काठमाडौं, २१ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले झुठो बोलेको धारणा सार्वजनिक गरेको छ । प्रचण्डले विप्लवको पार्टीसँग एकता हुँदैछ भनेर झुठो बोलेको उक्त पार्टीका नेता धर्मेन्द्र बास्तोलाले स्पष्ट पारे ।
बास्तोलाले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पार्टी एकताबारे आफूहरुले प्रचण्डसँग कुनै छलफल नै नगरेको दाबी गरे । उनले प्रचण्डले के आधारमा आफ्नो पार्टीसँग एकता हुँदैछ भनेर बोले ? भन्दै उल्टै प्रश्न गरेका छन् ।
प्रचण्डले आजमात्रै एक कार्यक्रममा विप्लवको पार्टीलगायत कम्युनिष्ट पार्टीहरुसँग छिट्टै एकता हुने खुलासा गरेका थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने धारणा राखेका थिए ।
पार्टीको पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रबिक्रम चन्द९विप्लव० र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताएका थिए ।
कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमाले र माओवादी केन्द्रलाई अलग अलग बनाएको थियो । त्यसपछि प्रचण्ड कम्युनिष्ट पार्टीबीच पूनः एकताको प्रयासमा लागेका छन् । यो बीचमा प्रचण्डले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालसँग पनि छलफल गरिरहेका छन् ।
उनले ढिलो चाँडो माओवादीबाट फुटेका दलहरुबीच एकता हुने दाबी गर्दै आएका छन् । केही पहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि दाहाललाई भेटेका थिए । त्यतिवेला उनीहरुबीच लामो कुराकानी भएको बताईएको छ । तर, विप्लवले भने प्रचण्डसँगको भेटमा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको बताएका थिए । File Photo/ReportersNepal