वीरगञ्ज, कार्तिक १०। कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको कुल वैदेशिक व्यापार भएको थियो । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा यो आँकडा १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
यसमध्ये आयात १ खर्ब ६७ अर्ब र निर्यात व्यापार ३१ अर्ब रुपैयाँबराबर छ । व्यापारमा बढेपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको छ ।
वीरगञ्ज भन्सारले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व उठाएको छ । अघिल्लो वर्षको यही अवधिमा लक्ष्य भेट्टाउन सकेको थिएन । गत आवको पहिलो ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा थियो ।
चालू आवमा बजार र यातायात खुलेकाले वैदेशिक व्यापार र राजस्वमा त्यसको सकारात्मक प्रभाव देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ह्वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को साउनदेखि असोजसम्मको ३ महीनामा यस्ता वस्तुको आयात बढेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महीनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जीपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो ।
गत आवको पहिलो ३ महीनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० ओटा यस्ता साधन भित्रिएका थिए ।चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करीब उस्तै छ ।
१ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । पिकअप गाडीको आयातसमेत ९९ प्रतिशले बढेको छ । आर्थिक अभियान दैनिकबाट