Logo

रावलको उम्मेदवारी घोषणाले एमालेभित्र नयाँ बहस शुरु



काठमाडौं, मङ्सिर ६ । नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा अध्यक्ष बन्न चाहना राखे पनि पूरा नहुने भएको छ । पार्टीका उपाध्यक्ष भीम रावलले आइतबार आगामी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एमालेमा नयाँ नेतृत्व चयन गर्न चुनाव हुने भएको हो ।

१० बुँदे सहमति कार्यान्वयन नभएको, महाधिवेशन प्रतिनिधि चयनमा पारदर्शी नभएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले नयाँ बहस शुरु भएको छ ।

एमालेभित्र सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्ने विषयमा शीर्ष नेताहरूबीच छलफल तीव्र बनिरहेका बेला रावलको उम्मेदवारी घोषणाले चुनावबाटै महाधिवेशनको नेतृत्व टुंगो लगाउने प्रक्रिया अगाडि बढेको छ । माधवकुमार नेपाललाई छाडेर अन्तिम समयमा १० बुँदे सहमति कार्यान्वयन हुने भन्दै पार्टीमै रहेका १० नेतामध्ये उपाध्यक्ष रावलले ओलीलाई चुनौती दिने गरी उम्मेदवारी घोषणा गरेपछि पार्टीभित्र नयाँ तरंग पैदा भएको छ । रावल र उपमहासचिव घनश्याम भुसालबाहेक बाँकी आठ नेताले भने सहमतिबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

एमालेभित्र अध्यक्ष ओली समूह बलियो शक्तिका रूपमा रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्