डडेल्धुरा, १२ असोज: दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।
संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।
निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।
यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए ।-रासस/File Photo