काठमाडौं, २५ भाद्र । सरकारले बजेट संशोधन गरी ल्याएको छ । आज अर्थमन्त्री जर्नादन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रतिनिधि सभामा प्रस्तुत गरेका हुन् ।
शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न विधयेक प्रस्तुत गरेका थिए । प्रतिस्थापन विधेयकमा १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा संशोधन गरिएको छ । बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ ।
संशोधित बजेटले तत्कालीन केपी शर्मा ओली सरकारले विनियोजन गरेका कतिपय बजेट समेत प्रतिस्थापन गरेको छ । कतिपय बजेट काटिएका छन् ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा एमाले सांसदहरुले नारावाजी गरेका थिए । नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई अगाडि बढाएर बजेट प्रस्तुत गर्न दिएका थिए ।-Photo: Mukunda Kalikote