेडेमी भवन, पुरातात्विक महत्त्वका केही स्थानहरू र केही मन्दिरहरू देखाए । मैले उनलाई तबला सिकाउने गुरुको घर देखाउन आग्रह गरेको थिएँ तर उनले देखाउन चाहेनन् । गुरुको परिवारका कोही भेटे अप्ठेरो स्थिति आउन सक्छ भनेर उनले देखाउन नचाहेको होला भन्ने मैले अनुमान गरेँ । मेरो अनुमान सत्य सावित भयो । हिँड्दै गर्दा उनले भने— “गुरुको अवसानपछि उहाँको परिवारजनसँग मेरो सम्बन्ध राम्रो भएन । त्यसभन्दा पहिले गुरुको परिवारजनले मलाई आफन्तजस्तै सम्झन्थे र त्यसैअनुसार व्यवहार गर्थे । गुरुकी छोरीले मलाई “बुबा !” भनेर सम्बोधन गर्ने गर्थिन् । गुरुले इनारमा हाम फाल्न लाग्दा मैले चाहेको भए उनलाई रोक्न सक्थेँ भन्ने तिनीहरूले सम्झेका थिए कि भन्ने मलाई शंका लाग्छ । समय नभएको सत्य हो, तर इनारमा हाम फाल्न लागेको देख्दा–देख्दै पनि गुरुलाई रोक्ने प्रयाससम्म पनि कमसेकम मैले किन नगरेको हुँला, यो प्रश्न मेरो मनमा अहिलेसम्म तेर्सिएर रहेको छ । तर घटनाको अप्रत्याशित र आकस्मिक प्रकृतिले गर्दा मेरो सुधबुध र होस गुम भएको थियो । यो पनि सत्य हो ।

म केवल मूकदर्शक र हतप्रभ भएर सिनेमा हेरेजस्तै गुरुले रत्तिभर नहड्बडाईकन तबला बोकी सुबिस्तासँग इनारमा हाम फालेको हेरिरहेँ । गुरुलाई रोक्ने प्रयास दया शंकरले पनि त गरेनन । मलाई आश्चर्य लागेको त के मा भने उनको अनुहारमा त्यसबेला सन्तुष्टिको संकेत झल्कने स्मित हाँसो सल्बलाइरहेको थियो । आफ्नी स्वास्नी र छोरी एकले अर्कोलाई समात्दै, सम्हाल्दै, भयले चिच्याउँदै गरेको देख्दा पनि त्यसप्रति उनले किञ्चित चासो लिएनन् र केही परवाह गरेनन् । उनी पूरै होसमा थिए भन्नेमा मलाई यकिन छ । ठीक छ, यदि हजुरलाई गुरुको घर हेर्ने इच्छा नै छ भने म आज होइन, भोलि देखाइदिउँला । घरका मान्छेसँग भेट नहोस् भन्ने चाहेर मात्र हो मैले नदेखाएको ।”

त्यो दिन गुरुको घर नदेखाए पनि उनले तबला सिकेको अवधिभरि आफूले डेरा लिएर बसेको घर देखाइदिए । सूर्यास्त हुन लागेको थियो । झटपट एउटा रेस्टुराँमा बेलुकीको खाना खाएर हामीले महल जाने बाटो समात्यौं ।

पचास मिनेटजति लम्केर हिँडेपछि हामी गन्तव्यनजीकै पुग्यौँ । तर के हो यस्तो ? सायँकालिन गोधूलीको उज्यालोमा देखेअनुसार महलको वास्तविक स्वरूप मैले कल्पना गरेको जस्तो थिएन । महलको बायाँपट्टिको भाग पूरै भत्काइसकिएको थियो । दायाँपट्टिको भागको पनि छाना भत्काइसकिएको थियो । केही पर पुगेपछि अवाक् भएर हामी एकछिन उभिरह्यौँ । त्यसपछि स्थिति बुझ्न अघि बढी तगारो हटाएर हामी कम्पाउण्डभित्र पस्यौँ । गेटनजीकै एउटा टहरा बनाइएको थियो र भित्र चार जना केटाहरू गफ गरिरहेका थिए । हाम्रा प्रश्नहरूका जवाफमा तिनीहरूबाट हामीले के जानकारी पायौं भने महल पूरै भत्काएर एउटा तारे होटलको निर्माण गर्न लागिएको रहेछ ।

