Logo

“ठाकुर–महतोहरू कुन नैतिकताले सरकारमा जाने ?”



काठमाडौं, भदौ १५ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर–राजेन्द्र महतोहरूलाई देउवा सरकारमा सामेल हुने नैतिक अधिकार नभएको बताएका छन् । जुनसुकै सरकारमा जान खुट्टा उचाल्नु राजनीतिक चरित्र नभएको पनि उनको तर्क छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता यादवले भने, “महन्थ ठाकुर– राजेन्द्र महतोहरुले केपी ओलीको प्रतिगामी कदममा समर्थन गर्नुभयो, लोकतन्त्रको हत्या गर्न खोज्नुभयो, संविधान समाप्त गर्न लाग्नुभयो, संसद् विघटनको साक्षी बस्नुभयो । अब सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारमा जाने कुन नैतिक अधिकार छ ? हामी त राजनीतिक स्थिरता र निश्चित एजेन्डाका साथ सरकारमा जाने हो, उहाँहरु कुन एजेन्डा लिएर सरकारमा सामेल हुने ?”
सरकारमा जान आफ्नो पार्टीमा कुनै हानथाप नभएको पनि उनको दाबी छ । मन्त्रिपरिषद् विस्तार छाडेर किन तराईमा भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “हामी मन्त्रीका लागि लडेका होइनौं । त्यसैले हाम्रो पार्टीभित्र कुनै हानथाप छैन । सरकारले अब केही दिनमै पूर्णता पाउँछ । जति वटा मन्त्रालय पाउँछौं, त्यसलाई टुंग्याउँछौं । हाम्रा तर्फबाट समस्या आउँदैन । गठबन्धनलाई चुनावसम्म बचाउनुपर्छ ।” सरकारमा जाने सम्बन्धमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अधिकार हुने उनले बताए ।
सातै प्रदेशमा कार्यक्रम गर्दा आफ्नो पार्टीको पक्षमा लहर आएको पनि उनले दाबी गरे । उनले भने, “देशभरि वैकल्पिक शक्ति बन्ने उत्साह छ । जसपा जनताको भरोसा र विश्वासको पार्टी भएको छ । पहिचान र अधिकारको लागि विविधता अँगालेको पार्टी भएको छ । त्यसैले पार्टी प्रवेशको लहर नै चलेको छ ।”

उनले महन्थ र ठाकुरको पार्टी केही पुरानो मान्छे लागे पनि जनता नलागेको दाबी गरे । उनले थपे, “हाम्रो पार्टीमा त्यसको कुनै असर परेको छैन । उहाँहरुप्रति जनताको कुनै आकर्षण छैन, जहाँ जसपा छ, त्यहाँ जनता छन् । को जनपक्षीय दल हो भन्ने जनताले बुझिसकेका छन् ।”



प्रतिक्रिया दिनुहोस्