काठमाडौं, १६ भदौ । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलले एक कार्यकाल पार्टीको नेतृत्व गर्ने इच्छा व्यक्त गरिरहेका छन् । उनले आफू पक्षीय हस्तीहरुलाई राखेर एक कार्यकाल सभापति बन्ने भन्दै साथ दिन आग्रह गरिरहेका छन् ।
पौडेलले आज अनुपम फुडल्यान्डमा महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई राखेर आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरे । तर, पौडेलको पक्षमा तीनैजना नेता सहमति दिन तयार भएनन् ।
विश्वस्त स्रोतका अनुसार सशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पौडेललाई ब्याक हुन आग्रह गरे । उनीहरुले बरु अर्को साझा उम्मेदवार तय गर्न भूमिका खेल्न आग्रह गरेका थिए ।
पौडेललाई यसअघिको महाधिवेशनमा पनि साथ दिएको भन्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले विकल्पमा जानुपर्नेमा जोड दिएका थिए । कोइरालाद्वयको भनाई पनि त्यस्तै रहेको छ ।
आज पौडेल पक्षमा सहमति नजुटेपछि वडा अधिवेशनपछि त्यसबारे सहमति खोज्ने टुंगो लागेको छ । एकढिक्का भएर वडा अधिवेशनमा आफूपक्षीय उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्ने सहमति भएको छ । अहिलेलाई सभापतिको साझा उम्मेदवारबारे च्याप्टर क्लोज गरेर पछि सहमति खोज्ने टुंगो लागेको बैठकमा सहभागी एक नेताले बताए ।-File Photo