Logo

चोभारमा तयार भयो ५०० ओटा कन्टेनर अट्ने सुक्खा बन्दरगाह



काठमाडौं, भदौ १९ । चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको छ । हिमाल सिमेन्ट्रको कारखाना रहेको स्थानमा सरकारले १ अर्ब ६० करोड रुपैयाँ लगानीमा ५०० ओटा कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

पूर्वाधार निर्माण सकिएको सो बन्दरगाह भन्सार र क्वारेन्टाइन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उनका अनुसार बन्दरगाहमा भन्सार, क्वारेन्टाइनका लागि तीन ओटा भवन निर्माण गरिएको छ ।

यस्तै, सामग्री भित्र्याउने र पठाउन तीन ओटा गोदाम तयार भएका छन् । उक्त बन्दरगाहमा एक्जिम (आयात–निर्यात) क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ ।

जसमा पहिलोलाई आयात–निर्यातका लागि प्रयोग गरिने बताइएको छ । सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको जाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टाइनलगायतका काम हुनेछ ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्याइएको छ । सो क्षेत्रमा व्यवसायीले ल्याएका सामान ‘अनलोड–अफलोड’ गर्ने, गोदामघरमा भण्डारण नगरी लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्याइएको हो ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार बन्दरगाह प्रवेशका लागि तीन द्वार निर्माण गरिएको छ । जसमा एउटा मूख्य द्वारबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिन्छन् । तर, बीचमा छुट्याइएको एक गेटबाट भने जुन कुनै आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको छ ।

विसं २०७५ को साउनमा १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको सो आयोजनामा १४ महीना समयसीमा थप गरिएको थियो । चोभारमा हिमाल सिमेन्टले ओगटेको १ हजार ४१ रोपनी जग्गामध्ये २२० रोपनीमा सुक्खा बन्दरगाह र ४१ रोपनीमा कर्मचारीका लागि आवास गरी कुल २६१ रोपनीमा सान्छी–आशिष जेभीले बन्दरगाह निर्माणको काम गरिरहेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्