काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री देउवा भोली नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आईतबार प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले स्वागत समारोह राखेको छ ।
प्रधानमन्त्री देउवा कार्तिक १५ गते कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनले वर्ल्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्नेछन्। सोही दिन साँझ देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवा कार्तिक १६ गते बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागीता जनाउँनेछन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन्। बेलायतबाट देउवाको टोली कार्तिक १८ गते स्वदेश आइपुग्ने छ।