Logo

‘बाढीपहिरोले दर्जनौंको मृत्यु, १९ जिल्ला प्रभावित’



काठमाडौं, कात्तिक ३ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बेमौसमी झरीका कारण बाढीपहिरो निम्तिँदा एक दर्जनको मृत्यु भएको बताएका छन् । बाढीपहिरोले अहिलेसम्म ५ सय घरमा क्षति पुग्नुका साथै १९ जिल्ला प्रभावित भएको उनले जानकारी दिए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “बेमौसमी पानी परेर खोलानालामा बाढी आउँदा जनजीवन अस्तव्यस्त छ । धान खेतमा पानी पसेको छ । हिजो रातिसम्म बाढीपहिरोका कारण धनकुटामा ६ जनाको मृत्यु र ५ जना घाइते, इलाममा २ जनाको मृत्यु र पाँचथरमा ३ जनाको मृत्यु भएको छ । ५ सय घरमा क्षति पुगेको छ, १९ जिल्ला प्रभावित छन् ।”

प्रवक्ता पोखरेलका अनुसार कञ्चनपुर र कैलाली डुबानमा परेका छन् । झापामा कन्काईमा पानीको बहाव बढेर डेढ-दुई सय घरलाई सुरक्षित स्थानमा सारिएको छ । धनकुटा र डोटीमा सडक खुलाउने प्रयत्न भइरहेको छ । दुहबी सबस्टेसनमा पानी पसेकाले सुनसरी र मोरङमा विद्युत् आपूर्ति भएको छैन । टेलिफोन टावरमा विद्युत् चार्ज हुन नसक्दा कतिपय गाउँको जिल्लामा, जिल्लाको केन्द्रमा सम्पर्क छैन ।

प्रवक्ता पोखरेलले गृहमन्त्री बालकृष्ण खाँडले राज्यको सम्पूर्ण स्रोत साधन प्रयोग गरेर तत्काल उद्धारमा खटिन निर्देशन दिएको पनि बताए । उनले भने, “हामी बाढीपीडितलाई मापदण्ड बनाएर राहत दिन्छौं । त्यसले सम्भव नभए अतिरिक्त मापदण्ड पनि बनाउँछौं । तत्काल खाद्यान्नको अभाव हुन नदिन र मानवीय क्षति कम गर्न स्थानीय सरकार, सुरक्षा निकाय, प्रदेश सरकार सबै मिलेर खटिएका छौं ।”



प्रतिक्रिया दिनुहोस्