काठमाडौं, असोज २२ । नेकपा (माओवादी केन्द्र) का नेता दिनानाथ शर्माले राष्ट्रिय सहमति गरेर एमसीसी पारित गर्ने दिशातिर सरकार अघि बढेको बताएका छन् । एमसीसी जनताको छलफलको विषय भएकाले यसमा सबै दलहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको कथन छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले नेकपा (माओवादी केन्द्र) भित्र सरकारमा जाने कुरालाई लिएर कुनै विवाद नरहेको दाबी पनि गरे । उनले थपे, “माओवादी केन्द्रमा कसैलाई ब्रेक लगाइएको छैन । नारायणकाजी श्रेष्ठ जिम्मेवार नेता हो । सबैलाई मिलाएर जाने ठाउँमा हुनहुन्छ । अहिलेको आवश्यकता अनुसार निर्णय भएको मात्र हो । प्रधानमन्त्री हुन त प्रचण्ड पनि चाहनुहुन्थ्यो । चाहेर मात्र हुन्छ र ?”
आत्मकेन्द्रित, व्यक्तिकेन्द्रित र स्वार्थकेन्द्रित राजनीतिले मुलुकलाई नै बदनाम गरेकाले यसमा परिवर्तन हुनैपर्ने शर्माले औंल्याए । उनले भने, “हामीले राजनीतिक अधिकारका कुरा संविधानमा लेख्यौं, तर संरचनागत परिवर्तन भएन । न्यायको संघर्षको सकिएन । त्यसले जनतामा निराशा छाएको छ । पार्टीभित्र पनि मिलाउन नसक्ने, देशलाई निकास दिन नसक्ने स्थिति देखियो । अब राजनीतिक अवसरवादबाट माथि उठ्नुपर्छ ।”