Logo

एमसीसी निल्नु न ओकल्नुः गंगालाल तुलाधर



काठमाडौं, भदौ २५ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि निल्नु न ओकल्नु भएको बताएका छन् । तर एमसीसीका नाममा पार्टी फुट्ने र गठबन्धन भत्कने अवस्था आउन दिन नहुने उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तुलाधरले भने, “हामीले एमसीसीलाई आवश्यकताभन्दा बढी उचाल्यौं । अहिले निल्नु न ओकल्नु भएको छ । त्यसले पार्टीलाई फुटाउने तहमा लैजान्छ । गठबन्धनलाई भत्काउने तहमा लैजान्छ । त्यसैले हामीले गठबन्धन दलहरुको भावना समेटेर अघि जानुपर्छ । एमसीसीका कारण पार्टी र गठबन्धन फटाउनु हुँदैन ।”

माधव नेपालले फातिमा सुमार नेतृत्वको एमसीसी टोलीलाई पारित गर्ने वचन दिनुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “अहिले हामी नयाँ दल छौं । हाम्रो दलमा यसबारे छलफल भएको छैन । हामीले नेपाल र नेपाली जनताको हितभन्दा पर गएर या गठबन्धनभन्दा बाहिर गएर निष्कर्ष दिन पनि सक्दैनौं । यसमा हामीले साझा धारणा बनाउन सक्नुपर्छ । त्यसैले माधवकुमार नेपालले कुनै वचन दिनुभएको छैन । अर्को कुरा के हो भने हाम्रो पार्टीको धारणाले मात्र एमसीसी पारित हुनेवाला छैन । शेरबहादुर देउवाजीको इच्छाले मात्र पनि हुँदैन ।”

चार वर्षसम्म जस्ताको तस्तै पारित गर्नुहुँदैन भन्ने सडक र सामाजिक सञ्जालसम्म छिरलिएको मुद्दा भएकाले एमसीसीका बारेमा जिम्मेवार पार्टीले जिम्मेवार ढंगले निर्णय लिनुपर्ने उनको सुझाव छ । उनले थपे, “हाम्रा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको प्रतिवेदन केपी ओलीले कहाँ थन्काउनुभयो, पार्टीमा कुनै छलफल गराउनु भएन । कार्यदलमा झलनाथ र रावलको एक खाले धारणा आयो, प्रदीप ज्ञवालीले ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो । अहिले सहमति र असहमति जनाउने उतै छन् । त्यसैले अहिले ‘ह्यान्डल विद् केयर’को आवश्यकता छ ।”
एमसीसीका बारेमा पहिले पार्टीभित्र एकमत बनाउने, त्यसपछि गठबन्धन एउटा सहमतिमा पुग्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, “अहिलेको अवस्थामा संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने, गठबन्धन भत्काउने कुरा गर्नुहुँदैन । जेसुकै होस् भन्न पनि मिल्दैन । यसमा अनेक तत्वले सुँड पसाएका छन् । गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र पनि भइरहेकै छ । यसमा अमेरिकासँग केही समय माग्न पनि सकिएला ।”

एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्नु गलत हुने उनले बताए । उनले थपे, हो, “मन्त्रिपरिषद् विस्तारका लागि भदौ २२ सम्म हामीले पर्खाएका हौ । तर २३,२४ र २५ गते पनि नभएकाले यो गठबन्धनका अरु दलको पनि समस्या हो भन्ने बुझ्नुपर्छ । अब पनि मन्त्रिपरिषद् विस्तार नहुने हो भने यसले जनतामा निराशा छाउँछ ।”



प्रतिक्रिया दिनुहोस्