Logo

‘माधव नेपालले कम्युनिष्ट पार्टी फुटाउन कतैबाट सुपारी लिनुभएको थियो, उहाँ कहाँबाट कम्युनिष्ट हुनुभयो त ?’ : आनन्द पोखरेल (भिडिओ)



नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले एमाले विभाजन गर्नको लागि माधव नेपालले कतैबाट सुपारी लिएको आरोप लगाएका छन् । उनले माधव नेपाल कम्युनिष्ट नै नभएको पनि जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा नेता पोखरेलले भनेका छन्–‘ अर्को कुरा, उहाँले कम्युनिष्ट पार्टी फुटाउन कतैबाट सुपारी लिनुभएको थियो । त्यसको लागि उहाँले काम गर्नुभयो । उहाँले मार्सवाद, भौतिकवाद, जबज केही मान्नुहुन्न त्यसपछि उहाँ कहाँबाट कम्युनिष्ट हुनुभयो त ? हामी प्रष्ट छौं । साथै, नेपाली जनता पनि प्रष्ट छन् । माधव नेपालले गरेका काम सबैले बुझेका छन् ।’ प्रस्तुत छ नेता पोखरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा एमालेका मुख्यमन्त्रीको पद जाने भयो नि, तपाईंहरुको सरकार अल्पमतमा पर्याे अब के गर्नुहुन्छ ?

संसदीय राजनीति र संसदीय प्रणाली स्विकार गरिसकेपछि त्यसमा पनि हाम्रो पार्टीमा जुन एउटा खालको विभाजन देखिएको छ । त्यसमा हाम्रो पार्टीको प्रदेशसभा सदस्यको फेरबदल आएको छ । फेरबदल आइसकेपछि स्वभाविक रुपमा सरकार रहन्छ की रहँदैन भन्ने प्रश्न उठ्ने स्वभाविक हो । अहिलेसम्म कसैले अविश्वासको प्रस्ताब नल्याएको । हिजो जो मान्छेहरु अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई संसदीय दलको नेतालाई प्रधानमन्त्री हुँदा समर्थन गर्ने मान्छेहरु पनि छन् । त्यसो भएको कारणले पनी गणितमा फेरबदल हुँदा मुख्यमन्त्रीहरु जान्छन् भनेर अनुमान गर्दा हतार हुन्छ ।

अल्पमतमा परिसकेपछि राजीनामा दिनेकी अविश्वासको प्रस्ताब फेस गर्ने ?

हामी स्वभाविक रुपमा विश्वासको मत लिन्छौं । सांसदहरुले जे निर्णय गर्नुहुन्छ, त्यो हामीलाई स्विकार्य छ ।

तपाईंहरुका सांसदहरुले पार्टी छोडिसके नी तपाईंहरुलाई थाहा छैन ?

मैले समाचार सुनेको छु । तर, निर्वाचन आयोगमा सनाखत देखेको छैन ।

निर्वाचन आयोगमै गइसके, हामीले नेकपा (एमाले) छोडेर नेकपा (एकीकृत समाजबादी) मा हामी गइसक्यौं भनेका छन् नी ?

बुझें मैले, हामीले त्यो विभाजनलाई अदालतमा चुनौती दिएका छौं । सभामुखले कारबाही गरेका मान्छेलाई सुचना जारी नगरेर निर्वाचन आयोगले नभएका मान्छेलाई सनाखत गराएर, हिजो सही गरेकोलाई छानबिन नगरेर अरु ढंगले परिचालन गरेकोले त्यसलाई चुनौती दिन हामी गइसकेका छौं । त्यसैले हामीले पार्टी विभाजनको कुरा स्वइकारेका छैनौं । अदालतको फैसला पर्खीन्छौं । त्यसैले अहिले नै अनुमान गर्नु हतारो हुन्छ ।

प्रदेश २ र सुदुरपश्चिममा तपाईंहरु कमजोर हुनुहुन्छ माधवकुमार नेपालको पार्टी ठुलो भइसक्यो, अब तपाईंहरु के गर्नुहुन्छ ?

ठीक छ, केन्द्रमा पनि हामी विपक्षमा आइसकेका छौं । केपी ओलीको विपक्षमा नयाँ खालका गठबन्धन बनाईएको छ । त्यो हामीलाई थाहा छ । तर, मुलुकको ठुलो पार्टी पनि हामी हौं । हामीलाई बाईपास गरेर यो मुलुकको लोकतन्त्र पनि अगाडि बढ्न सक्दैन्, संविधानको रक्षा हुनपनि सक्दैन । जुन ढङ्गले संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम गरिएको छ, यसको विरुद्धमा जनतामा गएर हामी प्रतिवाद गरेर अघि बढ्नेछौं ।

सभामुखको विरुद्धमा तपाईंहरु के कारणले अदालत जानुभयो ?