केटाहरूले हाम्रो आगमनको कारण जान्न चाहे । त्यो हामीले बताउन चाहेनौँ । हामीहरू महलको पछाडि गयौँ । तिनीहरू हाम्रोपछि लागे । त्यहाँको स्थिति अत्यन्तै निराशाजनक भएको पायौँ । इनार त पुरिइसकिएको रहेछ । माथि फलामका छडहरू राखिएका थिए । त्यहाँका धेरैजसो ठाउँमा बालुवा, गिट्टी, जस्तापाता र अन्य निर्माणका सामग्रीहरू थुपारिएका थिए । राघवजीले केटाहरूलाई इनार पुर्नुको कारण सोधे । निःसन्देह केटाहरूका लागि उनको प्रश्न कुनै महत्त्व र चासोको विषय थिएन । त्यसैअनुसार तिनीहरूले जवाफ दिए— “इञ्जिनियर साहेबले सामान राख्ने ठाउँ बनाउन इनार पुरिदिन भन्नुभो । हामीले पुरिदियौँ ।”

“सामान अगाडि राखे हुन्थ्यो नि ।” राघवजीले भने । राघवजीको यो जिज्ञासाको पनि तिनीहरूले त्यस्तै सोझो जवाफ दिए— “अगाडि राखे बगैँचा बिग्रेला भनेर हो कि किन हो कुन्नि, इञ्जिनियर साहेबले सामान पछाडि नै राख्ने भन्नुभो । हामीले के गर्ने ?”

राघवजीले अन्तिम प्रश्न सोधे— “अनि यहाँ बुढो–बुढो मान्छे एक जना, उनकी स्वास्नी र तिनीहरूकी छोरी बस्थे । तिनीहरू अहिले कहाँ छन् ?”

“बुढो–बुढो मान्छे त हामीले देखेनौँ । हामीले त बहुलाईँजस्ता दुई जना स्वास्नी मान्छे मात्र देख्यौँ । इञ्जिनियर साहेबले तिनीहरूलाई घर भत्काउन लाग्यौँ, अन्तै बस्न जाऊ  भन्नुभो । जति भने पनि तिनीहरू जान मानेनन् । अनि त इञ्जिनियर साहेबले तिनीहरूलाई लखेटेर भगाउनु भन्नुभो । हामीले लखेटेर भगाइदियौँ । अहिले तिनीहरू कहाँ छन्, त्यो हामीलाई थाहा छैन ।”

त्यहाँ बसिरहनुपर्ने केही काम थिएन । हामी फर्क्र्यौँ । त्यो रात ग्वालियरको एउटा होटलमा बसी अर्को दिन हामी दिल्ली फर्क्र्यौँ । हामीबीच खास त्यस्तो कुनै कुराकानी भएन । एकाएक मलाई उनीसँग सम्बन्ध टुटेको अनुभूत भयो । सम्भवतः उनलाई पनि त्यस्तै अनुभूत भएको थियो । ग्वालियरमा हामी आउनुको अभिप्रायः सार्थक नभएकाले हुनसक्थ्यो, उनको अनुहारमा मैले देख्दै आएको चमक लुप्त भएर त्यसको ठाउँ एक किसिमको ग्लानि र अपराधबोधले ओगटेको प्रतीत हुन्थ्यो । राग–गायनसँग

सम्बन्धित आफूले गरेको वर्णन प्रमाणित गर्न नसकेको कारण मैले उनलाई झूटो बोल्ने ठान्ला कि भन्ने त्रास उनमा उत्पन्न भएको हुनुपर्ने मैले अनुमानगरेँ । तर म के गर्न सक्थेँ र ? वास्तवमै आफ्नो अप्रसन्नता लुकाउन मलाई कसरत गर्नुपरेको भने साँचो हो । दिल्लीमा उनले पहाडगञ्जको अलबेला लजमै बस्न रुचाए । मैले करोलबागस्थित ग्रिन लजमा बस्न रुचाएँ । छुट्टिने बेलामा आखिर उनले भनेरै छाडे— “हजुरलाई मैले गर्दा तकलिफ भयो, माफ गर्नोस् ।”

“होइन, होइन, केही तकलिफ भएन । मेरो दिल्लीमा आउनुपर्ने अरू काम पनि थियो । मैले तपाईंलाई यो भन्न बिर्सें ।” मैले केवल यति भनेँ ।

भन्नुपर्ने अरू केही थिएन पनि । म करोलबागस्थित ग्रिन लजमै बसेँ । मनपर्थ्र्यो मलाई त्यो लज ।

