Logo

एकीकृत समाजवादी भारतको विरोधमा छैनः प्रवक्ता



काठमाडौं, भदौ २१ । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख एव‌ं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भारतको विरोधमा नरहेको स्पष्ट पारेका छन् । युवा र विद्यार्थी संगठनले गरेको विरोधलाई अस्वाभाविक ठान्नु नहुने पनि उनले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने, “यो भारतविरुद्धको अभियान होइन । हामी कुनै पनि व्यक्ति र शक्तिको विरोध गर्दैनौं । कतिपय नीतिका कारण विरोध भएको हुन सक्छ । हाम्रो पार्टी जहिल्यै पनि राष्ट्रिय हितका पक्षमा उभिन्छ । अन्ध समर्थन र अन्ध विरोधमा हामी हिँड्दैनौं । सरकार र पार्टी अन्तरसम्बन्धित पनि हुन्छन्, अन्तरविरोधी पनि हुन्छन् । सरकारले गलत गर्यो भने वा जनसेवामा चुक्यो भने आलोचना गर्ने अधिकार सबैलाई रहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हामीले संस्थागत धारणा बनाएर गरेका होइनौं । युवा र विद्यार्थीले आफ्ना असहमति स्वतन्त्र र स्वतःस्फूर्त ढंगले राखेका हुन् । विगत ७० वर्षमा यस्ता धेरै काम भएका छन् ।”
नेता खतिवडाले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति नबनेको बताए । उनले थपे, “प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै सन्दर्भमा एमसीसीको कुरा गर्नुभएको होला । तर यसबारे राजनीतिक दलहरुबीच कुनै सहमति भइसकेको छैन । नेकपा हुँदैमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदन नै यसबारे हाम्रो आधारभूत मान्यता हो । एमसीसी परियोजनाको कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तामा खलल आउने भएकाले सच्चाउनुपर्छ भन्ने हाम्रो मत हो । अहिले यो हाम्रा लागि छलफल र चर्चाको विषय मात्र हो, निर्णयको तहमा पुगेका छैनौं ।”
उनले एक-दुई दिनमा मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो पार्टी सामेल हुने पनि बताए । उनले भने, “अहिले हामी आन्तरिक तयारी र व्यवस्थापनमा व्यस्त छौं । छौं । भदौ २२ सम्म जनप्रतिनिधिलाई जिल्ला निर्वाचन कार्यालयमा लगेर सनाखत गराउँदै छौं । त्यसपछि सरकारमा जान तयार छौं ।”
उनले सांसद पद नै माया मारेका नेताहरूलाई मन्त्रीका लागि मरिहत्ते गरेको भन्नु त्यागको अवमूल्यन हुने पनि बताए । उनले थपे, “हामी योग्यता, क्षमता, सन्तुलन, इतिहास र योगदान हेरेर मन्त्री बनाउँछौं । तीन वटा मन्त्रालय पाए तीनवटै पठाउँछौं । चार वटा पाए चारवटै पठाउँछौं । त्यसको व्यवस्थापनमा कुनै समस्या छैन । मन्त्री बन्न मारामार भन्नु प्रोपागान्डा हो । सबै जना राजनीतिकर्मी एकैचोटि मन्त्री बन्न मरिहत्ते गर्दैनन् । पर्खेर बस्छन् । यसचोटि नभए अर्को चोटि हुन्छन् ।”



प्रतिक्रिया दिनुहोस्