काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवा आज या भोलिभित्रै मन्त्रिपरिषद विस्तार गर्न चाहन्छन् । उनले गठबन्धनका नेताहरुसँग मन्त्रिहरुको नाम समेत मागेका छन् ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि देउवाले मन्त्रिको नाम मागेका छन् । देउवा पार्टीभित्र र बाहिर व्यवस्थापनमा जुटेका छन् । तर, गठबन्धनकै केही दलका नेताहरु मन्त्रीको नाम दिन ढिलाई गरिरहेका छन् ।
नेकपा एस र जनता समाजवादी पार्टीले अझै मन्त्रीहरुको नाम दिएका छैनन् । नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्री सरकारमा छन् । थप नामको टुंगो लगाउन प्रचण्डले सकिरहेका छैनन् ।
माओवादी, नेकपा एस र जसपामा मन्त्रीका आकांक्षी धेरै छन् । यसकारण पनि कुरा मिलाउन कठिनाई भएको बुझिएको छ । मन्त्री बन्न नपाएकाहरु असन्तुष्ट हुँदा पार्टीभित्र अर्को दुर्घटना हुनेमा दलहरु चिन्तित छन् ।