Logo

नेकपा (एस) प्रदेश नेतामा पाण्डे, प्रदेश सरकारलाई समर्थन फिर्ता



काठमाडौं, भदौ २८। वागमती प्रदेशमा चौथो शक्ति बनेको नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएसँगै उक्त दलले वर्तमान सरकारलाई ‘समर्थन नरहेको’ पत्र संसद्मा दर्ता गराएको छ ।

प्रदेशसभा प्रतिनिधित्व गर्ने १३ सांसद नेकपा (एकीकृत समाजवादी) का सदस्य भइसकेको निर्वाचन आयोगबाट प्रमाणित भएको हुँदा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारलाई समर्थन नभएको पत्र प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराइएको हो ।

बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरिएको नेता पाण्डेले जानकारी दिए । एमालेबाट १३ सांसद बाहिरिएपछि पनि मन्त्रिपरिषद् बिस्तार गरेकी मुख्यमन्त्री शाक्य अब भने आधिकारिकरूपमा नै स्पष्ट अल्पमतमा परेकी छन् । सरकारले राजनीतिक दल विभाजन गर्न आवश्यक पर्ने सांसद वा केन्द्रीय सदस्यको संख्या घटाएर अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एस) बनेको छ ।

हेटौंडामा बसेको दलको पहिलो बैठकले पाण्डेलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको मकवानपुरकी सांसद् मुनु सिग्देलले जानकारी दिए । बैठकले धादिङ प्रतिनिधिसभा १ (१) बाट प्रतिधित्व गर्ने पाण्डेलाई संसदीय दलको नेता चयन गरेको हो ।

निर्वाचन आयोगले पठाएको एकीकृत समाजवादीको आधिकारिता र प्रदेशसभामा आवद्ध सांसदहरुको नामावली आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै संसदीय दलको पहिलो बैठक बसेको थियो । दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नभएको पत्र प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जानकारी गराउने निर्णय गरेपछि पत्र दर्ता भएको हो । संसदीय दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ सांसदको उपस्थिति थियो ।

निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को आधिकारिकता र आबद्ध सांसदहरुको नामावलीसहित पत्र वागमती प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ७ पुगेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्