Logo

‘गुटले पार्टी बिग्रियो भन्ने तर गुटमै बस्ने संस्कारले कांग्रेस कमजोर?’



काठमाडौं, असोज ७ । पत्रकार सोमनाथ सुसेलीले निषेध, गुटबन्दी, घात–अन्तर्घातका कारण कमजोर भएको कांग्रेसलाई एक ढिक्का बनाउन इलाम नगरपालिकाको सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै सुसेलीले भने, ‘सबै नेता(कार्यकर्ता गुटले पार्टी बिग्रियो भन्छन्, तर सबै जना गुटमै छन् । गुटबन्दी छाड्ने आँट कसैले गर्दैन । कांग्रेस भनिएन, मेरो मान्छे मात्र भनियो । त्यसैले मैले निषेध, गुटबन्दी, घात अन्तर्घातविरुद्ध सिंगो पार्टीलाई एकढिक्का राख्न इलाम नगरपालिकाको सभापतिमा उम्मेदवारी दिएको हुँ ।’

उनले ३१ वर्षको पत्रकारिता जीवनमा प्राप्त गरेका ज्ञान, सीप, अनुभव र क्षमतालाई उपयोग गरेर पार्टीलाई शक्तिशाली बनाउन लाग्ने पनि बताए । उनले थपे, ‘मैले लामो समय पत्रकारिता गरेँ । मेरो उम्मेदवारी कुनै गुट र समूहको होइन । बरु सबै नेता(कार्यकर्तालाई जोड्न सक्छु भनेर म अघि बढेको छु । अब पनि गुटबन्दी नै गरिरहने हो भने, तेरो र मेरो भन्ने हो भने इलामका दस वटा तहमा कहिल्यै जित्दैन ।’

आफू कसैको इशारामा नउठेको पनि स्पष्ट पारे । उनले भने, ‘मलाई आफ्नै इशारा काफी छ । मैले इलाममा जुन जुन संस्थामा अगुवाइ गरेँ, ती सबै संस्थामा सफल भएको छु । ३६४ दिन कांग्रेस हुने, चुनावको दिन चाहिँ अर्को चिह्नमा भोट हाल्ने कुसंस्कारले कांग्रेस कमजोर भयो । कांग्रेस एकढिक्का भएर जाँदा शक्तिशाली हुन्छ भन्ने नै मेरो उम्मेदवारीको सन्देश हो ।’



प्रतिक्रिया दिनुहोस्