Logo

गठबन्धन बलियो बनाउन गृहमन्त्री खाँण सक्रिय, प्रधानमन्त्री देउवालगत्तै प्रचण्डसँग भेटवार्ता



काठमाडौं, ५ कार्तिक । अहिले पाँच दलीय गठबन्धनको सरकार छ । सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । गठबन्धनमा आवद्ध पाँच दलमध्ये राष्ट्रिय जनमोर्चामात्रै सरकारमा सहभागी छैन । कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी छन् । पछिल्लो समय मुलुक अर्ली ईलेक्शनमा जान लागेको हल्ला चलिरहेको र पाँच दलीय गठबन्धनपनि टुट्न लागेको चर्चा चल्न थालेको छ ।

हिजोमात्रै प्रधानमन्त्री देउवाले एमसीसी संशोधनबिना नै संसद्बाट पारित गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । तर, सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले त अहिलेकै अवस्थामा एमसीसी संसद्बाट पारित गराउने दुस्साहस गरे प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा गुरुङले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो कडा टिप्पणी गरेका हुन् । उनले एमसीसी पारित गराउने सवालमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन बनाउन मन बनाउनसमेत भनेका छन् । तर, आफूहरु राष्ट्रघाती कदमको विरुद्धमा उभिने उनको गर्जन छ ।

गठबन्धनमा समस्या उत्पन्न थालेको हो कि भन्ने आशंकाकै बीच गठबन्धन बलियो बनाउने भन्दै गृहमन्त्री बालकृष्ण खाँण सक्रिय भएका छन् । खाँणले आज विहान प्रधानमन्त्री देउवासँग छलफल गरे भने त्यसलगत्तै उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको बताईन्छ । तत्काल अर्ली ईलेक्शनमा जान नहुने र यो संसद्को पूरा अवधि नै चलाउनुपर्ने खाँणको मत छ । file photo

 



प्रतिक्रिया दिनुहोस्