काठमाडौं, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकि छिन् ।
भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरेकी छिन् ।
विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताइन् । भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास व्यक्त गरिन ।
“भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको छ, बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमै सिध्याउनुपर्छ, भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको छ,”उनले भनिन् । रासस ÷ तस्विरः मुकुन्द कालिकोटे