काठमाडौं, ३ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य/ मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि वढाउनु नै आजको आवश्यकता बनेको बताएका छन् ।
सातौं संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले यस्तो बताएका हुन् । उनले अहिले संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति पनि देखापरिरहेको उल्लेख गरेका छन् । उनले यस्ता प्रवृत्तिहरुका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै यस पटकको संविधान दिवसले सबैबाट यही माग गरिरहेको बताएका छन् ।
शुभकामना !!!
आज २०७८ असोज ३ गते, जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुद्धारा संविधान सभा मार्फत गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान जारी भएको ६ बर्ष पुरा भएको ऐतिहासिक दिन । यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
झण्डै सात दशक लामो जनताको अथक संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप हामीले सामन्तवादको प्रतिनिधिको रुपमा रहेको राजतन्त्रलाई सदाको लागि अन्त्य गर्दै यस संविधान मार्फत संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेका छौं । साथै यस संविधान मार्फत नागरिक स्वतन्त्रता, मानव अधिकार, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता आधारभुत अधिकारहरु समेत सुनिश्चित गरेका छौ । विभिन्न वर्ग, जाती, धर्म, सस्कृति र परम्परा मान्ने बिभिन्न क्षेत्रका सम्पूर्ण नेपालीहरुको हक र अधिकारलाई समेत हामीले संविधानमै संस्थागत गरेका छौ । यद्यपि यस बिचमा संविधानमाथि एकपछि अर्को कुठाराघात गरियो, सर्वोच्च विधायिकालाई पटक-पटक असंवैधानिक रुपले विघटन गरियो । मुलुकमा स्थापित लोकतान्त्रिक प्रक्रियालाई खल्बल्याउने काम गरियो र मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजियो । तर हाम्रो पार्टी लगायत सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायलयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरता तिर फर्केको छ । नयाँ गठबन्धन सरकार बनेको छ र संविधान बमोजिम मुलुकलाई अग्रगति तर्फ अघि बढाउने प्रयत्न भइरहेको छ । यद्यपि अस्थिरतावादी तत्वहरु अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन् । संसदलाई चल्न नदिने अराजकतावादी प्रवृति पनि देखापरिरहेका छन् । यस्ता प्रवृत्तिहरुका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य-मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमन तर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि वढाउनु नै आजको आवश्यकता बनेको छ । मलाई लाग्छ यस पटकको संविधान दिवसले हामी सबैबाट यहि माग गरिरहेको छ।