त्यो त सबैलाई थाहा छ । सभामुखले आफ्नो भूमिका निर्वाह नगरेर माओवादीको गुरिल्लाको भूमिका निर्वाह गर्नुभएको छ । संवैधानको मूल्य र मान्यता, र संसदीय मान्यतालाई पनि उहाँले उल्लंघन गर्नुभएको छ । त्यसैले उहाँ सभामुखको पदमा बस्न योग्य हुनुहुँदैन । त्यसैले हामीले उहाँलाई न्यायिक चूनौति दिएका छौं । उहाँले अरु खालका चुनौतीहरु पनि फेस गर्नुपर्ने हुनसक्छ ।

त्यसोभए राजीनामा नदिएसम्म सदन चल्न नदिने तपाईँहरुको योजना छ हो ?

जब त्यो सदनले एउटा पार्टी फुटाउनको लागि जुनैखालको हर्कत गर्छ, त्यो संसदको नेता सभामुखले जुनखालको भूमिका निर्वाह गर्छ । निश्पक्ष बस्न नसक्ने, एउटा पार्टीको सिपाही बन्ने, कठित गठबन्धनको रक्षक बन्ने काम गर्यो भने त्यस्तो सभामुखले भोलिका बैठकमा पनि न्याय दिने विश्वास नभएको हुनाले उहाँको विरुद्धमा हामी न्यायिक निरुपणको लागि सर्वोच्च गएका छौं । त्यसपछिका कारबाही आफ्नो ठाँउमा छ ।

सदन चल्न नदिने एमालेको रणनीती हो, ठ्याक्कै भन्नुहोस त ?

होइन, अहिले सदन नै नचलेको समयमा चल्न दिँदैनौ भन्नु उचित हँुदैन । सदन चलेपछि छलफल र बहस हुन्छ । संसदीय मूल्य र मान्यताको विरुद्धमा कोही चल्यो भने त्यसको प्रतिवाद गर्नु विपक्षी दलको कर्तव्य हो । त्यो हामी निर्वाह गर्छौं ।

माधवकुमार नेपालले जबज छोड्नुभयो, अब तपाईंहरुले गर्नुृहुन्छ ?

माधव नेपाल कम्युनिष्ट पार्टीको नेता होइन । मेरो यो दाबा हो । किनभने उहाँले कम्युनिष्ट पार्टीको बहुमतको सरकारलाई हटाउनको लागी हाम्रो नवौं महाधिवेशनमा प्रमुख प्रतिपक्ष शक्ति नेपाली कांगे्रसलाई सरकारमा ल्याउनुभएको छ । अर्को कुरा, उहाँले कम्युनिष्ट पार्टी फुटाउन कतैबाट सुपारी लिनुभएको थियो । त्यसको लागि उहाँले काम गर्नुभयो । उहाँले मार्सवाद, भौतिकवाद, जबज केही मान्नुहुन्न त्यसपछि उहाँ कहाँबाट कम्युनिष्ट हुनुभयो त ? हामी प्रष्ट छौं । साथै, नेपाली जनता पनि प्रष्ट छन् । माधव नेपालले गरेका काम सबैले बुझेका छन् । त्यसमा पनि हाम्रो पार्टी फुटाएको त सरकारको गठबन्धनले हो । दुनियाँमा नभएको प्राबधान ल्याएर, कथित २० प्रतिशतको प्रावधान ल्याएर पार्टी फुटाएको छ । त्यसैले यो पार्टी फुटाउन माधव नेपालमात्र होइन, शेरबहादु्र देउवा, प्रचण्ड, मधेशवादी दलहरु तथा विश्व एकाधिकार पुँजीवादका समर्थकहरु एन्टी–कम्युनिष्टहरु लागेका छन् । त्यसलाई नेपाली जनताले बुझेका छन् । हामी जबजलाई अङ्गीकार गर्दै अघि बढ्छौं ।

एमसीसी संसद्बाट पारित गराउन एमाले तयार भएको हो ?

हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा, उहाँले सदनमा एमसीसीको प्रस्ताव राख्नुभएको हो । अहिलेको सरकारको गठबन्धनमा बसेको मान्छे र अहिलेका सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई छलफल गराउनुभएन । त्यसकारण एमसीसी पास गर्नलाई १६५ को गणित भएको कारणले उहाँलाई हाम्रो जरुरत नै छैन् । यो सरकारको बिजनेस हो । त्योबेला केपी ओलीले एउटा राजनीतिक संस्कारलाई अघि बढाउन संसद्मा पेश गर्नुभएको थियो, तर सभामुखले संसद्मा ल्याउनुभएन । त्यसैले यसमा उहाँ जिम्मेवार हुनुहुन्छ । यसमा माधव नेपाल, प्रचण्ड, मधेशवादी दल लगायतका नेताहरु यसमा जिम्मेवार हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्