कठमाडौं, कात्तिक ११। विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा औसतमा महसुल २.८४ प्रतिशत सस्तो बनाइएको छ । सिँचाइमा मात्र हेर्दा औसत ४०.६९ प्रतिशतले महसुल घटाइएको छ ।
मङ्सिर १ देखिको खपतमा लागू हुनेगरी तय गरिएको नयाँ महसुल संरचनाअनुसार करिब १९ लाख ८६ हजार ग्राहकले मासिक ३० रुपैयाँ तिरेर २० युनिटसम्म बिजुली बाल्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेअनुरूप आयोगले सिङ्गल फेज पाँच एम्पियर जडान गरेका ग्राहकले मासिक २० युनिटसम्म मात्र खपत गरेमा न्यूनतम मासिक शुल्क ३० रुपियाँ मात्र तिर्नुपर्नेछ ।
इनर्जी शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ तर खपत २० युनिटभन्दा बढी हुनासाथ ३० युनिटसम्म भने मासिक न्यूनतम ५०, इनर्जी शुल्क २० युनिटसम्मको ६० र थप युनिटका लागि प्रतियुनिट छ रुपियाँ ५० पैसा लाग्नेछ । ३१ देखि ५० समूहलाई आठ रुपियाँ तोकिएको छ भने ५१ देखि १०० सम्म नौ रुपियाँ ५० पैसा प्रतियुनिट निर्धारण गरिएको छ। २० युनिटसम्मको छुट १५ एम्पियर र माथिको क्षमता जडितलाई उपलब्ध हुनेछैन् ।
नयाँ महसुल दरमा सिङ्गल फेजका सबै गार्हस्थ्य उपभोक्तालाई लक्षित गर्दै पाँच, १५, ३० र ६० एम्पियर जडित ग्राहकको न्यूनतम महसुल साबिकभन्दा २५ रुपैयाँ घटाइएको छ । गार्हस्थ्य उपभोक्ताले इन्डक्सन चुलो प्रयोग गरून् भन्ने हेतुले १५१ देखि २५० युनिटसम्मको विद्युतमा प्रतियुनिट ५० पैसा घटाएर नौ रुपैयाँ ५० पैसा बनाइएको छ । त्यस्तै ४०० युनिटभन्दा माथिको खपतमा प्रतियुनिट ११ कायम गरिएको छ ।
आयोगले स्वीकृत गरेको संरचनाले थ्री फेजका ग्राहकले असारदेखि कात्तिकसम्म मौसमी दरअनुरूप सस्तोमा बिजुली पाउने व्यवस्था गराइएको छ । थ्री फेज तल्लो भोल्टेज ग्राहकले वर्षामा प्रतियुनिट १० रुपियाँ ५० पैसा र सुक्खायाममा ११ रुपैयाँ ५० पैसा पर्ने व्यवस्था गराइएको छ।
सिँचाइ क्षेत्रमा ४०.६९ प्रतिशत महसुल घटाइएको छ । टीओडी मिटर जडान गरेका ३३ केभी लाइनका सिँचाइ उपभोक्ताले राति ११ बजेदेखि बिहान ५ बजेसम्मको खपतमा प्रतियुनिट दुई रुपियाँ मात्र तिरे पुग्ने भएको छ । अन्य समयमा पनि एक रुपैयाँ ७० पैसा घटाएर प्रतियुनिट तीन रुपैयाँ मात्र कायम गरिएको छ । ११ केभीएमा यो शुल्क भने तीन रुपैयाँ १० पैसा छ। गोरखापत्र दैनिकबाट