एजेन्सी, २१ भदौ । लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा दश वर्ष पछि रिहा भएका छन् । अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएको जनाइएको छ ।
रिहा हुने बित्तिकै अल शादीलाई टर्की इस्तानबुलतर्फ पठाइएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सहयोग प्राप्त गरेको विद्रोहीहरुले मुअमार गद्दाफीलाई अपदस्थ गरेका थिए । त्यसलगत्तै अल शादी छिमेकी देश नाइजरतर्फ भागेका थिए । सन् २०१४ मा अल शादीलाई लिबियामा सुपुर्दगी गरिएको थियो ।
त्यसपछि उनलाई त्रिपोलीको जेलमा राखिएको थियो । मार्च महिनामा गठन गरिएको राष्ट्रिय सहमतिको सरकारले डिसेम्बरमा निर्वाचन गर्ने योजना बनाएको बताइएको छ ।सन् २०११ को आन्दोलनको समयमा अल शादीले एउटा विशेष युनिटको नेतृत्व गर्दथे । जसले आन्दोलनकारी तथा विद्रोहीमाथि दमन गर्न भूमिका निर्वाह गरेको थियो ।-Photo: Agency