पोखरा, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली पत्रकारितामार्फत रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले परिवर्तनको लागि ठूलो योगदान पुर्याएको बताएका छन् । आज प्राइम टिभीको गण्डकी ब्युरो, कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले भने,‘नेृपालमा हिजो संसद् नहुँदा उहाँले सभामुखको भूमिका खेलेर सडकमै साक्षात्कार गर्नुभएको ईतिहास छ, म ऋषि धमलाको पत्रकारिताबाट प्रभावित छु । उहाँले राजाको निरंकुशताको बेला परिवर्तनको पक्षमा आफूलाई उभ्याउनुभएको थियो । त्यतिवेला उहाँलाई शासन व्यवस्थाले धेरै आक्रमण गर्यो । तर, उहाँ अविचलित रुपमा परिवर्तनको पक्षमा उभिनुभयो ।’
उनले पत्रकार धमलाले क्लबमार्फत अग्रणी भूमिका नखेलेको भए नेपालमा यति चाँडै परिवर्तन हुने थिएन भन्ने पनि धारणा राखे । उनले पत्रकार धमलाको रेडियो कार्यक्रम ‘नेपाली बहस’ र टिभी कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ अति नै लोकप्रिय रहेको सुनाए । उनले भने,‘उहाँको रेडियो कार्यक्रम जनताले विहान कानो ठाडो पारेर सुन्ने गरेका छन्, अनि टिभी कार्यक्रम राति सुत्दै नसुतीकन हेर्ने बानी बसिकेको छ । यसले पनि देखाउँछ कि उहाँको कार्यक्रम कित लोकप्रिय छन् भनेर ?’
मुख्यमन्त्री पोखरेलले प्राइम टिभीले आफ्नो स्थापनाकालदेखि नै आफूलाई तटस्थ रुपमा प्रस्तुत गरेको र जनताको आवाजलाई उजागर गरेको पनि बताए । उनले भने,‘ऋषिजीले आवाजविहीनहरुको आवाज बोक्नुभएको छ । उहाँमा बहुआयामिक क्षमता छ। यस्तो क्षमता भएको व्यक्ति मैले देखेको छैन् । उहाँले सधैं व्यवसायिक पत्रकारिता गर्नुभयो । म उहाँको पत्रकारिता अझै सशक्त होस भन्ने शुभकामना दिन चाहन्छु ।’