Logo

कांग्रेसमा देउवा र पाैडेलबीच गठबन्धन भएकाे प्रचार झूटाे हाे: केसी



काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च स्तरीय राजनीतिक समन्वय समितिकाे संयाेजक दिएर रामचन्द्र पाैडेललाई शेरबहादुर देउवाले महाधिवेशनमा गठबन्धन गर्न लागेकाे भन्ने प्रचार भ्रमपूर्ण रहेकाे बताएका छन् ।

आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “समन्वय समितिमा पाैडेलकाे उपयाेगिता रहेकाले संयाेजक बनाइएकाे हाे । देउवा र पाैडेलबीच महाधिवेशनमा गठबन्धन भएकाे हाेइन । पार्टी सञ्चालनमा नेतृत्वकाे कार्यशैलीसँग हाम्राे असहमति कायमै छ ।” उनले थपे, “अलिकति फरक मत भए पनि हामी एउटै पार्टी, झण्डामुनि छाैं । हाम्राे उद्देश्य र लक्ष्य एउटै हाे । त्यसैले नेताहरूबीच सहमति हुनु आश्चर्यकाे कुरा पनि हाेइन । तर, देउवा र पाैडेलबीच सहमति भैसक्याे भन्नु भ्रमपूर्ण प्रचार मात्र हाे ।”

पार्टीकाे संस्थापन इतर पक्षबाट सभापतिकाे साझा उम्मेदवार दिने काेसिस अन्त्यसम्म रहने नेता केसीले बताए । उनले थपे, “हामी छलफलमै छाैं । हामी यसकाे चाँडै टुंगाे लगाउँछाैं ।” उनले प्रकाशमान सिंह काठमाडौं बाहिर भएकाेले हिजाेकाे बैठकमा सहभागी हुन नसकेकाे दाबी गरे । उनले भने, “उहाँ काठमाडौं बाहिर हुनुहुन्छ । त्यसैले सहभागी हुन सक्नुभएन । उहाँले समूह छाडेकाे भन्ने कुरा सत्य हाेइन ।” न्यायालयमा उत्पन्न विवादबारे पार्टीकाे भाेलि बस्ने केन्द्रीय समितिकाे बैठकमा छलफल हुने उनले जानकारी दिए ।

उनले भने, “लाेकतन्त्र भनेकाे पद्धति मात्र हाेइन, प्रक्रिया पनि हाे । प्रधानन्यायाधीशले राजीनामा नदिएपछि न्यायिक आयाेग गठन गरेर या संसदीय कारबाहीमा लैजानुपर्छ । आफैं मिल वा मिलाउ भनेर दलहरूले छुट पाउँदैनन् । अब प्रक्रिया खुला गर्नुपर्छ । परिणाम त पछिकाे कुरा हाे ।”



प्रतिक्रिया दिनुहोस्