Logo

प्रधानसेनापति शर्माले मोदी देखि दोभालसम्मलाई भेट्ने



काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमणले महत्व पाएको छ । उनको भ्रमणबारे भारतका सञ्चारमाध्यमले प्राथमिकताका साथ खबरहरु प्रकाशन र प्रशारण गरेका छन् । शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्द र स्थल सेनाध्यक्ष एम एम नरवाणेलाई भेटिसकेका छन् । अबको तीन दिनमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विशिष्ट अधिकारीहरुलाई भेट्ने तय भएको छ ।

भारतसँग सीमालगायत कतिपय मुद्दाहरु उठेपछिको परिस्थितिमा सेनापति शर्माको भारत भ्रमण भएको हो । उनले भ्रमणको सुरुकै दिन भारतका सेनापति एम एम नरवाणेसँग भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीच सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ ।

प्रधानसेनापति शर्माले बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतको सेनाको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । यो पदवी दुई देशबीचको पृथक सम्बन्धको पहिचान पनि हो ।

सेनापति शर्माले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल र चिफ अफ डिफेन्स स्टाम जनरल विपिन रावतसँग पनि भेट्ने तय भएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

प्रधानसेनापतिले मोदी, सिंह, जयशंकर र रावतसँग गर्ने भेटलाई महत्वका साथ हेरिएको छ । यसलाई भारतले शर्माको भ्रमणलाई विशेष महत्व दिइएको रुपमा लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्