सर्लाही, २२ मंसिर । लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बनेका छन् । २४८ मत पाएका अमरेश भने पराजित भएका छन् ।
यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् ।
अमरेश र वीरेन्द्र पक्षबीचको विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा यसअघि अधिवेशन हुन सकेको थिएन । सर्लाही १ र ४ मा मंगलबार सम्पन्न भएको छ भने क्षेत्र नम्बर ३ मा आज बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।