मनपर्थ्र्यो मलाई त्यहा काम गर्ने केटाहरू— रामु अश्विनी र जोगिन्दर । राम्रो गर्थे तिनीहरू मेरो सेवाटहल । तिनीहरूले खुवाउने खाना मिठो, तिनीहरूले गर्ने कुरा मिठो । त्यसैले पनि होला, काठमाडौँदेखि ग्वालियरसम्मको र ग्वालियरदेखि दिल्लीसम्मको यात्राको थकान सजिलै मेटियो । महलमा गरिने भनिएको राग–गायनको अध्याय समाप्त भएकोमा मलाई खुशी नै लाग्यो । मस्तिष्कको एउटा कुना ओगटिरहेको कौतूहलको बोझ अरू बोक्न नपर्ने गरी अन्तिम बिसौनीमा बिसाइयो । नानाथरीका कौतूहल, उत्सुकता, जिज्ञासा इत्यादि सम्झनाको डोकोमा कोचेर नाम्लो दिमागमा अड्याई समयको उकालो लाग्ने काम बेकार हो भन्ने सम्झने मान्छे म ।

मैले जोगिन्दरलाई बोलाएँ र ऊ आएपछि भनें— जोगिन्दर, मलाई तिम्रै हातले बनाएको एक कप मिठो चिया खान मन लाग्यो !”

दिल्लीमा म तीन दिन बसें । कारखानामा बनाउन ल्याएको जिप्सी मारुती गाडीका पाटपूर्जाहरू, विलिस जीपको डिफरेन्सियल क्राउन, केही औजारहरू र लत्ताकपडा किनी म हवाईमार्ग हुँदै सकुशल काठमाडौं पुगेँ ।

 

###

यो बाइस वर्षअघिको कुरा हो । राघवजीको मृत्यु भइसकेको छ । उनी आफ्नी जेठी छोरी भेट्न नयाँ बजार काठमाडौँमा आउने गर्थे र तीन–चार पटक मकहाँ पनि आएका थिए । एक पटक एकादशीको दिन परेको थियो र हामी नारायणस्थानमा हुने सांगीतिक कार्यक्रममा गएका थियौं । अन्तिम पटक उनी आफ्नी नातिनीको विवाहमा आएका थिए । हाम्रो कुराकानी हुँदा महलमा हुने राग–गायनसम्बन्धी प्रसंग कहिल्यै उठेन ।

राजेश्वरीको र सुमित्राको बरोबर फोनमा कुराकानी हुँदोरहेछ । सुमित्राको विवाह पाटनको एक जना केटोसँग भयो । दुई वर्षअघि सुमित्रा राजेश्वरीको निम्तोमा राम–जानकीको विवाहोत्सव हेर्न आफ्नो छोरासँग जनकपुर गएकी थिई । समयको प्रवाहमा परेर अतीतका धेरै घटना–परिघटना र धेरै दृष्य–परिदृष्यका सम्झनाहरू कुनै बगे, कुनै स्मृतिपटलमा अड्किए । बासी भएर अड्किएका सम्झनाहरू कुनै धुमिल भए र कुनै मेटिए । तर मेटिन नमान्ने एउटा सम्झनाले उब्जाएको एउटा प्रश्न मेरो मनमा अहिलेसम्म त्रिशूल बनेर तेर्सिरहेको छ— कहाँ र कसरी बेपत्ता भए दयाशंकर ? भत्काइएको महलको कम्पाउण्डभित्र गेटनजीकै टहरा बनाई कुरुवा बसिरहेका केटाहरूले महलमा केवल बहुलाईजस्ता दुई जना स्वास्नीमान्छेहरू मात्र थिए र तिनीहरूलाई लखेटेर पठायौँ भनेका थिए । भन्नाले दयाशंकर महलमा थिएनन् र ती दुई जना स्वास्नीमान्छेहरू उनकी पत्नी र छोरीसिवाय अरू को हुन सक्थे ?

राग–गायन भएको हेर्न आफ्ना गुरुसँग गएका राघवजीले गायनपश्चात् प्रशिक्षकले गुरुसँग आँखा जुधाएका थिए भनेका थिए । त्यसरी आँखा जुधाएर प्रशिक्षकले गुरुलाई पनि सँगै इनारमा प्रवेश गर्न इसारा गरेको हुनुपर्थ्र्यो । के त दयाशंकरलाई पनि प्रशिक्षकले सँगै इनारमा प्रवेश गर्न त्यसरी नै इसारा गरे ?

राघवजीले के पनि भनेका थिए भने तबला बोकेर गुरुले इनारमा प्रवेश गर्न लागेको हेर्दै गर्दा दयाशंकरको अनुहारमा सन्तुष्टिको संकेत झल्कने स्मित हाँसो सल्बलाइरहेको थियो । भन्नाले के दयाशंकरमा पनि इनारमा प्रवेश गरी हार्मोनियम–बादकबिनाको तबसम्मको गायन–टोलीलाई पूर्णता दिने इच्छा जागृत भएको थियो र उनी अवसर पर्खिरहेका थिए ? अन्ततः प्रशिक्षकको सम्मोहन र इसारामा परेर के उनले पनि इनारमा प्रवेश गरे ?

 



प्रतिक्रिया दिनुहोस्